मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्तर्वार्ता   

‘जसले गर्छ काम, उसकै निम्ति मतदान’ : गणेश पौडेल

‘जसले गर्छ काम, उसकै निम्ति मतदान’ : गणेश पौडेल


स्पष्टवक्ता र स्पष्ट दृष्टिकोण भएका नेकपा माओवादी केन्द्रका आशालाग्दा युवा नेता हुन्– गणेश पौडेल । पूर्वी चितवनको रत्ननगर–१, बकुलहर निवासी ३० वर्षीय पौडेललाई स्थानीय तहको निर्वाचनमा रत्ननगर नगरपालिकाको मुटु मानिने वडा नं १ बाट वडाअध्यक्षमा माओवादीले सर्वसम्मत उम्मेदवार बनाएको छ । ०६० देखि नेपाल माविमा दश कक्षा पढ्दादेखि नै विद्यार्थी राजनीतिमार्फत् सक्रिय उनले केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य, अखिल क्रान्तिकारीका जिल्ला सचिवालय सदस्य, पार्टीको वडा नेतृत्वदेखि केन्द्रीय आयोजक समिति सदस्यसम्मको जिम्मेवारी निभाएका छन् । सामाजिक विकासदेखि राजनीतिक नेतृत्वका लागि जुझारु र सक्षम युवा मानिन्छन् उनी । जनतालाई अधिकारसम्पन्न बनाउन र वडावासीलाई परिवर्तनको अनुभूति दिलाउन सबैभन्दा कान्छो उम्मेदवारका रुपमा प्रस्तुत भएका उनी ‘जसले गर्छ काम, उसकै निम्ति मतदान’ भन्ने मूल नारा तय गरेर चुनावी मैदानमा उत्रिएका छन् । प्रस्तुत छ, यिनै विकासप्रेमी र जुझारु युवा नेता पौडेलसँग हिमालय खबरका नेपाल संयोजक केशव भट्टराईले गरेको कुराकानी–
 
१) रत्ननगर नगरपालिकाको वडाअध्यक्षमा तपाईंको उम्मेदवारी किन ? 
 
–सवल, सक्षम, समृद्ध र नमूना वडा बनाउन मेरो उम्मेदवारी हो । मसँग काम गर्ने ऊर्जा छ, निर्दिष्ट योजना छ, वडा विकास गर्ने परिकल्पना छ, कामप्रति लगाव र इमान्दारिता छ । सामाजिक न्याय र समानताको वकालत गर्ने क्षमता छ । आफ्नो भिजनअनुरुप परिचालन गर्नसक्ने सक्षम, सवल र शैक्षिक योग्यता भएको उम्मेदवार भएकाले वडाअध्यक्ष पदमा उम्मेदवारी दिएको हुँ । 
 
२) वडा विकासका लागि तपाईंसँग के कस्ता एजेन्डा छन् ? 
 
–वडामा भएका स्रोत र साधनको पहिचान गरी यसको कुशल प्रयोग गरी वडाको कर प्रणालीलाई चुस्त बनाई आर्थिक पक्ष सवल बनाउन मसँग निर्दिष्ट योजना छ । वडामा विद्यमान बेरोजगारीको तथ्यांक निकाली त्यसको उचित व्यवस्थापनको निम्ति मेरो पहलकदमी र भूमिका रहने छ । वडाका व्यावसायिक किसानको लगत निकाली उनीहरुलाई उर्जाशील बनाउन विशेष प्याकेजका योजना तय गर्ने छु । वडामा रहेको सरकारी विद्यालयमा विद्यार्थी आकर्षित गर्न शैक्षिक गुणस्तर वृद्धि र स्तरोन्नति गर्न समयसापेक्ष स्रोतसाधनको व्यवस्थापन गर्नेछु । वडाका समग्र सडक कालोपत्रे गर्ने र ढलसहित हरियाली बाटोको अवधारणा ल्याई वातावरणमैत्री र नमूना वडा घोषणा गर्ने एजेन्डा छ । बकुलहर–देवौली कुलो व्यवस्थापनका लागि ड्रेन विकास गर्ने र तीन वर्षमा वडालाई स्मार्ट वडाका रुपमा पद्धति विकास गर्ने एजेन्डा मसँग छ । धार्मिक तथा सांस्कृतिक धरोहरको उचित संरक्षण र संवद्र्धन विकासमा मेरो उत्तिकै योगदान रहने छ । 
 
३) चुनावी प्रतिस्पर्धामा तपाईं आफूलाई कति योग्य उम्मेदवार ठान्नुभएको छ ? 
 
