मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्तर्वार्ता   

समृद्ध वडाको गरिमा मेरो एजेन्डा : टीकादत्त इटनी ‘पवन’

समृद्ध वडाको गरिमा मेरो एजेन्डा : टीकादत्त इटनी ‘पवन’


खैरहनी नगरपालिका-२, चैनपुर निवासी ४२ वर्षीय टीकादत्त इटनी 'पवन' सो क्षेत्रका लोकप्रिय छवि बोकेका नेपाली कांग्रेसका युवा नेता हुन् । विकासप्रेमी, इमान्दार र कुशल नेतृत्व क्षमता भएकै कारण पार्टीले उनलाई सर्वसम्मत वडाअध्यक्षको उम्मेदवार बनाएको छ । स्थानीय जनतामाझ भिजेका उनी स्थानीय तहको निर्वाचनमा सर्वाधिक मतले विजयी हुनेमा निश्चिन्त छन् । शहीद स्मृति बहुमुखी क्याम्पस रत्ननगरबाट स्नातक तहसम्मको अध्ययन गरेका उनी कांग्रेसको वडा नं २ को सभापति र वडा नागरिक मञ्चको संयोजक भएर कार्यअनुभव हासिल गर्दै विभिन्न संघसंस्थामा आवद्ध भएर जनताको सेवा गर्दै आएका छन् । 
 
०४६ सालमो जनआन्दोलनमा नेविसंघको राजनीतिमार्फत प्रजातन्त्र प्राप्तिका लागि सडक संघर्षमा होमिएका उनी ०४७ मा जनजीवन मावि चैनपुरका नेविसंघ अध्यक्ष, ०४९ मा चैनपुर गाविसका नेविसंघ अध्यक्ष, ०५२ सालमा नेविसंघ क्षेत्र नं २ का क्षेत्रीय सचिव हुँदै कांग्रेसको एघारौँ महाधिवेशनमा चैनपुर इकाइ सचिवको भूमिका निर्वाह गरिसकेका छन् । उनले संसद पुनःस्थापनाका लागि पार्टीले गरेका चरणवद्ध आन्दोलनमा चितवन र राजधानीमा सक्रिय रहेर सहभागिता देखाएका छन् । ०६२/६३ को जनआन्दोलनमा जिल्लाको अग्रभागमा रहेर नेतृत्व गर्दै आएका उनी खैरहनी नगरपालिका घोषणापश्चात् पार्टीका तर्फबाट एकीकृत सम्पत्ति कर मूल्यांकन समितिको सदस्य रहँदै वडा र नगरस्तरीय कार्यक्रममा सक्रिय सहभागिता जनाइसकेका छन् । प्रस्तुत छ, जनताका सेवक रही सामाजिक न्यायका लागि जनताको सुखदुःखमा सहभागी हुँदै आएका युवा नेता इटनीसँग हिमालय खबरका नेपाल संयोजक केशव भट्टराईले गरेको संक्षिप्त कुराकानी–
 
१) वडाअध्यक्षमा तपाईंको उम्मेदवारी किन ?
 
–मेरो उम्मेदवारी खैरहनी नगरपालिकाको वडा नं २ को समग्र विकास र विभिन्न सेवालाई न्यायोचित रुपमा जनताको घरदैलोमा पुर्याएर वडालाई परिवर्तनको अनुभूति दिलाउन मेरो उम्मेदवारी हो । 
 
२) तपाईं मतदाताबीच कति लोकप्रिय हुनुहुन्छ ? 
 
–म कलिलो उमेरदेखि नै जनताको बीचमा रहेर गाउँ समाजलाई पार्टीको नीति र सिद्धान्तबमोजिम हरेक दुःखसुखमा साथ रहँदै आएको छु । पार्टीभित्र सक्षम र स्वच्छ छवि भएकै कारण पार्टीले मलाई सर्वसम्मत रुपमा वडाअध्यक्षको उम्मेदवार बनाएको हो । मेरो लोकप्रियता रहेकै कारण निर्विवाद रुपमा म छनोट भएको हुँ । मतदाताको घरदैलोमा पुगेको र उहाँहरुको मन जित्दै आएकाले म वडावासीमा लोकप्रिय छु ।
 
३) मतदाताले तपाईंलाई नै किन भोट दिने ? 
 
–सर्वप्रथम त नेपाली कांग्रेस देशकै ठूलो लोकतान्त्रिक पार्टी हो । वडादेखि नै कैयौँ संगठित सदस्य पार्टीमा क्रियाशील हुनुहुन्छ । वडास्तरीय पार्टीका सम्पूर्ण विश्वासको मत मलाई प्राप्त हुने विश्वास लिएको छु । समाजमा रहेका हरेक व्यक्ति, वर्ग तथा समुदायको पनि ममाथि अगाथ विश्वास र साथ रहेको छ । विकास निर्माण र परिआएका बेला हरेक जिम्मेवारी पूरा गर्न सक्ने सेवक भएकाले पनि वडावासीको म भरोसाको पात्र हुँ । मैले भोट पाउने विश्वासिलो आधार पनि यिनै हुन् । 
 
४) स्थानीय निकायको निर्वाचनमा प्रतिस्पर्धीहरुबीच कडा सामना गर्नुपर्ने देखिन्छ । तपाईंले चुनाव जित्ने आधार के देख्नुभएको छ ? 
 
–पहिलो आधार त हाम्रो बलियो र शक्तिशाली संगठन नै हो । हाम्रो वडामा २६० क्रियाशील सदस्य र एकहजारभन्दा बढी भोट संगठनभित्रै छ । कांग्रेस विकासको लागि वडाभित्र जनताको सेवामा निरन्तर लागिरहेको पार्टी हो । जनताको दुःखसुखमा साथ दिँदै आएको र त्यसको नेतृत्व स्वयम् मैले लिएकाले हाम्रो जितको प्रमुख आधार यही हो । समग्रमा भन्नुपर्दा अन्य पार्टीको विश्वासको मतसमेत मैले पाउने भएकाले मेरो प्रतिस्पर्धा कसैसँग देखेको छैन । 
 
५) तपाईंसँग वडा विकासका एजेन्डा के के छन् ? 
 
–सर्वप्रथम त हाम्रो वडामा सडक सञ्जालहरुको स्तरोन्नति गर्दै कालोपत्रे गर्नुपर्ने छ । त्यसका लागि जनताको सहभागितामा समग्र वडाको विकासका लागि योजनाहरु निर्माण गर्र्दैछु । वडावासीमा भावनात्मक एकता कायम गर्दै फोहरमैलाको व्यवस्थापन, सरसफाइ र वातावरणीय विकासका कामहरु सञ्चालन गर्नेछु । वडाको बजेटलाई कृषिमा आधारित उत्पादनमुखी योजना बनाएर कृषकको उत्पादन बढाउने, त्यसको बजारीकरण गर्ने र उनीहरुलाई आत्मनिर्भर बनाउने विविध कार्यक्रमहरु अबलम्बन गर्नेछु । 
 
जनताको आधारभूत जीवनसँग जोडिएका शिक्षा, स्वास्थ्य, खानेपानीलगायतका आवश्यकतालाई समयमै सम्बोधन गर्न/गराउन लागिपर्ने छु । यस्तै, वडालाई बालमैत्री, प्रौढमैत्री, अपाङ्गमैत्री, युवामैत्री कार्यक्रमहरु सञ्चालन गरी समृद्ध वडाको गरिमा राख्न मेरो प्रमुख एजेन्डा रहेको छ ।