मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

नेपालमा ठगेर अमेरिका आउनेहरु

नेपालमा ठगेर अमेरिका आउनेहरु


हिमालयखवर विशेष 
न्यूयोर्क (अमेरिका)– कैलास विकास बैंक पोखराका शाखा प्रवन्धक रविचन्द्र खनाल नेपालमा प्रहरीको पक्राउ गर्नुपर्ने सुचीमा छन् । केही साता अघि ऋणीको पैसा नतिरी रविचन्द्र एकाएक नेपाल छाडेका थिए । हाल उनी अमेरिका रहेका छन् । खनाललाई सर्वसाधारणको झण्डै तीन करोड रुपैयाँ ठगी गरेको अभियोग लागेका छ । 
 
रविचन्द्र पछिल्लो उदाहरण हुन् । नेपालमा छिटो करोडौ कमाउने महत्वाकांक्षा पालेर सफल हुन नसकि सर्वसाधारणलाई डुबाउने आधा दर्जन व्यक्तिहरु अमेरिकामा बस्दै आएका छन् । यसमा सवैभन्दा ठूलो रकम ठगी गरी अमेरिका बस्नेमा क्यापिटल मर्चेण्ट बैकिंग एण्ड फाइनान्सका पुर्व प्रवन्ध निर्देशक पवनकुमार कार्की पर्छन् । 
 
आफैंले खोलेको फाइनान्स कम्पनीबाट सर्वसाधारणको अर्बौ रुपैंया ठगेको अभियोग लागेको मात्र नभै अदालतले समेत कार्कीलाई सजायँ सुनाईसकेको छ । कार्कीलाई पुनरावेदन अदालत पाटनले ४२ वटा मुद्दामा ४४ करोड १२ लाख ७२ हजार रुपैंया जरिवाना र ६३ बर्ष कैद सजायको फैसला गरेको छ । 
 
कार्कीले काठमाडौंको बानेश्वरमा रहेको क्यापिटल मर्चेन्ट मार्फत आफू निकटलाई फसाउँदै करोडौ रुपैंया ठगी गरेका थिए । यो फाइनान्स कम्पनी सम्वध्द सात जना नेपालमा पक्राउ परेका थिए । केही अझै जेलमा छन् । कार्की नेपाल प्रहरीको अनुरोधमा रेड कर्नर नोटिसमा छन् । रेड कर्नर नोटिसमा हुनु भनेको उनी अमेरिका बाहिर जाँदा जहाँसुकै पक्राउ पर्न सक्छन् । 
 
क्यापिटल मर्चेण्ट फाइनान्समा साढे २ अर्ब रुपैंया भन्दा वढी हिनामिना भएको थियो । यो रकम हिनामिनामा संलग्न ठानिएका फाइनान्सका केही कर्मचारी र संचालक भने सजायँ भोग्दै छन् । 
 
यसरी नेपालमा सजाय भोग्नेमा कार्कीका आफन्त र चिनेजानेका निकट कर्मचारी छन् ।  उनले नेपालबाट ल्याएको रकमबाट टेक्ससको  अर्बिंगस्थित शपिंग कम्प्लेक्स किनेर भाडामा लगाएका छन् । जहाँ नमस्ते इण्डिया बजार संचालनमा छ । सञ्चालन गरेका कार्की अहिले सार्वजनिक रुपमा देखिदैँनन् । शूरुमा अमेरिकामा आउँदा उनको निकै चहल पहल थियो । तर, ठगी विवरण वाहिर आएपछि उनी सार्वजनिक कार्यक्रममा देखा पर्न छाडेका थिए । उनलाई सुपुर्दगी गर्न नेपाल सरकारले इन्टरपोल मार्फत अमेरिकी सरकारसँग समेत आग्रह गरिसकेको छ । 
 
दुई बर्ष अघि अनौपचारिक रुपमा कार्कीलाई भेट्दा उनी तनावमा देखिएका थिए । क्यापिलट मर्चेण्टकावारेमा मुध्दा चलिरहेकाले आफुले कुनै औपचारिक टिप्पणी मिडियामा नगर्ने उनले बताएका थिए । 
 
कार्कीले विभिन्न कम्पनी र सर्वसाधारणका नाममा नक्कली कागज बनाएर रकम निकालेर अमेरिका पसेपछि फाइनान्सका अन्य अधिकारीहरुमात्र होइनन्, उनका ससुरा शम्भु केसी समेत जेल परेका छन् । 
 
