मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

चितवनमा इन्धनको व्यापक कालोबजारी बढ्यो

चितवनमा इन्धनको व्यापक कालोबजारी बढ्यो


चितवन । आयल निगमबाट खरिद गरी ल्याएको पेट्रोल लुकाएको आरोपमा भरतपुरको हाकिमचोकमा रहेको अष्टभुजा पेट्रोल पम्पलाई वाणिज्य विभागले सिल गरेको छ । इन्धन कालोबजारी गर्ने नियतले आयात गरिएको सबै पेट्रोल नबेचेको विभागको दाबी छ ।   
 
‘पम्पले सर्वसाधारणलाई ६ हजार लिटर पेट्रोल बाँड्नुपर्ने थियो, तर ९०९ लिटर बाँकी रहँदैमा यो पम्पले पेट्रोल सकियो भनेर बिक्रीवितरण रोक्यो’, विभागका निर्देशक हरिनारायण बेल्वासेले पम्पमा सिल भएपछि  सञ्चारकर्मीसँग भने, ‘यो सरासर कालोबजारी गर्ने उद्देश्य हो ।’
 
विराटनगरबाट काठमाडाँै लैजान लागेको डिजेल मुग्लिनमा ट्याकरबाटै झिकेर बिक्रीवितरण गरेका बेला इलाका प्रहरी कार्यालय मुग्लिनले चालकसहित डिजल खरिदकर्तालाई पक्राउ ग¥यो । ना ४ ख ३३५२ नम्बरको ट्यांकर चालकले डिजेल बिक्री गरेपछि उनी प्रहरीको फन्दामा परेका हुन् । उनले बजार मूल्यभन्दा बढी मूल्य लिएर डिजेल बिक्री गरेको प्रहरीको भनाइ छ । चालक जिवस माझी र डिजल खरिदकर्ता श्याम थकाली ६०० सय लिटर डिजेलसहित पक्राउ परेपछि अहिले प्रहरी हिरासतमा छन् । 
 
हवाई इन्धन कालोबजारी गरी विक्रीवितरण गरेको अभियोगमा चितवन प्रहरीले इन्धन बोक्ने ट्याकंरका चालकसहित चारलाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरी निरीक्षक सत्यनारायण थापाको नेतृत्वको प्रहरी गस्ती टोलीले नारायणगढको हार्डवयर व्यापारीको घरमा सोमबार राति हवाइ इन्धन झार्दै गरेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिइएको हो । उनीहरुसँगै प्रहरीले झण्डै २० हजार लिटर हवाइ इन्धनसहितको ना २ ख ४३६५ नम्वरको ट्यांकर बरामद गरेको छ ।
 
माथिका केही प्रतिनिधि घटनामात्रै हुन् । तराई मधेसमा जारी आन्दोलन र त्यसपछि भारतले गरेको अघोषित नाकाबन्दीका कारण इन्धन अभावको मौका छोपेर चितवनमा पनि यसको कालोबजारी सुरू हुन थालेको छ । ८० रूपैयाँ  लिटर पर्ने डिजेल २०० रूपैयाँसम्म र १०४ रूपैयाँ लिटर पर्ने पेट्रोल ३५० रूपैयाँसम्म चितवनका विभिन्न स्थानहरुमा खुलेयाम विक्री भएको भेटिन्छन् ।
 
उपभोक्ता हित संरक्षण मञ्च चितवनका पूर्वअध्यक्ष श्रीप्रसाद दवाडीले इन्धनको कालोबजारी खुलेआमा भएको बताए । तर केही घटनामा प्रहरीको ध्यान पुगेपनि धेरै जसोमा प्रहरी चुकेको उनको दाबी छ । 
 
‘प्रत्यक्ष अप्रत्यक्ष अहिले चितवनमा डिजेल पेट्रोललगाएतका वस्तुहरुको कालोबजारी भएको छ’, उनले थपे, ‘यसको नियन्त्रण गर्न सरोकार निकायहरुको ध्यान जति पुग्नुपर्ने हो पुग्न सकेको छैन । पेट्रोल पम्पहरुले त आफ्नो मिटर नै बिगारेर कम तेल देखाउने गरेको पाइन्छ । अष्ट्रभूजा पेट्रोल पम्पको समस्या पनि यही हो ।’ 
 
कोही कसैले उजुरी गरिदिए प्रहरी पुग्ने तर आँफै खोजेर पक्राउ नगरेको उनको बुझाइ छ । जिल्लामा सुरक्षा निकायकै समन्वयमा पेट्रोल पम्पहरुले ल्याएका इन्धन नै कालोबजारीसम्म जाने गरेको बताइन्छ ।  
 
नाकाबन्दी यता ५ लाख ६३ हजार लिटर डिजेल र २ लाख १५ हजार लिटर पेट्रोल आयल निगमले चितवनका विभिन्न पेट्रोल पम्पहरुलाई उपलब्ध गराएको जिल्ला प्रशासन कार्यालय चितवनको तथ्याङ्क छ । यसरी आएका इन्धन सर्वसाधरणसम्म निकै कम पुग्ने गरेको स्थानीयको आरोप छ ।
 
‘सर्वसाधरणलाई इन्धन दिने भन्दै घण्टौँ लाइन लाइन्छ तर पछि आएको इन्धनको आधा पनि वितरण गरिदैन । स्थानीय प्रशासनले अत्यावश्यक सेवाका लागि भनेर राख्ने गरेको छ’, भरतपुरका एक स्थानीयको गुनासो छ ‘यसरी राखिएको इन्धन स्थानीय प्रशासनले थोरै प्रयोग गर्छ बाँकी व्यापारीले विक्री गर्ने हुन्  ।’
 
चितवनका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले चितवन जिल्लामा इन्धनको कालोबजारी भइरहेको स्वीकारेका छन् । 
 
‘बाहिर प्रचलित मूल्यभन्दा बढीमा इन्धन खरिद विक्री भइरहेको भन्ने सुन्नमा आएको छ । प्रहरीले निगरानी गरिरहेको छ’ उनले भने, ‘ग्यास, पेट्रोल, डिजेललगायतका वस्तुहरु कालोबजारी गर्ने जोकोही कारबाहीको दायराबाट उम्कन सक्दैनन् ।’