अन्तर्वार्ता

नमुना वडा बनाउने मेरो सपना पूरा हुँदैछ : विश्व उप्रेती

नमुना वडा बनाउने मेरो सपना पूरा हुँदैछ : विश्व उप्रेती


रत्ननगर नगरपालिका–१४ का ५६ वर्षीय विष्णुप्रसाद उप्रेती ‘विश्व’ नेपाली कांग्रेसका तर्फबाट वडाअध्यक्षका उम्मेदवार हुन् । २०३३ सालदेखि विद्यार्थी राजनीति सुरू गरेका उप्रेती ०३६ मा नेपाली कांग्रेसको तत्कालीन गाविस सचिव, कांग्रेस जिल्ला सदस्य हुँदै निरन्तर रुपमा राजनीतिमा लागेका निष्ठावान् कांग्रेस कार्यकर्ता हुन् । २०४६ सालको जनआन्दोलनमा सरिक भई संघर्ष गर्दागर्दै पक्राउ परेका उनीसँग एक साता जेल जीवन भोगेको अनुभव छ ।
 
०६२/६३ सालको जनआन्दोलनमा कमाण्डर सदस्य रहेर अग्रपंक्तिमा योगदान गरेका उनी १३ औँ महाधिवेशनमा क्षेत्रीय प्रतिनिधि र सल्लाहकार भए । विभिन्न संघसंस्थामा आवद्ध उनी वडा नं १४ का लोकप्रिय र सामाजिक छवि बोकेका राजनीतिज्ञ हुन् । कांग्रेसको अत्यन्तै बलियो क्षेत्रका रुपमा परिचित वडाबाट उनले उम्मेदवारी दिएकाले उनी विजयी हुनेमा पनि विश्वस्त छन् । प्रस्तुत छ, हिमालय खबरका केशव भट्टराईले जुझारु स्थानीय नेता उप्रेतीसँग गरेको कुराकानीको सारसंक्षेप–
 
१) वडाअध्यक्षमा तपाईंको उम्मेदवारी किन ? 
 
–करिब २० वर्षपछि हुन लागेको स्थानीय निर्वाचनले जनतालाई अधिकारसम्पन्न बनाउने भएकाले मैले वडा नं १४ बाट नेतृत्व गर्ने मौका पाएको छु । मैले आफ्नो वडाको समृद्धिका लागि एउटा सपना देखेको छु । वडालाई नमुना बनाउने आशा लिएर मैले भूमिका खेल्न सक्छु भनेर नै उम्मेदवारी दिएको हुँ । वडाभित्र भएका विद्यालयहरुको शैक्षिक गुणस्तर वृद्धि गरी बोडिङ स्कुलसरह बनाउन, नहर व्यवस्थित गरी खेतीयोग्य जमिनमा सिंचाइ गर्न, गुञ्जमान हस्पिटललाई स्तरोन्नति गरी जनतालाई भरतपुर जान नपर्ने गरी गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न, सडकको स्तरोन्नति गरी सहरको योजना बनाउन मेरो उम्मेदवारी हो । 
 
२) वडा विकासका लागि प्रमुख एजेन्डा के के छन् ? 
 
–स्थानीय स्रोत र साधनको प्रयोग गरी वडाको आवश्यकता पहिचान गरेर प्राथमिकताका साथ काम गर्ने मेरो एजेन्डा छ । विकासका पूर्वाधारका लागि विज्ञहरुसँग परामर्श गरेर योजना ल्याउँछु । नगरपालिका, जिल्ला समन्वय समिति र केन्द्रबाट सकेको बजेट विनियोजन गरी नमुना वडा निर्माण गर्ने छु । 
 
३) मतदाताका विश्वास जित्ने के कस्ता काम गर्नुभएको छ ? 
 
–वडाका मुद्दा मामला, झैझगडा र असमझदारी हटाउन मेरो भूमिका रहँदै आएको छ । उनीहरुलाई न्यायपूर्ण ढंगबाट मिलापत्र गराउने, आपसी भाइचारा र मैत्रीपूर्ण सम्बन्ध कायम गराउने काम गरेको छु । सबैले विश्वास गर्ने र मन जित्ने व्यवहार प्रदर्शन गरेकै कारण म मतदाताको मनमुटुमा रहँदै आएको छु । सडक, पुल, तटबन्धजस्ता विकास निर्माणमा पनि मेरो अगुवाइ भूमिका रहँदै आएको छ । बेरोजगार युवालाई स्थानीय चाउचाउ फ्याक्ट्रीमा काम लगाउने, आफूले सकेको र पहुँच पुगेका स्थानमा रोजगारी दिलाउने काम मबाट हुँदै आएको छ ।
 