–हुन त यस विषयमा म अन्य उम्मेदवारभन्दा निकै कान्छो छु । तर, मसँग स्पष्ट योजना, भिजन र विकासका कामप्रति लगाव र निरन्तरताले नै मेरो योग्यता प्रष्ट पार्दछ । मेरो पार्टीका संगठित साथी, इष्टमित्र, दाजुभाइ र आमाबुबासँगको विश्वास र प्रेमका कारण म वडाअध्यक्षको उम्मेदवार भएको हुँ । समाजमा कलंकरहित भएर वडाको वृत्ति विकासमा पनि अग्रणी भूमिका निर्वाह गर्दै आएको छु । उदाहरणका रुपमा विगत एकवर्षको विकास निर्माणमा मेरो सक्रियतालाई लिन सकिन्छ । वडावासीको बजेटको वकालत गर्दै मोहनादेखि भक्तिनीबगैँचासम्म बाटो पिच बनाउन होस् या भित्री सडक निर्माणमा मेरो नेतृत्वदायी भूमिका रहेको छ । विकास निर्माणका दृष्टिले पनि म आफूलाई योग्य र सवल उम्मेदवार ठानेको छु । 
 
४) युवा नेता हुनुहुन्छ । मतदाताबीच कत्तिको भिज्नु भएको छ ? 
 
–विद्यार्थी राजनीतिबाट आएका कारण म युवाबीच लोकप्रिय त छँदैछु । स्पष्ट वक्ता र दृष्टिकोण बोकेको, वडावासीको सेवा गर्ने आज्ञाकारी, प्यारो र कान्छो केटो भएकाले वडावासीको मनमुटुमा भिज्न सफल भएको छु । वडाको भौगोलिक हिसावले पनि वडावासीको घरदैलोमा पुगेर दुःख–सुखमा सहभागी भएको नाताले म सबै मतदाताबीच परिचित र लोकप्रिय छु । 
 
५) जनतालाई अधिकारसम्पन्न बनाउने एजेन्डा तपाईंकै पार्टीले उठान गरेको हो । स्थानीय तहमा त्यो अधिकारको प्रत्याभूति कसरी गराउन सक्नुहुन्छ ? 
 
–यो हाम्रै पार्टीले उठान गरेको एजेन्डा हो । अहिले यो पद्धति लागू गर्नका लागि स्थानीय तहको निर्वाचन हुँदैछ । स्थानीय तहलाई अधिकारसम्पन्न बनाउन र सिंहदरवारको अधिकार सामान्य जनताले प्रत्याभूति अवश्य गर्नेछन् । केन्द्रसम्म पहुँच राखेर बजेट ल्याउन सक्ने र वडाको विकास योजनामा स्पष्ट अडान र वकालत गर्न सक्ने भएकाले स्थानीय स्वायत्त प्रणालीलाई सफल बनाउनका निम्ति मेरो चुस्त भूमिका रहने छ ।  
 
६) चुनाव जित्ने सुनिश्चितता कत्तिको देख्नु भएको छ ? 
 
‘जसले गर्छ काम, उसकै निम्ति मतदान’ भन्ने मेरो मूल नारा हो । अहिले समग्र वडावासीमा राजनीतिक चेतना रहेको र शिक्षित वर्गबीचमा मतदान हुँदैछ । मतदाताले पक्कै पनि सुझबुझपूर्ण निर्णय गर्नुहुनेछ भन्ने मलाई पूर्ण विश्वास छ । मेरो जोश, जाँगर र कामप्रतिको लगावलाई पक्कै पनि वडावासी आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरुले स्पष्ट मूल्यांकन गरी मलाई टेका लगाउने काम गर्नुहुनेछ भन्नेमा म आशावादी छु । मलाई कान्छो, भाइ, छोरो, नातिका रुपमा काम गराउन जति सहजता वडावासीमा हुन्छ, त्यति सहजता मैले अरुमा देख्दिन । शुभेच्छुक नै शुभेच्छुक रहेको वडाको उम्मेदवार भएकाले मैले चुनाव जित्ने अत्मविश्वास मलाई छ । 
 
७) अन्य प्रतिस्पर्धी उम्मेदवारभन्दा विकास चिन्तनमा तपाईं कसरी अगाडि हुनुहुन्छ ?
 
 –हेर्नुस्, वडाको विकासमा फराकिलो चिन्तन बोक्ने युवा हुँ म । यो कुराको प्रत्याभूति मैले गराइसकेको छु । वडाको बजेटका निम्ति मेरो स्पष्ट पहल भएको कुरा अहिले चर्चामा छ । हामीले हालैमात्र विविध विनियोजित बजेटमध्ये ५५ लाख रुपैयाँको सम्झौता गरी कभर्ड हल निर्माण प्रक्रिया अगाडि बढाइसकेका छौँ । अन्य प्रस्तावित बाटोघाटो, मठ, मन्दिर, ब्रह्मस्थानलगायतका धार्मिक तथा सांस्कृतिक क्षेत्रको संरक्षण र सार्वजनिक शौचालयका निम्ति मेरो व्यक्तिगत पहलबाटै बजेट विनियोजित भइसकेको स्पष्ट छ । केही योजना मैले राष्ट्रिय योजनाको ‘रेड बुक’मै स्थापित गराउन पहल पनि गरिरहेको छु । यसले पनि वडाको विकास चिन्तनमा म गम्भीर र अगाडि रहेको देखाउँछ ।