मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

बागलुङमा चुनावी सरगर्मी : उम्मेदवारहरु मतदाताको घरदैलोमा

बागलुङमा चुनावी सरगर्मी : उम्मेदवारहरु मतदाताको घरदैलोमा


बागलुङ – आसन्न मंसिर १० गते प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि जनमत बढाउन दलहरुले घरदैलो अभियान शुरु गरेका छन् । वाम गठबन्धन र काँग्रेसका उम्मेदवारहरु मतदाता फकाउन व्यस्त छन् । 
 
प्रचारमा अघि देखिएको वाम गठबन्धनलाई पछ्याउँदै नेपाली काँग्रेसले शुक्रबारदेखि घरदैलो अभियान शुरु गरेको छ । वाम गठबन्धले भने बुधबार बागलुङ नगरपालिका–१ बाट जनता भेटघाट शुरु गरेको थियो । 
 
सबै दलले उम्मेदवारसहित जिल्लास्तरीय नेता, कार्यकर्तालाई अभियानमा परिचालन गरेका छन् । वाम गठबन्धनले बागलुङ नगरपालिका–१ र ३ को कार्यक्रमपछि शुक्रबार वडा नं ४ मा घरदैलो अभियान चलाएको छ ।
 
गठबन्धनले शुक्रबार नै वडा नं २ जिपपार्कमा निर्वाचन सम्पर्क कार्यालय स्थापना गरेको नेकपा (एमाले)का जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटाले बताए । उनका अनुसार चुनाव प्रचारलाई व्यवस्थित बनाउन विभिन्न कमिटीहरु परिचालन गरिएको छ । 
 
अहिले किसान काममा व्यस्त हुने याम भएकाले भेला, सभाभन्दा घरदैलो अभियान बढी प्रभावकारी देखिएको अध्यक्ष सापकोटाको भनाइ छ ।
 
गठबन्धनले शुरुमा केही ठाउँमा कोणसभा आयोजना गरे पनि उपस्थिति न्यून भएपछि अभियानको स्वरुप बदल्ने निर्णय गरेको छ । “सबै काममा व्यस्त भएकाले सभा, भेला प्रभावकारी देखिएन”, अध्यक्ष सापकोटाले भने, “घरदैलो अभियानमा जोड दिएका छौँ ।” 
 
यता, काँग्रेसले पनि चुनावी अभियानलाई चुस्त र प्रभावकारी बनाउन एक हजार एक सदस्यीय चुनाव परिचालन कमिटी बनाएको छ । काँग्रेसले आज बिहानदेखि बागलुङ नगरपालिका–१ रामरेखाबाट प्रचार शुरु गरेको छ । काँग्रेसले पनि मतदातासम्मै पुग्न घरदैलो अभियानलाई प्राथमिकता दिएको नेपाली काँग्रेस बागलुङका सचिव नवराज पौडेलले जानकारी दिए । 
 
“प्रतिनिधिसभाका २ र प्रदेशसभाका ४ निर्वाचन क्षेत्रमा ठूला चुनावी सभाको समेत आयोजना गरिने उनको भनाइ छ । केन्द्रीय नेताको उपस्थितिमा मुख्य ठाउँमा आमसभा राख्छौँ”, सचिव पौडेलले भने । वामहरु अलग–अलगरुपमा चुनाव लड्दा अघिल्ला चुनावमा फाइदा लिएको काँग्रेसलाई यसपालि गठबन्धन बनेपछि चुनौती थपिएको छ । 
 
जिल्लामा वाम गठबन्धन र काँग्रेसबीच नै मुख्य प्रतिस्पर्धा हुने भएको छ । नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनमोर्चा मिलेर बनेको वाम गठबन्धनसँग काँग्रेस एक्लैले चुनाव लड्दैछ । प्रतिनिधि सभाका २ र प्रदेश सभाका ४ निर्वाचन क्षेत्रमा काँग्रेसले एकल उम्मेदवारी दिँदै चुनावी मैदानमा छ । 
 
वाम गठबन्धका तीन दलले भने निर्वाचन क्षेत्र बाँडेर चुनावी प्रतिस्पर्धामा छन् । काँग्रेसले क्षेत्र नं १ बाट प्रतिनिधिसभाका लागि सहकारी तथा गरिबी निवारण राज्यमन्त्री चम्पादेवी खड्का चुनाव लड्दै छन् । 
 
क्षेत्र नं २ बाट भने पूर्वसांसद नीरज पुन उम्मेदवार बनेका छन् । यस्तै, काँग्रसबाट क्षेत्र नं १ को प्रदेशसभा (क) मा जिल्ला पार्टी सभापति दीपेन्द्रबहादुर थापा र (ख) मा पूर्व सांसद प्रकाश शर्मा पौडेल चुनावी प्रतिस्पर्धामा छन् । काँग्रेसले क्षेत्र नं २ को प्रदेशसभा (क) मा मञ्जेशबम मल्ल र (ख) मा जित शेरचनलाई उम्मेदवार बनाएको छ । 
 
वाम गठबन्धनका तर्फबाट प्रतिनिधि सभा क्षेत्र नं १ बाट एमालेका सूर्य पाठक र क्षेत्र नं २ बाट माओवादी केन्द्रका केन्द्रीय नेता देवेन्द्र पौडेल प्रतिस्पर्धामा छन् । क्षेत्र नं १ को प्रदेशसभा (क) मा एमालेका जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटा, (ख) मा राष्ट्रिय जनमोर्चाका कृष्ण थापा चुनावी मैदानमा छन् । 
 
क्षेत्र नं २ को प्रदेशसभा (क) मा माओवादी केन्द्रका चन्द्रबहादुर बुढा ‘सागर’ र (ख) मा राष्ट्रिय जनमोर्चाका टेकबहादुर घर्ती चुनावी प्रतिस्पर्धामा छन् ।