गोरखा । गुम्दा गाविस–१ सिङ्लाकी कान्छी गुरुङलाई सुत्केरी बेथाले च्यापेपछि गाउँलेले स्वास्थ्यकर्मीलाई घरमा बोलाए । अहेब अञ्जु अधिकारी दौडँदै कान्छीको घरमा आइपुग्नुभयो । छिनमै कान्छी सुत्केरी हुनुभयो । आमा–बच्चाको स्वास्थ्य अवस्था राम्रो छ भन्दै अहेब अधिकारी डेरा फर्कनुभयो ।
बाजेको पालादेखि चलेको चलनलाई निरन्तरता दिएका गाउँलेले सुत्केरी छोएको, लसपस गरेको भन्दै अहेब अधिकारीलाई डेराभित्र बस्न रोके । सुत्केरीलाई छोएपछि घरभित्र पस्न नहुने भन्ने अन्धविश्वास कायमै रहँदा अहेब अधिकारी तीन दिनसम्म पिँढीमा सुत्नुप¥यो । अधिकारीलाई सघाएकी अर्की अहेब मन्दानी गुरुङले पिँढीमा सुत्नुपर्ने डरले कान्छीलाई छुनुभएन, टाढै बस्नुभयो ।
“सुत्केरी छोयो भने घरबाहिरै बास हुन्छ,” उहाँले भन्नुभयो – “घरबाहिर सुत्नुपर्दाको पीडा सम्झेर मैले कान्छीलाई छोइनँ । अञ्जु मेडमले सुत्केरी गराउनुभयो । टाढाबाटै मैले सहयोग गरेँ ।”
अहेब अधिकारी सुत्केरी छोएको तीन दिनसम्म घरबेटीको पिँढीमा बास बसेको गुरुङले बताउनुभयो । घरबेटी कडा परे भने स्वास्थ्यकर्मीहरू हेल्थपोस्टमै बास बस्न बाध्य हुन्छन् ।
गुम्दाको सिङ्लामा मात्रै होइन, उत्तरी गोरखाका अधिकांश गाविसमा यस्तो परम्पराले जरो गाडेको छ । उहिया, लापु, लाप्राक गाविसमा पनि सुत्केरी छोएका अन्य महिला तथा स्वास्थ्यकर्मी घरबाहिरै बस्नुपर्ने बाध्यता छ । लापु स्वास्थ्य चौकीकी अहेब मनमायाँ गुरुङका अनुसार सुत्केरीलाई छोएर घरभित्र गएमा कुलदेउता रिसाउने, देउताले पिर्ने अन्धविश्वास कायम छ ।
“सुत्केरीलाई छोएमा घरबाहिर बस्नुपर्ने पहिलेदेखिकै परम्परा हो,” उहाँले भन्नुभयो – “स्वर सुक्ने, आँखा नदेख्ने, घाँटी पोल्ने रोग लाग्ने अन्धविश्वास रहेकाले सुत्केरी छुनेहरू घरभित्र पस्दैनन् ।” एकजनाले मात्रै सुत्केरीको स्याहार गर्ने चलन रहेको छ । गाउँमा बर्थिङ सेन्टर नभएकाले स्वास्थ्यकर्मीले घर घर पुगेर सुत्केरी गराउनुपर्ने बाध्यता छ ।
“सुत्केरी अवस्थामा झन् सहयोग पो गर्नुपर्छ, सुत्केरी छोएर घरभित्र बस्दा केही हुँदैन भनेर धेरैलाई भनियो,” उहाँले भन्नुभयो – “एक कानले सुन्ने अर्को कानले उडाउने गर्छन् । अन्धविश्वास तोड्न सकिएन ।” सुत्केरीलाई सहयोग गर्न कोही पनि तयार नहुने भन्दै मन्दानीले दुःखको बेला झन् पीडा थप्ने अन्धविश्वासका पछि गाउँले लागिपरेको दुखेसो पोख्नुभयो ।
“कि हामीलाई नबोलाउनु, होइन भने सुत्केरी छोएकामा उपेक्षा नगर्नुस् भनेका छौँ,” उहाँले भन्नुभयो – “यो अन्धविश्वास तोड्न कारबाहीको नियम ल्याइनुपर्छ ।” गाउँलेले परम्परालाई निरन्तरता दिने बहानामा अन्धविश्वासलाई संरक्षण गरेको उहाँको भनाइ छ । स्वास्थ्य क्षेत्रमा काम गर्दै आएका जिल्ला जनस्वास्थ्य कार्यालय, विभिन्न सरकारी तथा गैरसरकारी सङ्घसंस्थाले जनचेतनाको कार्यक्रम नगरेकामा उहाँको गुनासो छ ।
“अन्धविश्वासले गाउँलाई धरापमा पु¥याएको छ,” उहाँले भन्नुभयो – “सुत्केरीलाई माया गर्नुको सट्टा सहयोग गर्नेलाई पनि अप्ठेरोमा पार्नेमाथि कारबाही हुनुपर्छ ।” भूकम्पले घर भत्केपछि टहरोमा बस्दै आएका सुत्केरी हुने महिलालाई सहयोग गर्ने र सुत्केरी गराउन सहयोग गर्ने स्वास्थ्यकर्मीलाई झन् पीडा भएको छ । रासस
प्रतिक्रिया