मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जति रोएँ रोइसकें अब आँशु झर्दैन

जति रोएँ रोइसकें अब आँशु झर्दैन


(जीवन अचम्मको छ । साधारण लाग्छ हेर्दा । तर बुझ्दै जाँदा यो गहिरो र रहस्यमयी  लाग्छ । सामान्य लाग्ने मानिसका पनि जीवनमा अनेक असमान्य घटना घट्छन् । कुनैबेला कसैको जीवनका ती अनुभवहरू अरुकालागि उदाहरण र प्रेरणा श्रोत बन्न सक्छन् । मानिसको जीवन त एउटै हुन्छ तर त्यहाँ धेरै मोडहरू पार गर्नु पर्ने हुन्छ । जीवनभित्र संघर्षका कथाहरू हुन्छन् । खुशी र उन्मादका क्षणहरु आउँछन् । आफूले कल्पनै नगरेका सफलताका मोडहरू फेला पर्छन् । यिनै सेरोफेरोमा हामीले, प्रवासमा बसेर समयसँग कुस्ती खेल्दै जीवनको यात्रालाई डोर्याइरहेका नेपालीहरूको खुशी अनि कथा व्यथा प्रस्तुत गर्ने  यो नयाँ स्तम्भ प्रारम्भ गरेका छौँ – सम्पादक )
रेशम गुरुङ मल्ल
काठमाण्डु रेष्टुराँ खोज्दै हामी कोलोराडोको सानो तर सुन्दर शहर नेदरल्यान्ड घुम्दा नेपालको हिमाली भेग सम्झन थाल्यौं । जुन महिनाको झल्को थिएन त्यहाँ  , छेउका पहाडहरु अझै पनि हिउँसँग प्रेमिल जोडी झैं टाँसिएका थिए । सल्लाका रुखहरुमा जवानी बाँकी देखिन्थ्यो , हरियो र खाइलाग्दो । हिमालयखबरको जीवन एक मोड अनेक स्तम्भकालागि म, विजय घिमिरे र विकासराज न्यौपाने एउटा जिवन्त कथा खोज्न त्यहाँ पुगेका थियौं । 
 
हाम्रो छेउमै काठमाण्डु रेष्टुराँ आइपुगेछ, त्यसैको लहरमा काठमाण्डु गिफ्ट शप देखियो । नेपालबाट यति धेरै टाढा अमेरिकाको कोलोराडो राज्य, त्यसको पनि उपल्लो भागमा अवस्थित  स्यानो छरितो नेदरल्यान्डमा कसरी काठमाण्डु नाम आइपुग्यो होला ! यही खुल्दुली बोकेर हामी काठमाण्डु रेष्टुराँ  भित्र पस्यौं । 
 
भित्र निक्कै फराकिलो रैछ रेष्टुराँ । गोरा अनुहारहरु दालभात र मोमो खान व्यस्त थिए । एक्कैछिनमा सानो कदकी फर्स्याइलि महिला अनुहारमा तेजिलो मुस्कान बोकेर अभिवादन गर्दै हाम्रो छेउमा आइपुगिन् । नाम सुनेको, उनको कामको बारेमा पनि विजयबाट अलिकति थाहा पाइसकेको हुँदा मैले चिनिहालें रेशम गुरुङ मल्ल उनै हुन् ।  सक्रिय, जिवन्त र सकारात्मक महिला व्यवसायीको रुपमा यहाँ परिचित रेशम गुरुङसँग उनका अन्तरङ कथा व्यथा हामिलाई जान्नु थियो । धादिङ्गको विकट गाउँ कटुन्जेदेखि कोलोराडोको नेदरल्यान्डसम्म आइपुग्न त एउटा सहारा हुनुपर्छ् तर त्यसपछिका आरोह अवरोह कसरी अहिलेको सफलतासंग गाँसिएका होलान् , तिनै सेरोफेरोमा हाम्रो कुराकानी अगाडी बढ्छ । 
 
