मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टेक्सस   
मुख्य समाचार   

प्रणामी समुदायद्वारा युलेसमा मन्दिर अतिथिगृह सहितको प्रणामी भिलेज बन्दै

प्रणामी समुदायद्वारा युलेसमा मन्दिर अतिथिगृह सहितको प्रणामी भिलेज बन्दै


ड्यालस (अमेरिका) । कृष्ण प्रणामी इन्वेस्टमेन्ट ग्रुप (किपिअाइजी) को पहिलो साधारण सभाले युलेसमा नयाँ र सुविधासम्पन्न मन्दिर, अतिथीगृह समेतको प्रणामी भिलेज निर्माण प्रकृया अघि बढाएको छ ।

शनिबार सम्पन्न भएको साधारणा सभाले युलेसको हाइवे १० सँगै जोडिएको मन्दिरको स्वामित्वमा रहेको चार एकड जग्गामा मन्दिर सहितको भव्य योजनालाइ पारित गरेको हो । चार एकड जमिन मध्य दुइ दशमलव ७ एकड मन्दिर र बाँकी इन्भेष्टमेन्ट ग्रुपले अतिथीगृह, व्यबसायीक प्रयोजनमा हुनेगरि निर्माण गर्न लागिएको केपीअाइजीका अध्यक्ष चन्द्र प्रसाइले जानकारी दिएका छन् ।

प्रसाईले ग्रुपका सफलताहरु र भविष्यका योजनाहरुबारेमा सार्वजनिक गरेका थिए । उनले हालै सम्पन्न भएका उपलब्धिहरुमा प्रकाश पार्दै आगामी दिनमा श्रीकृष्ण प्रणामी मन्दिर र प्रणामी रिटेल सेन्टरको निर्माण कार्यलाई समुदायको समृद्धि र एकताको केन्द्रबिन्दु बनाउने योजनाबारे जानकारी दिएका थिए । उनले यो परियोजना श्रीकृष्ण प्रणामी मन्दिर र ग्रुपको संयुक्त परियोजना भएको स्पष्ट पारे ।

साधारण सभामा युलेस सिटीकी मेयर लिण्डा मार्टिन र मेयर प्रोटेम टिका पौडेल प्रमुख अतिथिको रूपमा उपस्थित थिए । मेयर मार्टिनले नेपाली प्रणामी समुदायले आफ्नो लक्ष्य हासिल गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै समुदायको प्रगतिको लागि सहकार्यको महत्त्वमा जोड दिएकी थिइन्र । मेयर प्रोटेम टिका पौडेलले नेपाली समुदायको प्रतिनिधित्व गर्दै सिटी काउन्सिलमा योगदान दिने आफ्नो भूमिकाबारे चर्चा गरे । उनले प्रणामी समुदायको योजनामा सिटीले सहयोग गर्ने वचन समेत दिएका थिए ।

कार्यक्रममा श्रीकृष्ण प्रणामी मन्दिरका अध्यक्ष नुरनाथ सुवेदी, बोर्ड अफ ट्रष्टीका अध्यक्ष तथा ग्रुपका बोर्ड अफ डाइरेक्टर डा. मिलन पौडेल र श्री बाईज्युराज महिला मण्डलीकी अध्यक्ष तथा ग्रुप ट्रष्टी सदस्य शारदा न्यौपाने समेत सहभागी थिए । त्यस अवसरमा नेपाली समाज टेक्ससक अध्यक्ष राजेन्द्र वाग्ले, नेपाली सांस्कृतिक तथा अध्यात्मिक केन्द्र बोर्ड अफ ट्रष्टी अध्यक्ष डा. प्रेम अधिकारी, मन्दिर कार्यकारिणी समितिका उपाध्यक्ष छवि चापागाईले पनि कार्यक्रममा उपस्थिति जनाउँदै परियोजना प्रति समर्थन जनाएका थिए ।

त्यस अवसरमा साल्भेसन अर्मीका लागि बेल बजाउने कार्यक्रम अन्तरगत करिब अठसय डलर संकलन गरेर मेयर लिण्डा मार्टिनलाइ हस्तान्तरण गरिएको थियो ।

अध्यक्ष प्रसाइका अनुसार श्रीकृष्ण प्रणामी समाज र ग्रुपको मुख्य उद्देश्य समुदायलाई एकताबद्ध गर्दै आध्यात्मिक विकास, सामुदायिक सेवा, र सांस्कृतिक प्रवर्द्धन गर्नु हो। श्रीकृष्ण प्रणामी मन्दिर र प्रणामी रिटेल सेन्टर (प्रणामी भिलेज) को निर्माणले अमेरिकामा रहेका नेपाली प्रणामी समुदायका लागि एक केन्द्रको भूमिका निर्वाह गर्नेछ ।

कृष्ण प्रणामी मन्दिर निर्माणका लागी आवश्यक पर्ने परमिट र ड्राइभवे एक्सेसको परमिट प्राप्त भईसकेका ले अब छिट्टै नै निर्माण कार्य सुरु गरिने पनि उनले जानकारी दिए ।