चितवन । भाँचिएको हातमा प्लास्टर गरिएको छ । खुट्टा राम्ररी चल्दैन । आफ्नै ज्यान धान्न सक्दिनन् । बोल्न खोज्छिन् तर आवाज प्रष्ट छैन । बौद्धिक र शारीरिक अपाङ्ग छिन् छ वर्षीया बालिका शोभा श्रेष्ठ ।
उनलाई कहिले अस्पतालमा ल्याइएको हो पत्तो छैन । ती बालिका अन्य बिरामीका आफन्तसँग लुटपुटिन्छिन् । कहिले स्टाफ नर्ससँग त कहिले सुरक्षा गार्डसँग खेल्छिन् । सबैले बेलाबेला एउटा ह्विल चेयरमा राखेर अस्पतालका विभिन्न क्षेत्रमा घुमाउनु नै उनको दिनचर्या बनेको छ ।
हाँस्छिन्, खेल्छिन्, रमाउँछिन् । अबोध बालिकाको बोली बुझिँदैन तर पनि सबैको प्यारी भएकी छिन् । हँसिली र फरासिली भएकीले भेट्ने जोकोहीको मन पगाल्छिन् उनले ।
भरतपुर अस्पताल अर्थोपेडिक वार्डको ४० नं शैयामा तीन सातादेखि बालिका श्रेष्ठको दैनिकी यस्तै भइरहेको छ । उनलाई खेलाउँदै गरेकी बिरामी कुरुवा आरती कोइराला भन्छिन्, ‘शोभाको रेखदेख अहिले मैले नै गरिरहेकी छु ।’
आफ्नो आमा राममायाको खुट्टाको उपचारका लागि भरतपुर अस्पताल आएकी आरतीले आमालाई अर्थोपेडिकमा ल्याएकै बेला ती अबोध बालिका शोभालाई पनि अर्को बेडमा ल्याइएको थियो । आरतीले बेडमा एक्लो बालिका देखेपछि उनकोे मन थामिएन । आरती आफ्नो आमासँगै ती बालिका शोभाको पनि हेरचाहमा सक्रिय हुन थालिन् ।
‘अहिले त आफैँ दिदीजस्तै भएकी छु’ आरतीले भनिन्, ‘उसले मलाई बोलाउँदा म गइनँ भने रुन्छे । अब छाडेर जाउँ कसरी जाउँ, लैजाउँ शारीरिक तथा बौद्धिक अपाङ्ग स्याहार्न गाह्रो छ ।’
ती बालिका शोभालाई गत साउन ९ गते भरतपुर अस्पतालमा उनका बुबाले भर्ना गरेका थिए । चितवनको कविलास–३ दासढुङ्गा घर भएको अस्पतालको अभिलेखमा उल्लेख छ । उनका बुबाको नाम राजु श्रेष्ठ भनेर लेखिएको छ ।
अस्पतालमा ल्याएको केहीदिनपछि उनलाई छाडेर बुबा भनिएका व्यक्ति बेपत्ता भए । पछि उनको ठेगाना खोज्दै जाँदा त्यो ठेगाना नक्कली राखिएको अस्पतालका कर्मचारी बताउँछन् ।
बुबाले छाडेर गएपछि उनी अहिले यहाँ बेवारिसे भए पनि आफूहरूले अभिभावकत्वमा कमी हुन नदिइएको अर्थोविभागकी स्टाफ नर्स दीपा महतो बताउँछिन् ।
अहिले उनी बेवारिसे भएकाले केही गर्न सकिन्छ कि भनेर मानव सेवा आश्रमसँग समन्वय भइरहेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट रुद्र मरासिनीको भनाइ छ । ‘बेवारिसे बनेकाले अब उनको उपचार अस्पतालले गरे पनि लालनपालन गर्ने व्यक्ति वा संस्थाको खाँचो छ’ मरासिनीले भने ।
बालिका स्याहार्न कुनै आपत्ति नहुने तर सामाजिक अपराध गर्ने निष्ठुरी बुबाआमामाथि कानुनी कारबाही आवश्यक भएको आश्रमका अभिभावक केशव अधिकारीले बताए । तस्बिर : नारायण ढुंगाना
प्रतिक्रिया