कटुन्जेदेखि नेदरल्यान्डसम्म 
काठमाण्डु रेस्टुरेन्ट,नेदरल्यान्ड, कोलोराडो
धादिङ्ग  जिल्लाको कटुन्जेमा सन् १९६६ मा जन्मिएकि रेशमले चार कक्षा भन्दा माथि पढ्न सकिनन् । त्यो गाउँमा त्यतिसम्म मात्र पढाइ हुने स्कुल थियो ।  जहिले पनि बिरामी परिराख्ने रेशमको अवस्थाले बुबा आमा पनि चिन्तित । तर कुनैबेला भाग्य बलियो बनेर आउने रहेछ । रेशम भन्छिन् – उषा थापा दिदी मेरो जीवनमा भाग्य बनेर आउनु भयो । मलाई उहाँले नै औषधि उपचार गर्न काठमाण्डु लिएर जानु भयो । 
 
त्यसपछि रेशमको जीवनले नयाँ मोड पछ्याउन सुरू गर्यो । सानेपा अस्पतालमा उनको उपचार हुँदै गर्दा अमेरिकी नागरिक मर्गेट वाइजसँग भेट भयो । सात वर्ष सानेपामा बिताइन रेशमले । उनै वाइजले रेशमलाई अङ्रेजी सिक्न लगाए । अलिअलि अङ्रेजी जान्न थालेकि उनलाई दोश्रो पटकमा पासपोर्ट बनाउने सुझाव दिए । 
 
उषा थापाको सहयोगमा पासपोर्ट पनि बन्यो । मर्गेट वाइजले त्यसपछि सोधे – अमेरिका जान्छौ ?
 
गाउँको गरिबी र  पढ्न नपाएको व्यथा सम्झेपछि रेशमलाई अमेरिका जान्न भन्ने आँट त के आउँथ्यो , बरु त्यहाँ जाने हतार जाग्यो । मर्गेट वाइजसँग उनी सन् १९८९ मा कोलोराडो आइपुगिन् । बुबाआमा पनि खुशी भए, छोरीले राम्रो अवसर पाएपछि । वाइजको परिवारसँग बसिन् ६ महिना । भीसा त्यही छ महिनाको थियो  । रेशमले नेपालै फर्किनु पर्यो । नेपाल फर्के पनि उनको मन भने अमेरिकी चकाचौंधसँग गाँसिसकेको थियो । तर लगत्तै अमेरिका फर्किने उनको चाहना सजिलै पुरा हुन पाएन । दोश्रोचोटि उनलाई भीसा लिन धेरै गारो भयो । अन्त्यमा उनै मर्गेट वाइजको सहयोगमा रेशमले भीसा पाइन् । 
 
कोलोराडोमा वाइज कै घरमा बसेर संघर्षका दिनहरु शुरु गरिन् । यसैबिच रेशमको चुना राईसँग परिचय भयो । त्योबेला नेपाली फेला पार्न निक्कै कठिन थियो । फाट्टफुट्ट मात्र नेपाली देखिन्थे । चुना राईकै सहयोगमा उनले स्थायी बसोबासकोलागि कागजपत्र तयार गरिन् । कोलोराडोको बोल्डर उनको कर्मथलो बन्यो । 
काठमाण्डु रेस्टुरेन्ट,नेदरल्यान्ड, कोलोराडो
रेशमले मेक्सिकन रेष्टुराँमा सात वर्ष काम गरिन् । त्यति मात्र हैन भारतीय , भियतनामी र चाइनिज रेष्टुराँ समेतको कामको अनुभव उनले बटुलिन् । आफूसँग गाडी थिएन । प्रत्येक दिन ४५ मिनेट हिडेर काममा जाने , फेरि त्यतिकै समय लगाएर कामबाट फर्किने उनको दिनचर्या हुन्थ्यो । डेरा पुग्दा शरीर थाकेर लखतरान हुन्थ्यो । गाडी किन्ने पैसा थिएन, साथी सहयोगी भनेजस्तो थिएनन् । घण्टाको तीन डलर पाउँथिन् । एकदिन एउटा ग्राहकले दिएको तीन डलर टिप्सले रेशमलाई अझै उत्साहले काम गर्ने प्रेरणा मिल्यो । उनले जति दुख भएपनि आफ्नो लगन र इमानदारीलाई  मुल मन्त्र ठानेर काममा समर्पित भइन । 
 
