मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्तर्वार्ता   

रत्ननगरलाई नमूना नगरपालिका बनाउने मेरो अठोट छ : गोविन्द गौतम

रत्ननगरलाई नमूना नगरपालिका बनाउने मेरो अठोट छ : गोविन्द गौतम


गोविन्द गौतम, रत्ननगरका कांग्रेसका हस्ती मानिन्छन् । कानुनमा स्नातक गरेका रत्ननगर–१२, निपनीका यी ४८ वर्षे राजनीतिज्ञले ०७४ वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि रत्ननगर नगरपालिकाको मेयरमा आकांक्षा देखाएका छन् । विभिन्न संघसंस्था र उपभोक्ता समितिमा रहेर नगर विकासका विभिन्न आयामसँग जोडिएका यी नेताको राजनीतिक यात्रा २०४२ सालको सत्याग्रहदेखि सुरू भएको हो । नेविसंघ रत्ननगरबाट सहभागी हुँदा प्रहरीको पक्राउमा परेका उनी ०४६ सालको जनआन्दोलनमा नेपाल ल क्याम्पसको प्राङ्गढबाटै पक्राउ परी एकसाता बग्गीखाना जेल परेका थिए । २०५२ सालदेखि नेविसंघको राजनीति हुँदै तरुण दलमा आवद्ध उनी रत्ननगरका प्रथम निर्वाचित नगरसभापति बने । त्यसयता पार्टीका विभिन्न कार्यक्रमहरुमा सक्रिय भूमिका निभाउँदै अघि बढे । तरुणको दोस्रो महाधिवेशनमा व्यवस्थापन समिति, तेस्रो महाधिवेशनमा केन्द्रीय प्रतिनिधि, कांग्रेसको क्षेत्र नं २ को सचिव, तरुणको जिल्ला सहसचिव रहेर काम गरे । 
 
०६२/६३ को जनआन्दोलनमा सक्रिय भूमिका प्रदर्शन गरेका उनलाई निवारण नजरबन्दीको पुर्जीसहित पक्राउ गरिएको थियो । पटकपटक आन्दोलनमा सहभागी भई जेल गरेका उनी पार्टीमा अविचलित रुपमा काम गर्दै आएका छन् । पार्टीको प्रशिक्षण कार्यक्रमहरुमा संयोजक भई काम गरेका उनीसँग संघीयता, शासकीय स्वरुप र प्राकृतिक स्रोतको बाँडफाटसम्बन्धी विभिन्न जिल्लामा प्रशिक्षण दिएको अनुभव छ । कानुनमा विशेष दख्खल राख्ने भएकाले उनले संविधान सुझाव संकलनमा पनि चितवनबाट सक्रियता देखाएका थिए । दर्जनौँ सामाजिक संघसंस्थामा रहेर सामाजिक कर्म गर्दै आएका उनी कांग्रेस नेता स्व. गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाबाट समेत प्रंशसा–पत्रद्वारा सम्मानित भएका थिए । रत्ननगरमा कांग्रेसबाट तीन पुस्ताका नेताले मेयरका लागि आकांक्षा देखाएका छन् । तीमध्ये आफू कुनै पनि मानेमा कमजोर नरहेको जिकिर गर्ने उनी पार्टीले आफ्नो योग्यताको मूल्यांकन गरेर टिकट दिनेमा ढुक्क छन् । प्रस्तुत छ, जुझारु, कर्तव्यनिष्ट र निष्ठाको राजनीति गर्ने गौतमसँग हिमालय खबरका लागि केशव भट्टराईले गरेको कुराकानी–  
 
१) रत्ननगर नगरपालिकाको मेयरमा तपाइँको आकांक्षा किन ? 
 
