मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

चितवन ३ मा प्रचण्ड र पाण्डेको रोमाञ्चक भिडन्त

चितवन ३ मा प्रचण्ड र पाण्डेको रोमाञ्चक भिडन्त


चितवन– चितवन राष्ट्रिय निकुञ्जको काखमा रहेका चितवन क्षेत्र नं ३ मा वामपन्थी गठबन्धन र लोकतान्त्रिक गठबन्धनका दुई शीर्ष नेताको प्रतिस्पर्धाले यहाँको निर्वाचन रोमाञ्चक बन्दै गएको छ । 
 
पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राप्रपा (प्रजातान्त्रिक) का उपाध्यक्ष एवं वन तथा भू–संरक्षणमन्त्री विक्रम पाण्डे बीचको मुख्य प्रतिस्पर्धाका कारण चितवनको निर्वाचन क्षेत्र नं ३ अहिले सबैको ध्यान तानेको छ । 
 
प्रतिनिधिसभा सदस्यका लागि हुने निर्वाचनमा दुई प्रमुख ठूला दल नेपाली काँग्रेस र नेकपा (एमाले)को आफ्नो उम्मेदवार भन्ने यहाँ छैन । प्रचण्ड नेकपा एमाले र पाण्डे नेपाली काँग्रेसको मतको आशमा निर्वाचन जित्ने दाबीका साथ चुनावी मैदानमा छन् । 
 
यही क्षेत्रमा गाभिएको यस अघिको क्षेत्र नं– ५ बाट गएको संविधानसभा निर्वाचनमा पाण्डे निर्वाचित भएका थिए । दाहाल पहिलोपटक यहाँबाट निर्वाचन लड्दै छन् । 
 
नेपालको पहिलो राष्ट्रिय निकुञ्ज चितवन राष्ट्रिय निकुञ्ज यहाँको प्रमुख सम्भावना बोकेको क्षेत्र हो । सँगै बग्ने राप्ती र नारायणी नदीसँगै साना नदीहरुले यहाँको सौन्दर्यता बढाएका छन् । नदी आसपासका क्षेत्रमा पर्यटकीय पूर्वाधार बन्ने क्रममा रहेका छन् । राप्ती किनारको पटिहानी, जगतपुर र मेघौली क्षेत्रमा पर्यटकीय होटल रहेका छन् ।
 
यही क्षेत्रको माडी र मेघौलीमा होमस्टेबाट पर्यटन प्रबद्र्धन गरिँदै आएको छ । निकुञ्जसँगै गोद्धक, छरछरे, पाँच पाण्डव, बैकुण्ठे, विक्रम बाबा, सोमेश्वर कालिकालगायतका धार्मिकस्थल पनि यही क्षेत्रमा रहेका छन् । यस क्षेत्रका मध्यवर्ती सामुदायिक वन पर्यटन प्रबद्र्धनका लागि उर्वर मानिन्छन् । कृषि शिक्षाका लागि रामपुरमा कृषि तथा वन विज्ञान विश्वविद्यालय रहेको छ । 
 
गाई अनुसन्धान फार्म, राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम, मेघौली विमानस्थल र यस क्षेत्रमा निर्मित पोल्ट्री फार्म र दाना उद्योग अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धा गर्न लायकका छन् ।
 
विकासका दृष्टिले पछि परेको सडक कालोपत्रे भएका छैनन् । नदी तटबन्धनको अभावमा वर्षेनी यो क्षेत्र डुबानमा पर्ने गरेकोे छ । पश्चिम चितवनबाट नवलपरासी जोड्न पुल बन्नसकेका छैन । जिल्लाको भू–भाग भएर पनि नवलपरासी हुँदै वाल्मीकि आश्रम पुग्नुपर्ने अवस्था छ ।
 
माडी क्षेत्र चुरे पहाडको फेदको समथर भू–भाग हो । भरतपुर महानगरतर्फ पूरै समथर भू–भाग हो । माडी क्षेत्रमा थारु जातीको बाहुल्यता छ भने भरतपुरतर्फ मिश्रित बसोवास रहेको छ । यहाँ देशका ७६ जिल्लाबाट मानिस बसाइँसराइ गरी आएका छन् ।
 
 
जनताका यस्ता समस्या रहँदै गर्दा यहाँका उम्मेदवारले ठूला पूर्वाधारका आश्वासन दिइरहेका छन् । वाम गठबन्धनबाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार माओवादी केन्द्रका अध्यक्ष दाहालले “राष्ट्रको विकासका लागि प्रचण्ड, चितवनको विकासका लागि “प्रचण्ड” भन्ने नारासाथ चुनावी मैदानमा उत्रिएका छन् ।
 
समृद्ध राष्ट्र र समृद्ध चितवनको पक्षमा आफ्नो उम्मेदवारी रहेको उनीको भनाइ छ । निकुञ्ज वारपार गर्न आकाशे पुल वा भूमिगत सडक निर्माण गर्ने, निकुञ्जवारी र पारी रिङरोड बनाउने र यस क्षेत्रलाई युरोपका देशका शहरको तुलनामा लैजाने योजना उनको छ ।
 
