हिमालय खबर संवाददाता-
नारायणगढ– चितवनमा २६५ जनामा स्क्रब टाइफस रोगको प्रकोप बढेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार साउनदेखि असोजसम्म २६५ जनामा स्क्रब टाइफस र १८ जनामा डेँगु रोगको संक्रमण देखिएको हो ।
जसमध्ये स्क्रब टाइफसबाट दुई जनाको मृत्युसमेत भइसकेको छ । विगत तीन महिनामा एक हजार ७६ जनाको स्क्रब टाइफसको परीक्षण तथा ६४४ जना बिरामीमा डेँगुको परीक्षण गरिएको जनस्वास्थ्य कार्यालयका कीट नियन्त्रण निरीक्षक रामकुमार केसीले जानकारी दिए ।
चितवनका विभिन्न अस्पतालबाट प्राप्त पछिल्लो प्रतिवेदनअनुसार भरतपुर अस्पतालमा १०१, रत्ननगर अस्पतालमा ९, चितवन मेडिकल कलेजमा ७०, नारायणी सामुदायिक अस्पतालमा ६९, मनकामना अस्पतालमा २, सेन्ट्रल अस्पतालमा १ जना र निजी ल्याबमा १३ जनामा स्क्रब टाइफस भएको पुष्टि भएकोे हो । ‘माइट’ नामक सुक्ष्म किर्नाले टोकेमा स्क्रब टाइफसको संक्रमण हुने चिकित्सकहरुले बताएका छन् ।
स्क्रब टाइफसको संक्रमण भएमा अत्याधिक ज्वरो आउने, टाउको दुख्ने, विभिन्न ठाउँमा रातो डाबर आउने र शरीर दुख्नेजस्ता लक्षणहरु देखिन्छन् । यस्तो माइट प्रायः मुसाको कानमा बस्ने गर्छ । मुसाबाट घाँसपातमा झर्ने र सोही घाँसपातमा जाँदा मानिसमा सरेर यसले टोक्ने इपिडिमियोलोजी शाखाका प्रमुख डा गुणनिधि शर्माले बताए ।
त्यस्तो ठाउँमा काम गर्दा सावधानी अपनाउनुपर्ने उनी बताउँछन् । डेँगु भने एडिस एजेप्टाई नामक संक्रमित पोथी लामखुट्टेले टोकेमा सर्ने गर्छ । यसबाट बच्न लामखुट्टेको टोकाइबाट जोगिनुपर्छ । ज्वरो आएमा र दुई, तीन दिनसम्म निको नभएमा विशेषज्ञ चिकित्सकलाई देखाएर उपचार थाल्नुपर्ने जनस्वास्थ्य कार्यालय, चितवनले जनाएको छ ।
प्रतिक्रिया