मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्य / विचित्र संसार   

विराटनगरका अस्पतालको अति आवश्यक सेवा प्रभावित

विराटनगरका अस्पतालको अति आवश्यक सेवा प्रभावित


पथरी (मोरङ) । भारतले लगाएको अघोषित नाकाबन्दी खोलेको बताइए पनि जोगवनी भन्सारबाट पेट्रोलियम पदार्थको सहज आपूर्ति नहुँदा विराटनगरमा सञ्चालित एक दर्जन ठूला अस्पतालमा इन्धनको अभाव भएको छ ।

विराटनगर– ५ स्थित नोबेल अस्पतालमा इन्धनको अभावका कारण अति आवश्यक सेवा प्रभावित भएको अस्पताल प्रशासनले जनाएको छ ।

नोबेल अस्पतालका निर्देशक नारायण दाहालका अनुसार दैनिक दुई सय लिटर डिजेलबाट जेनेरेटर चलाई दुई घन्टासम्म सेवा सञ्चालन गरे पनि अति आवश्यक सेवाहरू शल्यक्रिया, आइसियु, एनआइसियु, सिसियु, हेमोडायलसिस, एक्स–रे, भिडियो एक्स–रे, इसिजी, ल्याबलगायतका सेवा प्रभावित भएका छन् ।

निर्देशक दाहालका अनुसार दैनिक सेवाहरू नियमित रूपमा सञ्चालन गर्नका लागि आठ सय लिटर डिजेल आवश्यक रहेको छ ।

त्यस्तै दैनिक यातायात सञ्चालन हुन नसक्दा विराटनगर– १० स्थित कोसी अञ्चल अस्पतालमा अक्सिजन ग्यासको अभाव भएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रोशन पोखरेलका अनुसार अस्पतालका धेरै बिरामीलाई अक्सिजनको आवश्यक पर्ने भएकाले पर्याप्त अक्सिजन नहुँदा अस्पताललाई समस्या परेको छ । मेसु पोखरेलले भन्नुभयो – “जिल्ला प्रशासन कार्यालय मोरङको सिफारिसबाट दिएको डिजेलले पुगिरहेको छ तर अक्सिजन ग्यासको अभाव खड्किएको छ ।”

त्यसैगरी विराटनगर– ९ स्थित गोल्डेन अस्पतालमा समेत डिजेल अभावले अति आवश्यक सेवा प्रवाह गर्न समस्या भएको सञ्चालकले बताएका छन् । अस्पतालका सञ्चालक सनातन मण्डलका अनुसार जिल्ला प्रशासन कार्यालय मोरङले हप्तामा तीन सय लिटर डिजेलमात्र उपलब्ध गराएको छ । मण्डलले भन्नुभयो – “अस्पतालमा हप्ताको सात सय लिटर डिजेल आवश्यक भएको छ ।”

त्यसैगरी विराटनगर– १४ स्थित न्युरो अस्पतालमा पनि इन्धनको अभवले नियमित सेवा प्रवाहमा समस्या भएको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालका कार्यकारी अधिकृत रञ्जीतराज बस्नेतका अनुसार प्रशासनले दैनिक ३० लिटर डिजेल उपलब्ध गराउने गरेको छ तर सो परिमाणको डिजेलबाट न्युरोले एक घन्टा मात्र सेवा प्रवाह गर्न सकेको जनाएको छ ।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले अति आवश्यक सेवाका लागि मात्रै डिजेल उपलब्ध गराएको बताउनुभयो । उहाँले अस्पतालको पूरै प्लान्ट चलाउने डिजेल उपलब्ध गराउन नसक्ने जानकारी दिनुभयो । रासस