सन् १९९६ मा रेशमले ग्रीनकार्ड पाएपछि बल्ल उनलाई ठूलै युध्द जितेजस्तो भयो । हिजोका दिनमा गरेका दुखहरु , हरेक रात आँशुले भिजेका सिरानीहरुले दिएको मीठो प्रतिफल सम्झिन् उनले ग्रीनकार्डलाई । उनले बोल्डरको पुस्तकालयमा Learning to Read  भन्ने कार्यक्रममा सिकेको कुराले ठूलै साहस दिन्थ्यो । भाषाको समस्या धेरै कम भैसकेको थियो । हातमा अलि अलि पैसा पनि जम्मा भयो । 
 
यसैबिच नेदरल्याण्डमा One More cafe   रेष्टुराँ बिक्रीमा देखिन् रेशमले । उनलाई त्यो रेष्टुराँ आफूले लिन पाए आफू मात्र हैन आफ्नो परिवारलाई नै अमेरिका बोलाएर खुशीसँग जीवन बिताउन पाइन्थ्यो भन्ने हुटहुटी जाग्यो । त्यसको मालिकसँग कुरा गरिन्  । उसलाई त्यो राम्ररी नचलेको रेष्टुराँ बेच्नु नै थियो । मोलतोल भयो , रेशमले आफूले कमाएको सबै पैसा त्यसमा लगाएर किनिन् । त्यो रातभरी सुत्न सकिनन् । एकतमासको डर लाग्यो , चिन्ताले छटपटी भयो उनलाई । 
 
रेष्टुराँ चलेन भने आफ्नो सबै कमाई समाप्त होला , सडकमा पुगिने हो कि ! मनमा अनेक कुरा खेल्न थाले । तर भोलीपल्टको सुर्योदयसँगै रेशममा एकप्रकारको आत्मबल र सकृयता जागेर आयो । त्यो सन् १९९९ को मार्च महिना कुरा  थियो । उनले रेष्टुराँको नाम परिवर्तन गरेर Kathmandu Restaurent राखिन् । रेष्टुराँ संचालनको शुरु दिनमै एकसय ग्राहकको भीड लाग्यो । नेपाली र इन्डियन स्वादको खाना पस्किन् । ट्रेकिङ्ग् , हाइकिङ्गमा आउने पर्यटकहरुलाई तातो दालभात तरकारीले आकर्षित गर्यो ।  काम गर्नेको अभाव थियो , आफैं सबै काम भ्याउँथिन् उनी । हरेक दिन खाना खान आउनेको भीड लाग्न थाल्यो । अब भने रेश-मले  निर्धक्क भएको अनुभव गरिन् । 
 नेदरल्यान्डले मोहनी लाएझैँ भयो उनलाई । भन्छिन् – अब त कटुन्जे भन्दा नेदरल्यान्ड नै पो प्यारो लाग्न थाल्यो । 
 
जता मोडे पनि मोडिन्छ जीवन 
काठमाण्डु रेस्टुरेन्ट, बोल्डर कोलोराडो
हामीसँगको कुराकानीमा रेशम गुरुङ्गले जीवनलाई सजिलै परिभाषित गरिन् – जीवनको मोड जता लैजान खोज्यो उतै लान सकिने रैछ । 
 
उनको आत्मबलले बोलेको यो कुरा सबैको हकमा लागु हुन्छ भन्ने आधार त नहोला तर लगन, इमान्दारी र धैर्यले खारिएकि यी महिलाको अहिलेसम्मको जीवन यात्रा हेर्दा भने असत्य भन्न पनि नसकिने रहेछ । 
 
आफैं मालिक भएपछि रेशमले पछाडि फर्किनु परेको छैन । रेष्टुराँ किनेपछि नेपालमा रहेका आफ्नो प्रेमी लोक  मल्ललाई अमेरिका बोलाइन् । मल्लजी पनि उनैलाई कुरेर बसेका थिए । सानेपा हुंदै उनीहरुको प्रेम भैसकेको थियो । एकअर्काकोलागि समर्पित थिए । यता अमेरिकामा एक्लै बस्दा रेशमलाई फकाउन खोज्ने धेरै हुन्थे । तर सबैलाई आफू विवाहित छु भनेर बच्ने गरेको कुरा उनी निर्धक्क बताउँछिन् । 
 