लोकतान्त्रिक गठबन्धनका उम्मेदवार मन्त्री पाण्डे “विकासका लागि विक्रम पाण्डे” भन्ने नारा दिएका छन् । माडीमा चक्रपथ निर्माण, निकुञ्जमा मेस जाली लगाएर वन्यजन्तु नियन्त्रण गर्ने, पश्चिम चितवनबाट नवलपरासी जोड्ने पुल, नदी नियन्त्रण, सडक कालोपत्रे र सिँचाइजस्ता एजेण्डा उनीले अघि सारेका छन् । 
 
सो क्षेत्रको (क) प्रदेशबाट लोकतान्त्रिक गठबन्धनका उम्मेदवार दिनेश कोइरालाले “ सबल लोकतन्त्रका लागि हातेमालो, विकास निर्माण र समृद्धि अवको पालो” नारा दिएका छन् । उनीसँगै वाम गठबन्धनबाट एमालेका कृष्णप्रसाद भूर्तेल चुनावी मैदानमा छन् ।
 
चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका पूर्वअध्यक्ष भूर्तेलको एजेण्डा मानव र वन्यजन्तुबीचको द्वन्द्व अन्त्य गर्नु रहेको छ ।
 
प्रदेश (ख) का लोकतान्त्रिक गठबन्धनबाट काँग्रेसका साजनकुमार महतो र वाम गठबन्धनबाट माओवादी केन्द्रका रामलाल महतो चुनावी प्रतिस्पर्धामा छन् । यो थारु बाहुल्य क्षेत्र हो । दुवैको चुनावी नारा थारु संस्कृतिको संवद्र्धन र पर्यटन विकास छ ।
 
क्षेत्र नं ३ मा ६ स्वतन्त्र र ८ दलका गरी १४ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । नेपाल दलित पार्टीका डिलबहादुर विक, विवेकशील पार्टीका सरदराज पाठक, संघीय समाजवादी फोरमका अजय ठाकुर (निराला), नेकपा मालेका डम्बर श्रेष्ठ, देशभक्त जनगणतान्त्रिक मोर्चाका टंकनाथ रेग्मी र नेपाल मजदुर किसान पार्टीका हरिप्रसाद दुलाल प्रतिस्पर्धामा छन् । यसैगरी स्वतन्त्रबाट प्रवेश अधिकारी, विजयराज घिमिरे, भरत बोहरा, टंक बास्तोला, हरिप्रसाद दाहाल र भगवती प्रसाईंको उम्मेदवारी छ ।
 
यस क्षेत्रमा भरतपुर महानगरपालिकाका २९ मध्ये १९ र माडी नगरपालिकाका सबै वडा पर्दछन् । माडीका चार गाविस मिलेर माडी नगरपालिका बनेको हो । भरतपुर उपमहानगरपालिकामा यसअघि नारायणी र चितवन नगरपालिका गाभिएर महानगर बनेको हो । पछि थपिएका दुवै नगरपालिका क्षेत्र नं ३ मा पर्दछन् । भरतपुर महानगरपालिकाका वडा नं ६, ८, ९ तथा १३ देखि २८ नम्बरसम्मका वडा क्षेत्र नं ३ मा पर्छ ।
 
जसमध्ये क्षेत्र नं. ३ को (क) मा भरतपुर महानगरपालिकाका वडा नंं ६, ८, ९, १५ देखि २० सम्म, २६, २७, २८ पर्दछ भने (ख) मा भरतपुर महानगरपालिकाका १३, १४, २१, २२, २३, २४, २५ र माडी नगरपालिकाका सबै वडा पर्दछन् ।
 
यो क्षेत्रमा एक लाख २५ हजार ८२३ मतदाता छन् । जसमा महिला ६६ हजार २७० र पुरुष ५९ हजार ५५३ रहेका छन् । क्षेत्र नं ३ को (क) को मतदाता ६८ हजार ३६२ छ । जसमा महिला ३६ हजार ३०६ र पुरुष ३२ हजार ५६ छन् । सोही क्षेत्रको (ख) मा ५७ हजार ४६१ मतदाता छन् । जसमा महिला २९ हजार ९६४ र पुरुष २७ हजार ४९७ रहेका छन् ।
 
जिल्लामा कूल मतदाता तीन लाख ५४ हजार ३६ रहेको छ । जसमा एकजना तेस्रोलिंगी पनि छन् । कार्यालयका अनुसार एक लाख ८४ हजार ६८ जना महिला र एक लाख ६९ हजार ९६७ जना पुरुष मतदाता छन् ।
 
निर्वाचनका लागि क्षेत्र नं ३ मा ६२ मतदानस्थल तय गरिएको छ जहाँ १४९ मतदान केन्द्र रहेका छन् । जिल्लामा १६१ मतदान स्थलमा ४०८ मतदान केन्द्र तोकिएको छ ।