मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

विक्रमबाबा मेलामा पर्यटक बढ्दै

विक्रमबाबा मेलामा पर्यटक बढ्दै


कसरा, चितवन । चितवनको सौराहाका विक्रम चौधरी यहाँको चर्चित विक्रमबाबासँग भाकल गरेपछि जन्मिए । त्यसैले उनको नाम विक्रम चौधरी भयो ।
 
विक्रमबाबाकै मन्दिरमा लामो समयसम्म जिउन पाओस् भनेर भाकल गरेपछि जन्मिएकाले उनको बुबाको नाम जिएन चौधरी रहन पुग्यो । थारू भाषामा ‘जिएन’ भनेको ‘जिउनु’ हो ।
 
‘भाकल गरेपछि त्यहीँको नाम राख्नुपर्छ भनेर राखेको’, विक्रमकी आमा सिखनी चौधरी भन्छिन् ‘हाम्रो चलन नै हो, सबैले यस्तै गर्छन् ।’
 
चितवनको गङ्गानगरका ८० वर्षीय वृद्ध जिएन महतो जन्मनुअघि दुई बच्चा बिते । त्यसपछि परिवारले विक्रमबाबाको पूजा गरेर फर्किएको अर्काे वर्ष उनको जन्म भयो । त्यसकारण बुबाआमाले आफ्नो नाम जिएन राखिदिएको महतो बताउँछन् ।
 
विक्रमबाबासँग लामो समय जिउन पाओस् भनेर भाकल गरेपछि छोरा जन्मिए जिएन र छोरी भए जिएनी नाम राख्ने चलन चितवनका आदिवासी थारुको छ । कुनै पनि बच्चा नभएका बेला बच्चा जन्मियोस् भनेर भाकलपछि जन्मेकालाई भने छोरा भए विक्रम र छोरी भए विक्रमिया नाम राख्ने चलन रहेको गङ्गानगर माविका प्राचार्यसमेत रहेका थारू अगुवा सन्तराम महतो बताउँछन् ।
 
आदिवासी थारु समुदायले मान्ने गुरौ (बाबा)को नाम हो विक्रमबाबा । चितवन राष्ट्रिय निकुञ्जभित्रको जङ्गलमा सालको फेदमा विक्रमबाबाको पूजा हुन्छ । सालको रुखको फेदमा माटोको थान बनाइएको छ । काठमा घन्टी र त्रिशूल राखिएको ध्वजापताकाले सजिसजाउ छ र त्यसैमा पूजा हुन्छ ।
 
भरतपुरबाट करिब २० किमी दक्षिण पश्चिममा चितवन निकुञ्जको मुख्य कार्यालय कसरा छ । त्यसको आडैमा घडियाल प्रजनन् केन्द्रको नजिक लाग्ने एकमात्र र सबैभन्दा लामो समयसम्म चल्ने विक्रमबाबाको मेला अहिले जारी छ । मेला भर्नेहरूका लागि चितवनको भरतपुरबाटै बसको समेत व्यवस्था गरिएको छ ।
 
पर्यटकीय महत्व छुट्टै छ
 
आदिवासी थारुहरूको संस्कृतिसँग जोडिएको यो मेला अहिले सबै धर्मावलम्बीको आकर्षण बन्दै गएकाले हरेक वर्ष धार्मिक पर्यटक बढ्दै आएको मेला व्यवस्थापन समितिले जनाएको छ । मेलामा जान दर्शनार्थीको सहजताका लागि भरतपुरबाट गाडी र राप्ती नदीमा डुङ्गाको समेत व्यवस्था गरिएको छ ।
 
परापूर्वकालमा भारतको सोहद्रा भन्ने स्थानमा विक्रमबाबाले सिद्ध प्राप्त गरी अलप भएको जनविश्वास छ । थारुका गुरू सुख्खड गुरौ र केवल महतोलाई राति सपनामा आएर ‘म जङ्गलमा बस्छु, मसँग मागे हरेक कुरा पूरा हुन्छ’ भनेपछि सोहद्रा भन्ने स्थानबाट केही माटो ल्याएर हालको चितवन निकुञ्जको जङ्गलमा सालको फेदमा राखिएपछि पूजा हुन थालेको ८० वर्षका वृद्ध जियन महतो बताउँछन् । सोहद्रामा पनि यही समयमा मेला लाग्छ ।
 
जङ्गलमै सिद्ध प्राप्त गरेको र जङ्गलमै बास दिनू भनेर भनेकाले जङ्गलमा पूजा हुन थालेको उनको भनाइ छ । यहाँ थारू समुदायमा लामो समय बिरामी भएकालाई निको होस् भनेर पनि भाकल गर्ने चलन छ ।
 
अर्काथरीका अनुसार चितवनको माडीमा जन्मिएका र बिरामीलाई जडीबुटी र मन्त्रले ठीक पार्ने र सन्तान नभएकालाई सन्तान दिने क्षमता उनको थियो । अहिले पूजा हुँदैआएको स्थानमा उनको देश त्याग भएकाले सोही क्षेत्रमा पूजा गर्न थालिएको हो ।
 
सुरूमा भाकल गर्न आउँदा परेवा उडाउने चलन छ । भाकल पूरा भएपछि बलि दिने र बलि दिए पनि घर लैजान नहुने चलन थारुहरूको रहेको थारु कल्याणकारिणी सभा क्षेत्र नं ५ का सभापति विफल महतो बताउँछन् ।
 
आफूले पनि सन्तान नभएपछि भाकल गर्दा सन्तान भएकाले आफूजस्तै धेरै थारुलाई यसमा विश्वास रहेको उनी बताउँछन् । आदिवासी थारुको मौलिक परम्परा रहेको विक्रमबाबा पूजा अहिले हरेक जातजातिका लागि समेत रुचिको विषय बनेको मेला व्यवस्थापन समितिका सदस्य रामराज तिवारीले बताए ।
 
मेला चैतको औँसीबाट सुरु भई पूर्णिमासम्म १५ दिन चल्नेछ । यो पटक चैत २५ देखि सुरू भयो र वैशाख १० गते सम्पन्न हुँदैछ ।
 
तिवारीका अनुसार बर्सेनि यहाँ एक लाख बढी भक्तजनले मेला भर्ने गरेका छन् । अघिपछि प्रवेश निषेध रहेको निकुञ्जमा यो मेला भर्ने भक्तजनका लागि १५ दिन प्रवेशमा खुल्ला गर्ने गरिएको छ ।
 
चितवनको पटिहानी र जगतपुर पछिल्लो समयमा पर्यटकीय क्षेत्र बन्दै गइरहेका सन्दर्भमा यो मेलाले आकर्षण थपिदिएको स्थानीयवासी संरक्षणकर्मी अपिल घिमिरे बताउँछन् । केरुङ्गा मध्यवर्ती उपभोतmा समिति जगतपुर र पटिहानी उपभोतmा समितिको संयुतm आयोजनामा पछिल्ला केही दशकदेखि यो पूजालाई मेलाकै रूप दिएर अघि बढाइएको छ ।
 
जगतपुरस्थित घैलाघारीमा सुरू भएको मेलामा राप्ती नदीमा डुङ्गा सयर, निकुञ्जमा एकसिङ्गे गैँडा, घडियाल गोही तथा अन्य वन्यजन्तुको अवलोकन, सूर्यास्तको दृश्य, थारुहरूको मौलिक खाना तथा संस्कृति मुख्य आकर्षण रहेका छन् । रासस