रेशमले भनेझैं त्यसपछि जीवनलाई पछाडि फर्किन दिईनन् । अहिले उनीसँग आफ्नो परिवारको ठूलो जमात छ । आमा, भाई बुहारी , देवर देवरानी र अरु आफन्त गरी झन्डै ५० जनाको मानव शक्ति छ । अर्को शहर बोल्डरमा Kathmandu Restaurent-2   श्रीमानले सम्हालेका छन् । यो रेष्टुराँ उपयुक्त ठाउँमा भएकोले राम्रोसंग चलेको देखिन्छ ।   नेदरल्यान्ड मै एउटा गिफ्ट सप छ ,अरु सम्पत्ति छेउछाउमा छरिएका छन् । चारवटा कम्पनी छ उनको । अमेरिकी सरकारलाई वर्षमा एकलाख डलर कर तिर्छिन् । सबै जायजेथा जोड्दा झन्डै ८ मिलियन डलरको मालिक्नी हुन् रेशम गुरुङ्ग मल्ल । 
 
सबै कुराले सन्तुष्ट 
श्रीमानको साथ रेशम गुरुङ मल्ल 
" अहिले म सबै कुराले सन्तुष्ट छु । मैले जे गरें परिवारकोलागि गरें । अब केहि आफ्नो गाउँ ठाउँकोलागि गर्ने इच्छा छ । " – उनको स्पष्टोक्ति आफैंमा जिवन्त आत्मविश्वास लाग्थ्यो । 
 
आफू जन्मेको गाउँ , क ख रा सिकेको स्कुल उनको आँखामा छ । स्कुलको विकासमा सहयोग गरेकि छन् । उनकै नाममा त्यहाँ पुस्तकालय खोलिएको छ । 
 
जीवन अहिलेसम्म सरलरुपले चलेको छ । जति रोएँ हिजै रोइसकें , अब त शायद रुन पनि आउँदैन । -रेशमको यस्तो आत्मबल सुनेर म स्वयम् छक्क परेँ । 
 
मैले झिस्क्याउँदै सोधें – हिजो धेरै रुनु पर्थ्यो , अभाव र परदेशको पीडा सहिनसक्नु  हुन्थ्यो , ४५ मिनेट पैदल हिड्दाको अथाह सकस , अब त आनन्द होला नि ?  कुन गाडी चढ्नु हुन्छ ?
 
लजाउँदै उनको जवाफ आयो –  मलाई कुनै अभिमान छैन । म अहिले पनि सामान्य मानिस हुँ । मैले आफ्नै संघर्ष र परीश्रमले मेरो जीवन रेखा बनाएकि छु । 
 
हिजोकि ९० मिनेट पैदल ओहोर दोहोर गर्ने रेशम अहिले महङ्गो लेक्सस गाडीमा हिड्छिन् । प्राय नेपालीहरुमा भेटिने अहमले उनलाई अहिलेसम्म छोएको छैन । विदेशमा बसेर संघर्ष गरिरहेका नेपालीलागि उनी प्रेरणा हुनसक्छिन् , प्रवाशी नेपाली महिलाहरुलाई त झनै । 
 
व्यवसायमा लाग्ने नेपालीहरुलाई उनको सुझाव छ – सत्य , इमान र मिहिनेत कहिल्यै नछोड्नु । 
उनको पछिल्लो काम आफ्नै बारेमा किताब लेख्नु हो । केही साथीको सम्पादन सहयोगमा  प्रकाशित हुन लागेको उक्त किताबको नाम नै Resham Journey   छ । त्यसमा रेशमको जीवनका विविध मोडहरुलाई सबिस्तार वर्णन गरिएको कुरा उनी आफैले बताइन् । 
 
रेशम गुरुङ्ग मल्लसँग कुराकानीको बीट मार्दै गर्दा मलाई भने भित्रभित्रै गर्वको अनुभूति भैराखेको थियो । नेपालको एउटा दुर्गम गाउँकी चेली कोलोराडोमा सफल व्यवसायी भएर स्वाभिमानकासाथ असल बाटोमा हिडेको देख्दा कुन नेपालीलाई गर्व नलाग्ला !  Video is Coming soon..