मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नारायणगढ–मुग्लिन सडक रातको समयमा बन्द

नारायणगढ–मुग्लिन सडक रातको समयमा बन्द


चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले असार २५ गतेबाट लागू हुने गरी रातको समयमा नारायणगढ–मुग्लिन सडकमा यातायात बन्द गर्ने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय चितवनमा भएको सर्वपक्षीय छलफलपछि रातको समयमा यातायात बन्द गर्ने निर्णय भएको हो ।
 
प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टका अनुसार नारायणगढबाट मुग्लिनतर्फ जाने गाडीलाई बेलुका ६ बजे दासडुंगामा रोकिने छ । यहाँ रोकिएको गाडी बिहान ४ बजे मात्रै छुट्नेछ । त्यस्तै मुग्लिनबाट नारायणगढतर्फ आउने गाडी मुग्लिन क्षेत्रमै बेलुका ७ बजे रोकिने छ । यहाँबाट गाडी बिहान ५ बजेमात्र छुट्नेछ ।
 
रातको समयमा पहिरोलगायतका जोखिमबाट हुने जनधनको क्षति न्यूनीकरणका लागि वर्षाभरीका लागि उक्त निर्णय गरिएको प्रजिअ भट्टले जानकारी गराए । यसअघि दिनको समयमा बिहान १० देखि ४ बजेसम्म यस सडक बन्द हुँदै आएको थियो ।
 
वर्षाका कारण नियमित पहिरो गएकाले यातायात सुचारू गर्न असहज भएको, पहिरोले जनधनमा ठूलो क्षति पुगेको र पहिरो पन्छाउँदा सडकको काम गर्न नसकिएको भन्ने ठेकेदार पक्षको गुनासो पछि वर्षाको समयको लागि भन्दै प्रशासनले रातमा गाडी रोेकेको हो ।
 
यसअघि संसदको विकास समितिले २० गते गृह प्रशासनलाई पत्र लेख्दै रातको समयमा यातायात रोक्ने निर्देशन गरेको थियो । समितिको सभापतिसहितको टोलीले असार १३ गते यस सडकखण्डको अनुगमन गरेको थियो ।
 
रातको समयमा पहिरो खसे नखसेको बारे एकिन गर्न कठिन हुने र पहिरोको जोखिममा पर्न सकिने उल्लेख गर्दै समितिले दिनको समयमा भन्दा रातको समयमा काम गर्न सहज र यात्रु सुरक्षा हुने उपाय सुझाएको हो ।
 
राति काम गर्न सकिँदैन : ठेकेदार
 
रातको समयमा गाडी रोकिए पनि काम गर्न असहज हुने ठेकेदार पक्षको भनाइ छ । २ नम्बर ठेक्का (दासढुगां–सिमलताल)का कर्मचारी रवीन्द्र श्रेष्ठले रातको समयमा गाडी रोकिए पनि काम गर्न भने नसकिने बताए ।
 
पहिरोको जोखिम भन्दै यात्रु सुरक्षामा ध्यान दिँदा आफूहरु भने जोखिम मोलेर रातको समयमा काम गर्न नसक्ने श्रेष्ठले बताए । सम्भव भएसम्म सानातिना काम हुने तर दिनको समयजस्तो गति लिने गरी काम गर्नं नसकिने उनले बताए ।
 
आयोेजनाका इन्जिनियर गोविन्द खनालले दिनमा जस्तो रातको समयमा धेरै काम गर्न नसकिने बताए । ‘नियमित पानी पर्नाले गर्नुपर्ने र हुनुपर्ने काम पनि भएका छैनन्, उनले भने,‘रातको समयमा पहिरोको डर हुने भएकाले जटिल कामहरु गर्न गाह्रो छ ।’
सडक छेउका बस्ती पहिरोका कारण अत्यन्तै जोखिमयुक्त रहेकाले त्यस्ता बस्तीलाई दीर्घकालीन रुपमै स्थानान्तरण गरी व्यवस्थापन गर्न पनि भनिएको छ । रातको समयमा काम गर्न निर्माण पक्ष तयार भए आफू सुरक्षा दिन तयार रहेको प्रजिअ भट्टले बताए ।
 
समय थपियो, काम सुस्त
 
सन् २०१७ अप्रिलमा सकिने गरी २ वर्ष अविधिमा गर्नुपर्ने काम समयमै सम्पन्न नभएपछि २०१७ नभेम्बरसम्मको लागि थप गरिएको छ । थप गरिएको समयमा पनि उपलब्धीमूलक काम नभएकोमा स्थानीय प्रशासनले आपत्ति जनाएको छ ।
 
विश्व बैंकको सहयोगमा दुई अर्ब ९० करोड लागतमा बन्न लागेको यस सडकको हालसम्म पचास प्रतिशत मात्र काम सकिएको छ । तीन खण्डमा तीन फरक निर्माण कम्पनीले सडक सुधारको काम गरिरहेका छन् ।