मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

ग्यास, पेट्रोलको लाइनमा नबस्न आयल निगमको आग्रह

ग्यास, पेट्रोलको लाइनमा नबस्न आयल निगमको आग्रह


काठमाडौँ । पाँच दिनदेखि नेपाल–भारत नाकाबाट इन्धन आयात प्रायःठप्प भएको र नेपाल आयल निगमको मौज्दात पनि सकिएकाले आयल निगमबाट तत्कालका लागि कुनै पनि इन्धन उपलब्ध नहुने भएको छ । 
 
आयल निगमले आज पत्रकार सम्मेलन गरी इन्धन आयात गर्न नसकिएको र निरन्तर प्रयास गर्दा पनि उपयुक्त वैकल्पिक उपायसमेत पहिल्याउन नसकिएकाले उपभोक्तालाई तत्काल इन्धन उपलब्ध गराउन नसकिने भएको जनाएको छ ।
 
निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले भन्नुभयो, “हामीले गरेको गृह कार्य पर्याप्त देखिएन, वैकल्पिक उपायले काम गर्न सकेकै छैन, त्यसैले तत्कालका लागि कुनै पनि इन्धन सहज हुन सकेन ।”
 
उहाँले सरकारले कुनै न कुनै कम्पनीलाई मूल्यसहित इन्धन आयात गर्नका लागि नदिँदासम्म आयात सहज हुन नसकेको उल्लेख गर्दै माथिल्लोस्तरबाटै समस्याको समाधान गरिनुपर्नेमा जोड दिनुभयो ।
 
निर्देशक भन्नुभयो, “पेट्रोलियम पदार्थको आयातमा विकल्पका रुपमा चीनको नाका प्रयोग गरिए पनि ग्यासमा त्यसो गर्न नसकिएन, हामीले नतिजा देखाउन सकेनौँ, निगमको सूचना नआउँदासम्म लाइन नबस्नुहोला ।”
 
निगमले बङ्गलादेशबाट ग्यास आयात गर्ने तयारी गरे पनि सफल हुन सकेको छैन । इन्धन आयातका लागि निगमले आह्वान गरेको आशयमा २२ वटा कम्पनी तथा संस्थाको निवेदन परेको थियो ।
 
पेट्रोलियम पदार्थ आयात गर्नका लागि ठूलो रकम आवश्यकता पर्ने भएकाले निजी क्षेत्रले तत्काल ल्याउन सक्ने अवस्था नदेखिएको निगमका निर्देशक खड्काले बताउनुभयो । 
 
निगमका अनुसार नेपाल–भारत नाकामा ६६ ट्याङ्कर पेट्रोल, २५१ ट्याङ्कर डिजेल, चार ट्याङ्कर मट्टितेल र ३५१ बुलेट ग्यास अड्किएको छ । केही दिनका लागि सुरक्षा तथा विशेष कार्यका लागि पेट्रोलियम पदार्थ उपलब्ध गराउन सकिने निगमले जनाएको छ । 
 
हवाई इन्धन पनि मागअनुसारको आपूर्ति गर्न नसकिएकाले आन्तरिक उडान कटौती गरिएको छ । चीनले उपलब्ध गराउन लागेको एक हजार ३०० किलोलिटर पेट्रोलमध्ये ६५५ किलोलिटर नेपाल आइसकेको छ । 
 
निगमले चीनबाट व्यापारिकरुपमा आयात गर्ने प्रक्रिया अगाडि बढाएको छ । निगमले सङ्कटको समयमा जनताको चाहना प्रयास गर्दा कुनै पनि अनियमितता नगरेको निर्देशक खड्काले दाबी गर्नुभयो । रासस