–रत्ननगरले एउटा आमूल परिवर्तन खोजेको छ । समृद्ध सहरका रुपमा रुपान्तरिक हुन खोजेको छ । म यसका लागि जनउत्तरदायी र कर्तव्यनिष्ठ भएर कुशलतापूर्वक काम गर्न सक्छु । नगरलाई आर्थिक समृद्धितर्फ अगाडि बढाउँदै आधुनिक सहरमा रुपान्तरण गर्न सक्छु भन्ने मलाई विश्वास छ । त्यही भएर रत्ननगर नगरपालिकालाई कुशल नेतृत्व प्रदान गर्न मेयरको उम्मेदवारीका लागि आकांक्षा राखेको हुँ । 
 
२) नगर विकासका लागि तपाइँसँग के कस्ता एजेन्डा छन् ? 
 
–सर्वप्रथम त रत्ननगरभित्र देखिएका अधिकतम समस्याहरुलाई समाधान गर्न दृढ इच्छाशक्तिको आवश्यकता छ । यसभित्र यहाँको जनप्रशासनमा नागरिकको पहुँच स्थापित गर्न र रुपान्तरणका लागि आर्थिक विकासका थुप्रै संभावनाहरुको आवश्यकता पर्दछ । यहाँको पर्यटन, कृषि, उद्योग र निजी औद्योगिक प्रतिष्ठानहरुलाई आत्मबल बढाइ शान्ति सुरक्षाको सुव्यवस्था गर्दै समृद्ध नगरपालिकामा रुपान्तरण गर्ने एजेन्डा मसँग छ । अर्को शिक्षा, स्वास्थ्य, रोजगार, मानवअधिकार, बालमैत्री नगर स्थापनाका लागि यहाँका संघसंस्थाहरुसँग समन्वय गर्नेछु । यहाँको स्रोत र साधनहरुलाई सामाजिकीकरण गर्दै गरिब र धनीबीचको खाडल कम गर्न मेरो पूरै पर्यत्न रहनेछ । सबै क्षेत्रलाई उत्तरदायी बनाउँदै इच्छाशक्तिको विकास गरेर समृद्ध नगर बनाउने दृढ संकल्प मेरो छ । 
 
३) नगरका लागि के कस्ता कार्यक्रम ल्याउने सोच छ ? 
 
–रत्ननगर विशेषता बोकेको नगर हो । तर, यहाँका जनताका जीवनस्तरका विविध चुनौती पनि छन् । यहाँ नगरका आदिवासी, जनजाति, महिला, दलित, मुस्लिम, अल्पसंख्यक, भूमिहीन र पिछडावर्गको अस्तित्वलाई संरक्षण गर्दै उनीहरुलाई आफ्नै खुट्टामा धानिन सक्ने (आत्मनिर्भर) अर्थतन्त्रको पहिचान गरी उनीहरुको विविध सौन्दर्यलाई संरक्षण गर्न आवश्यक र नीतिगत कार्यक्रम ल्याउने सोच छ ।  
 
४) नगरलाई कस्तो बनाउने गुरूयोजना छ तपाइँसँग ? 
 
–रत्ननगर पछिल्लो समय टुरिजम हबका रुपमा विकास हुँदै गएको छ । यहाँको पर्यटन क्षेत्र विश्वकै परिचित छ । जैविक विविधताको संरक्षण गर्दै अनुकूल वातावरण निर्माण गरी पर्यटन क्षेत्रको प्रवद्र्धन र विकास गर्ने योजना छ । करको दायरालाई वैज्ञानिक बनाउँदै आवश्यक नीति तय गरेर प्रशासनलाई जनमुखी, सेवालाई सजिलो, दलीय सद्भाव राख्र्दै पारदर्शी र जवाफदेही बनाउने योजना छ । जनताको जीवनशैली र अधिकारलाई हेरेर उनीहरुलाई विभिन्न सीपमूलक तालिम दिई दक्ष जनशक्ति, क्षमता र कार्यकुशलताका आधारमा रोजगारीका अवसर सिर्जना गर्ने योजना छ । युवालाई स्वरोजगार बनाउन विभिन्न प्याकेजका कार्यक्रमहरु ल्याउने र उनीहरुलाई तालिम, प्रशिक्षण दिएर स्वरोजगार बनाउने योजना छ । 
 
