मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्य / विचित्र संसार   

रत्ननगर अस्पतालमा सोलारबाटै डाइलाइसिस सेवा

रत्ननगर अस्पतालमा सोलारबाटै डाइलाइसिस सेवा


चितवन, १७ मंसिर । चितवनको रत्ननगरमा रहेको रत्ननगर अस्पतालमा सोलार उर्जाबाट साउथ एसियामै पहिलोपटक डाइलासिस मेसिन सञ्चालनमा ल्याइएको छ । बढ्दो लोडसेडिङका कारण डाइलासिस गर्दा समस्या नहोस् भनेर सोलार उर्जाबाट डाइलासिस मेसिन सञ्चालनमा ल्याइएको हो ।

दुई वर्षदेखि रत्ननगर अस्पतालमा बिरामीको सेवा गर्दै आएकी शान्ति मेड नेपालकी अध्यक्ष छाला रोग विशेषज्ञ डा।रुथ गोनसेथको पहलमा अस्पतालमा सोलार उर्जाबाट डाइलासिस मेसिन सञ्चालन गरिएको अस्पतालले जनाएको छ ।

राष्ट्रिय मृगौला उपचार केन्द्र काठमाडौं र रत्ननगर अस्पतालको साझेदारीमा डाइलासिस मेसिनसहितको मृगौला उपचार केन्द्र सञ्चालनमा ल्याइएको छ । पाँच वटा अत्याधुनिक डाइलासिस मेसिन राखेर रत्ननगरमा मंगलबारदेखि मृगौला रोगीको उपचार सुरू गरिएको छ ।

डाइलासिस मेसिन चलाउनकै लागि शान्ति मेड नेपालको ६२ लाख र बैकल्पिक उर्जा प्रबर्धन केन्द्रको ३३ लाख गरी ९५ लाखको लागतमा अस्पतालमा २१।६ केभीको सोलार उर्जा जडान गरिएको छ । नेपालमा अहिलेसम्म कुनै पनि सरकारी तथा निजी अस्पतालले सोलार उर्जाबाट डाइलासिस मेसिन सञ्चालन गरेका छैनन् ।

‘अब लोडसेडिङले हाम्रो डाइलासिस सेवा प्रभावित हुँदैन’, अस्पताल विकास समितिका सदस्य देवेन्द्रकुमार श्रेष्ठले भने, ‘डाइलासिस मेसिन र पुरै अस्पताललाई पुग्ने क्षमताको सोलार उर्जा हामीले जडान गरेका छौ’ । रत्ननगर अस्पतालले सोलार उर्जाबाट डाइलासिस मेसिन चलाउन सूरू गरेपछि सहयोगी राष्ट्रिय मृगौला उपचार केन्द्र काठमाडौंले त्यसलाई उदाहरणीय काम भनेको छ ।

‘यो साउथ एसियाकै मेडिकल क्षेत्रमा उदाहरणीय काम हो’, राष्ट्रिय मृगौला उपचार केन्द्र काठमाडौंका निर्देशक वरिष्ठ मृगौला रोग विशेषज्ञ डा।ऋषिकुमार काफ्ले भने, ‘यहाँको प्रयास सफल भयो भने सरकारलाई नै एउटा गतिलो पाठ हुनेछ । २१।६ केभी सोलार उर्जाले अहिले पूरा अस्पताल सञ्चालनमा रहेको छ ।’

‘बिजुली नभइ डाइलासिस मेसिन सञ्चालनमा कठिनाइ हुन्छ भन्ने सबैको बुझाइ रहेको छ’, निर्देशक काफ्लेले भने, ‘हामी यसमा सफल भयौैं भने सरकारलाई बिजुली नभए पनि डाइलासिस सेवा दिन सकिँदो रहेछ भन्ने सन्देश दिन सकिन्छ’ ।

सोलारबाट डाइलासिस मेसिन चलाउने योजना डा। रुथ गोनसेथले अधि सारेकी हुन् । छालाको बिरामीको राम्रो उपचार गरेर जिल्लामा चर्चामा आएकी रुथले नेपालमा बढ्दो लोडसेडिङको समस्या देखेर सोलारबाट डाइलासिस मेसिन चलाउन सोच बनाएकी हुन् ।

राष्ट्रिय मृगौला उपचार केन्द्र काठमाडौंले डा रुथकै आग्रहमा रत्ननगर अस्पतालमा मृगौला उपचार केन्द्र सञ्चालनमा ल्याएको हो । राष्ट्रिय मृगौला उपचार केन्द्रलाई डाक्टर रुथलेनै विदेशी संस्थाबाट अनुदानमा डाइलासिस मेसिन उपलब्ध गराउन सहयोग गर्दै आएकी छन् ।