मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

मधेसको भूभाग छुट्टाउँदैमा राष्ट्र विभाजन हुँदैन : निधी

मधेसको भूभाग छुट्टाउँदैमा राष्ट्र विभाजन हुँदैन : निधी


चितवन, २ पुस । नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधीले मधेसको भूभाग छुट्टाएर प्रदेश निर्माण गर्दैमा राष्ट्र विभाजन हुन्छ भनेर डराउन नपर्ने बताएका छन् । नेपाल प्रेस युनियन चितवनले बुधबार भरतपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता निधीले मधेस केन्द्रित दलहरुले उठाए जसरी नै मधेसको भूभागको छुट्टै प्रदेश बनाउनुपर्नेमा जोड दिए । 
 
‘मधेसको भूभाग छुट्टाएर छुट्टै प्रदेश बनाउँदैमा राष्ट्रिय एकतामा आँच आउँदैन”, निधीले भने ‘मधेस प्रदेसका सवालमा कांग्रेस स्पष्ट छ । तर सरकारको नेतृत्व गरिरहेको दल एमालेले नबुझ्दा समस्या जटिल भइरहेको हो ।’ मधेसको क्षेत्र समेटेर छुट्टै प्रदेश बनाउँदा राष्ट्र विखण्डन हुन सक्छ भन्ने सोच गलत भएको टिप्पणी उनको थियो ।
 
‘मधेसको क्षेत्र समेटेर छुट्टै प्रदेश बनाउँदा राष्ट्र विखण्डन हुन सक्छ भन्ने सोच अवैज्ञानिक हो’, उनको भनाइ छ, ‘मधेश केन्द्रित दलहरुले भनेजसरी अहिले नै प्रदेशको सिमाना छुट्टाई हाल्नुपर्छ भन्ने कुरा पनि गलत हो ।’ प्रदेशको सिमाना र संख्या समय सापेक्ष परिवर्तन भइरहन सक्ने उनको तर्क थियो । ‘भारतमा प्रदेश लागू हुँदा गरिएको सिमाङ्कन अहिले लागू छैन । त्यो बेला भएको प्रदेशको तुलनामा अहिले दोब्बर प्रदेश भइसकेको छ । यसबाट पनि हामीले के बुझ्नुपर्छ भने प्रदेशको सिमाना र संख्या समय सापेक्ष परिवर्तन हुँदै जान्छ भन्ने कुरा बुझ्न जरूरी छ’, उनले भने ।
 
कांग्रेसकै सहमतिमा संसदमा दर्ता गराइएको संविधान सशोधनको विधेयक पारित भएमा मधेस केन्द्रित दलहरुले उठाएका अधिकांश सवालहरु सम्बोधन हुने दाबी पनि उनको छ । ‘मधेस केन्द्रित दलहरुले उठाएका भनेका जनसंख्याका आधारमा निर्वाचन क्षेत्र र राज्यका अङ्गहरुमा समानुपातिक समावेशीको सिद्धान्तका आधारमा प्रतिनिधित्वको सवाल यो अहिलेको संविधान सशोधनको मुद्दाले समेट्छ’, उनले भने ।
 
उनले मधेश केन्द्रित दलहरुको अहिले नै सिमाङ्कन छुट्याउने विषयमा भइरहेको बहस भने निश्कर्षमा पुग्न नसक्ने उनको भनाइ छ । ‘सिमाङ्कनको कुरा तत्काल सम्भव छैन । विज्ञहरुको सुझाव र सहमति खोज्न जरूरी छ’, उनले भने । फरक प्रसङ्गमा उनले कांग्रेसभित्रको एकता कायम देखाउन भावी नेतृत्व सर्वसम्वत् गर्नुपर्ने धारणा पनि राखेका थिए ।
 
‘कांग्रेसभित्रको भावनात्मक एकताका लागि भावी नेतृत्वमा सुशील कोइरालाले शेरबहादुर देउवालाई समर्थन गर्नुपर्छ’, उनले थपे, ‘फरक धारकै भए पनि २०१७ सालपछि बीपी कोइरालाले पार्टीको नेतृत्व सुवर्ण समशेरलाई सुम्पिएको र पछि सुवर्ण शमशेरले पनि आफू निधन हुनुपूर्व फेरि बीपी कोइरालालाई नै नेतृत्व सुम्पिएको एवं बीपी कोइरालाले कृष्णप्रसाद भट्टराई र भट्टराईले गिरिजाप्रसाद कोइरालालाई नेतृत्व हस्तान्तरण गरेको स्मरण गर्दै कांग्रेसको एतिहासिक संस्कारको निरन्तरताका लागि अहिले सुशीलजीले शेरबहादुरजीलाई भावी नेतृत्वमा सहयोग गर्नुपर्छ ।’
 
उनले कोइराला र देउवाले नयाँ नेतृत्वका लागि सहमतिमा पदाधिकारीदेखि सदस्यसम्म चयन गर्नुपर्ने धारणा राख्दै भावनात्मक रुपमा एक भएको कांग्रेसले मात्रै अन्य दलहरुसँग प्रतिस्पर्धा गर्न सक्ने धारणा पनि राखेका थिए ।