यस्तै, नगरको समृद्धि र विकासको संभावनाहरु पहिल्याएर विज्ञहरुसँग छलफल र परामर्श गरी वैज्ञानिक कृषि प्रणाली, प्रतिफल वृद्धि गर्ने योजना छन् । विकास, निर्माणको गतिलाई तीव्रता दिँदै रत्ननगरलाई नमूना नगरपालिका बनाउने मेरो अठोट छ । त्यसका लागि असल नेतृत्व चाहिन्छ, त्यो क्षमता मसँग छ ।
 
५) करिब दुई दर्जन उम्मेदवारको भीडमा तपाईंलाई नै किन चयन गर्ने ? 
 
–मेरो राजनीतिक योगदान अन्य उम्मेदवारभन्दा कम छैन । र, योग्यता र क्षमताका हिसावले पनि म योग्य छु । राजनीतिक निरन्तरता, क्रियाशीलता, अविचलित रुपमा लोकतन्त्रको संस्थागत विकास र लोकतन्त्रको प्रतिफल जनसमक्ष ल्याउने संवाहकका रुपमा मैले आफूलाई अब्बल दर्जाको सोचेको छु । मेरो निजी स्वार्थ त्यागेर जनताको सेवक हुँ मालिक होइन भन्ने मूल मर्मलाई आत्मसात् गर्ने मेरो विकल्प मैले देखेको छैन । 
 
६) यति धेरै आकांक्षी बढ्नुको खास कारणचाहिँ के देख्नुहुन्छ ?
 
–तपाईलाई थाहै छ, २० वर्षदेखि स्थानीय निकायको निर्वाचन हुन सकेको छैन । लामो समय चुनाव नहुँदा आकांक्षी बढ्नु स्वभाविक हो । कांग्रेस आफैँमा ठूलो पार्टी पनि भएकाले तीन पुस्ताको आकांक्षा जोडिनु स्वभाविकै हो । यसका योग्यता र नयाँ सोच र भिजन भएको नेतृत्व अबको कांग्रेसमा आउनुपर्छ भन्ने मेरो मान्यता हो । 
 
७) कांग्रेसका विभिन्न पक्षधरले आकांक्षा देखाएका छन्, तपाईंको उम्मेदवारी पनि कसैको ‘व्याक सपोर्ट’का लागि हो कि ? 
 
–त्यो बिल्कुलै होइन । पार्टीमा त्याग, समर्पण गरेको अरुका लागि होइन । म आफैँ योग्य, सक्षम र इच्छाशक्ति बोकेको उम्मेदवारले कसैको व्याक सपोर्ट गर्ने भन्ने कुरै आउँदैन । निरन्तर रुपमा अविचलित भई पार्टीमा योगदान पु¥याएको व्यक्ति हुँ । मलाई पूर्ण विश्वास छ, पार्टीले मलाई टिकट दिन्छ र नगरवासीले पनि मलाई चुनावमा विजयी बनाउने छन् । 
 
८) प्रतिस्पर्धी उम्मेदवारले पनि रणनीति बनाउलान्, चुनाव जित्छु नै भन्ने आधार के देख्नु भएको छ ? 
 
–रत्ननगरको भूगोलबारे मलाई राम्रोसँग ज्ञान छ । यहाँका जनताको डोर टू डोर पुगेको छु र यहाँको समस्याबारे म राम्रोसँग जानकारी राख्छु । मेरो राजनीतिबाहेक अन्य कुनै पेसा, व्यवसाय छैन । योग्य र सक्षम नेतृत्व नगरविकासका लागि समर्पित गर्न सक्छु । नगरमा कांग्रेसको जनाधार पनि बलियो छ । यो जनाधार बनाउनमा मेरो विगतको योगदान छ । म लोकतान्त्रिक पद्दति र प्रतिस्पर्धामा विश्वास गर्ने मान्छे हुँँ । तर, मेरो तीव्र प्रतिस्पर्धा कसैसँग छैन ।