स्वास्थ्य / जीवनशैली

अस्पतालमा दुर्गन्ध फैलियो

अस्पतालमा दुर्गन्ध फैलियो


गोरखाबजार- जिल्ला अस्पताल गोरखाको शव गृहभित्र राखिएको बेवारिसे शवले गर्दा अस्पताल क्षेत्र वरपर दुर्गन्ध फैलिएको छ ।
 
तीन दिनदेखि शव गृहभित्र रहेको शव कुहिएर गन्हाएपछि आइतबार अस्पताल क्षेत्र दुर्गन्धित भएको हो । बेवारिसे शव प्रहरीले शव गृहभित्र राखेको थियो ।
 
‘अस्पताल प्रशासनलाई जानकारी नदिई प्रहरीले शव गृहभित्र शव राखेको रहेछ’ जिल्ला अस्पताल गोरखाकी प्रमुख सुधा देवकोटाले भने, ‘स्थानीयले शव गन्हायो भन्दै हटाउन माग गरेपछि मात्रै हामीले थाहा पायौँ ।’ अस्पताल मार्ग, अस्पताल क्षेत्र बाहिर बसोबास गर्दै आएका स्थानीयवासीले शव गन्हाएपछि हटाउन माग गरेका थिए । साथै अस्पताल क्षेत्रका व्यापारीले शव गन्हाएपछि पसल बन्द गर्नुपरेको थियो ।
 
अस्पताल प्रमुख देवकोटाले प्रमुख जिल्ला अधिकारी उद्धवप्रसाद तिमल्सेना, प्रहरी उपरीक्षक अर्जुनचन्द ठकुरीलाई तत्कालै बेवारिसे शवलाई व्यवस्थापन गर्न आग्रह गरेका थिए । ‘गन्हाएको शवलाई तत्कालै व्यवस्थापन गर्नुपर्छ भनेको छु’ देवकोटाले भने । साथै अस्पताल स्रोतका अनुसार शवगृहबाट शव झिकेर अन्त्येष्टिको तयारी गरिएको छ ।
 
केही दिनअघि स्थानीयले निवस्त्र अवस्थामा महिलाको शव भेटेपछि प्रहरीलाई खबर गरेका थिए । शवलाई परीक्षणका लागि जिल्ला अस्पतालको शवगृहमा राखिएको थियो । रासस