कुनै समयको चर्चित निजी क्षेत्रको विमान कम्पनी माउन्टेन एअरका मालिक शिवेन्द्रबहादुर बस्नेत समेत पाइलट तालिम दिने भन्दै विद्यार्थीलाई अलपत्र पारेका अमेरिका छिरेका थिए । नेपालमा पक्राउ पर्ने डरले त्यस यता उनी अमेरिकामा बस्दै आएका छन् । माउन्टेन एअरको सञ्चालन व्यबस्थित नभएर घाटामा गएपछि बस्नेतले मणिन्द्रलाल रंजितकारसँग मिलेर शिवानी एअर सञ्चालन गरेका थिए । 
 
शिवानीले भरतपुर विमानस्थलमा साना जहाज राखेर पाइलट तालिम सुरु गरेको थियो । जुन नेपालकै पहिलो फ्लाइङ्ग स्कूल थियो । व्यबस्थापकीय कमजोरीका कारण स्कूल बन्दमात्र भएन पाइलट हुने आशा लिएर लाखौँ रुपैयाँ शुल्क तिर्ने विद्यार्थी समेत अलपत्र परेका थिए । पाइलट तालिम दिने भनेर तीन दर्जन विद्यार्थीहरुसँग जनही २३ देखि २६ लाख रुपैयाँ लिएर तालिम समेत पुरा नगरि बस्नेत अमेरिका भागेका थिए । 
 
२२ महिना तालिम दिएपछि कोर्श पुरा नगरि उनी भागेको उजुरी परेको थियो । बस्नेत विरुध्द उजुरी परेपछि उनका दाजु एवं बुद्ध एअरका प्रवन्ध सञ्चालक बीरेन्द्रबहादुर बस्नेतले भाई शिवेन्द्रको तर्फबाट एककरोड ३५ लाख पीडित विद्यार्थीलाई फिर्ता गरेका थिए । शिवेन्द्र भने हाल अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा बस्दै आएका छन् । 
 
हाल उनी ट्याक्सी जस्तै सेवा दिने लिमोजिन चलाउने गरेको बताईन्छ । कार्की र बस्नेतसँग अमेरिकामा कानुनी रुपमै बस्दै आएका छन् । तर खनालसँग भने कुनै वैधानिक हैसियत छैन । उनी दुई वर्ष अघि एउटा कार्यक्रममा आउँदाको पाँच वर्षे मल्टीपल भिसाको प्रयोग गर्दै यसपटक अमेरिका आएका हुन् । 
 
बढी व्याज दिने लोभ देखाएर सर्वसाधारणसँग रकम सापट लिने कार्यमा संलग्न कैलाश विकास बैंकका शाखा प्रवन्धक खनालले पछि आफ्नै बैंकको रकम समेत दुरुपयोग गरेका थिए । नेपालमा वित्तिय अपराध, ठगी गरेर अमेरिका आएको भएपनि अमेरिकी सरकारले प्रकृया नपुर्याई कसैलाई पनि फिर्ता पठाउने गर्दैन । 
 
नेपालमा जाँदा आफ्नो ज्यान जाने खतरा रहेको भन्दै प्रमाण पेश गरेको खण्डमा अमेरिकी सरकारले फिर्ता पठाउँदैन । सोही कारण नेपालमा सर्वसाधारणलाई डुबाएर अमेरिका आएका व्यक्तिहरु फर्किंदैनन् । ‘अहिलेको जमानामा कस्ले के गरेर आयो भन्ने कुरा सबैलाई जानकारी हुने हुँदा नेपालमा ठगी गरेर आएकाहरुलाई यहाँको समाजले छिछि… दूरदूर… गर्न थालेपछि उनीहरु विस्तारै बहिष्कृत हुँदै गएका छन्,’ ड्यालसस्थित नेपाली समाजका एक पदाधिकारीले भने । 
 
आफ्नै समुदायकै व्यक्तिहरुबाट अपमानित हुनुपर्ने अवस्था रहेपछि उनीहरु समुदायले गर्ने गतिविधिमा संलग्न हुन छाड्ने गरेको समेत उनले बताए । कुनै समयको चर्चित नेकोन एयरका मालिक दिपमणी राजभण्डारीपनि कम्पनी डुवाएर केही समय अमेरिका आएका थिए । उनलाई बैंकको करोडौ रुपमा ऋण नतिरेको आरोपमा पार्सपोर्ट समेत जफत भएको थियो । अहिले उनी सार्वजनिक रुपमा नेपालमा पनि देखिदैंनन् । 
 
यस वाहेक नेपालमा विभिन्न व्यक्तिको पैसा ठगेर अमेरिकामा आउने तर, जानकारीमा नआएका अन्य व्यक्तिहरु पनि भएको बताईन्छ ।