मैले हिजोका दिनमा गरेका न्यायपूर्ण व्यवहार र सहयोगी भूमिकाले पनि मतदाताको विश्वास जित्ने आधार बनेको छ । कांग्रेसले घरदैलोका क्रममा मतदाताबाट पाएका हौसला र प्रतिबद्धताले पनि मैले मन जितेको रहेछु भन्ने बोध भयो । मतदाता मलाई जिताउन आतुर रहेको मैले पाएको छु । मलाई त लागेको छ कि अब भोट गन्नमात्रै बाँकी छ । मतदाताले भारि मतका साथ मलाई विजयी जिताउँछन् ।
 
४) महत्वाकांक्षा त बढी ने राख्नुभयो, चुनाव जित्ने आधारचाहिँ के देख्नुभएको छ ?
 
– मेरो हिजो बनेको पिठुवा गाविस र पुरानो संगठनले मलाई विष्णुप्रसाद उप्रेती भनेर नचिन्ने कोही छैनन् । एक त १४ नम्बर वडा कांग्रेसको बलियो आधार क्षेत्र हो । यस क्षेत्रले नगरकै मतका लागि पनि निर्णायक भूमिका खेल्छ । वडामा मैले प्रतिस्पर्धी नै देखेको छैन । वडामा कांग्रेसकै जनमत र जनलहर बढ्नुले मैले यो दाबी गरेको हुँ । मेरो दाबी यथार्थमा परिणत हुन धेरै समय पर्खनुपर्ने छैन, निर्वाचन परिणामले नै पुष्टि गर्ने छ । 
 
५) मतदाताले कस्तो अपेक्षा राखेका छन् ? तपाईंले कस्तो प्रतिबद्धता जनाउनुभएको छ ?
 
–बेरोजगारी समस्या देशकै समस्या हो । यो समस्याको समाधान तत्काल गर्छु भनेर भन्न सक्दिन । तर, मेरो पहिलो प्राथमिकता वडावासीलाई रोजगार दिलाउनु नै हुनेछ । किनभने, यस वडामा प्रशस्त रोजगारीका संभावना छन् । फ्याक्ट्री यहीँ छ, हस्पिटल यहीँ छ र उर्वर भूमि पनि यहीँ छ । जनजाति र सुकुम्बासीले भोग्नुपरेका समस्या धेरै छन् । उनीहरुको समस्या समाधानका लागि प्रतिबद्धता गरेको छु । सुकुम्बासीलाई भटाभट जग्गा बाँड्छु भनेर त म भन्न सक्दिन । त्यसको उचित व्यवस्थापन अवश्य गर्न सक्छु । उनीहरुको आयआर्जनका लागि सीपमूलक र स्तरोन्नति गर्ने काम गर्नेछु । 
 
मेरो प्रतिबद्धता नमुना वडा बनाउने छ । नमुना वडा बनाउन सर्वप्रथम वडावासीको चेतनास्तर उकास्नुपर्छ । उनीहरुलाई शिक्षित बनाउनुपर्छ र स्वास्थ्यमा पहुँच पु¥याउनु्पर्छ । हाम्रा युवा नेता एवम् स्वास्थ्यमन्त्री गगन थापाले निःशुल्क स्वास्थ्य सेवाको जुन अवधारणा ल्याउनु भएको छ, त्यसको कार्यान्वयन गर्ने र कम पैसामा उपचार गर्ने परिपाटी पनि मिलाउँछु । यहाँ शैक्षिक स्तर उत्कृष्ट रहेको जनजागृति उमावि छ, द्वारिकादास मावि छ, जनोदया मावि छ । प्राविधिक शिक्षाको अपरिहार्यतालाई मनन गरी यी विद्यालयहरुमा प्राविधिक शिक्षाका साथै गुणस्तर वृद्धि गर्छु । 
 
वडालाई अपाङ्गमैत्री, बालमैत्री, युवामैत्री तथा प्रौढमैत्री वातावरण सिर्जना गर्छु । म मतदाताको सम्मान गर्ने र अपेक्षा पूरा गर्न सक्ने उम्मेदवार भएकाले उहाँहरुलाई यिनै प्रतिबद्धता जाहेर गरेको छु । घरदैलोका क्रममा पनि २५० जनाभन्दा बढी साथीभाइको उपस्थिति देख्दा मतदातामा खुसीको रक्तसञ्चार भएको छ । हामीलाई अझै बढी जिम्मेवार र उत्साह ल्याएको छ । यसलाई नमुना वडा बनाउने मेरो सपना पूरा हुने संकेतका रुपमा मैले लिएको छु ।  

शेयर गर्नुहोस:

54
Shares