विचार / ब्लग

धरहरामा चेपिएकी केटीले पठाएको यो एसएमएस

प्रकाशित |
नेपालमा प्रचलित लोककथा सर्सर्ती पढ्दा कथाको सुरुवात ‘एकादेशमा एउटा राजा थियो, राजाको...भन्ने वाक्यांशबाट सुरु भएको पाइन्छ । तर यो कथा राणाकालका एक चर्चित प्रधानमन्त्री भीमसेन थापाले बनाएको धरहरा ढलेसँगै जोडिएको छ र कपोलकल्पित नभएर वास्तविकतामा आधारित, नेपाली इतिहासकै अविस्मरणीय कथा हो । 
 
प्रधानमन्त्री भीमसेन थापाले सयौँ नेपालीको एउटै मरण स्थान अर्थात चिहान बनोस् भनेर पक्कै बनाएका थिएनन् धरहरा । दुर्भाग्य यस्तै भयो, १२ वैशाखमा करिब १२ बजे कयौँ नेपाली धरहरा ढलेसँगै सदाका लागि ढले । त्यही कथाभित्रको एउटा कथा हो, यो प्रशंसा श्रेष्ठको कथा । जुनबेला धरहरामा सयौँ नेपाली ढलेका थिए । म पनि त्यही धरहरासँगै रहेको होटल निप्पोनमा अघिल्लो साँझ बास बस्न भारतको एक हप्ते भ्रमण सकाएर आएको थिएँ । शनिबार बिहान एक्कासी जमिन हल्लिरहँदा होटेलभित्रै थिएँ । पहिलो झट्का सकियो तब हतारहतार होटलबाट झरेँ र बाहिर आएँ ।
 
बाहिर सुन्धारा वरपर सयौँ मानिसको भिड जम्मा भइसकेको थियो । अलि अगाडि आएर हेर्दा धरहरा तहसनहस भएको देखेँ । मान्छेको कोलाहल हेरिनसक्नुको थियो । त्यही भिडलाई दायाँबायाँ पार्दै धरहरा ढलेतिरै आगाडि बढेँ । त्यहाँ पुगुन्जेल १–२ लाश निकाल्दै गरेको देखेँ । त्यत्तिकैमा एकजना साथीसँग कुरा भयो, ‘हामी पनि उद्धारमा लागौँ ।’ धरहरा ढलेतिर लाग्दानलाग्दै मोबाइलबाट १–२ वटा फोटो खिच्न भ्याएँ । जताततै लाश छरिएका थिए ।
 
हामीले केही गरेनौँ । किनकी हाम्रो योजना जीवित मान्छेको उद्धार पहिले गर्ने थियो । अलि अगाडि बढ्यौँ । धरहराको टुप्पोमा भएको फलामको रेलिङ देख्यौँ । त्यसमुनि ४–५ मानिस च्यापिइरहेको दृष्य बयान गरिनसक्नुको थियो । हामी कति बिचलित नभई उद्धारमा जुट्यौँ । तीमध्ये दुई युवती रेलिङमुनि किचिइरहेका र यथासक्य निकाल्नसके बाँच्ने सम्भावना थियो । कोही इँटका टुक्रा निकाल्न लागे । कोही माटो पन्छाउन लाग्यौँ । थिचिएको मान्छे निस्कने सम्भावना देखिएन । सबै मिलेर रेलिङ माथि तान्यौँ । तर तान्न सकिएन । त्यतिन्जेलसम्ममा नेपाली सेना, प्रहरीको उपस्थिति बाक्लै भइसकेको थियो । उनीहरुलाई डोजर, स्काइभेटर मगाउन अनुरोध ग¥यौँ । हाम्रो उद्धारको प्रयास पनि जारी रह्यो । यत्तिकैमा मेरा आँखा भत्किएको घरको भित्तामा ठोक्किन पुग्यो । एउटा क्यालेन्डर झुन्डिरहेको थियो । त्यही क्यालेन्डर च्यातेर रेलिङले च्यापिएको तर जीवित दुईलाई पालैपालो गरी हम्किन थालेँ । केही समयपछि एक किशोरीको मुखबाट पहिलो शब्द उच्चारण भयो ।

Raju Lama

 
उनले ‘मम्मी, ऐया दुख्यो’ भनिन् । जुन किशोरीले ड्रिम द वल्र्ड अंग्रेजी शब्द लेखिएको टिसर्ट लगाएकी थिइन् । त्यही भत्केको घरको अर्को कुनामा फेरि एक बाक्सा भेटियो । त्यसपछि एक साथीले किशोरीलाई काखमा लिए । त्यही पानीले रुमाल भिजाएर अनुहार पुछिदियौँ । यति गरुन्जेल किशोरी अलि फ्रेस देखिएकी थिइन् । एकछिनपछि स्काइभेटर आइपुग्यो । अब हाम्रो मिसन पूरा हुन्छ भन्नेमा ढुक्क भयौँ । स्काइभेटरको चालक तल झरेर हेर्न र के कसरी तान्ने भन्ने विषयमा छोटो छलफल भयो । रेलिङ माथि उठाउने प्रयास ग¥यौँ । तर सकिएन । तैपनि च्यापिइरहेको दाहिने खुट्टालाई अलि माथि निकालेर जुत्तासम्म फुकालिदिन सक्यौँ । दाहिने खुट्टाको घुँडाभन्दामुनि दुवै हड्डी भाँचिइसकेको रहेछ ।
 
त्यस्तो बेला जबर्जस्त तानेको भए त्यो कदम किशोरीका लागि झनै खतरा हुनसक्थ्यो । आफू पनि स्वास्थ्यकर्मी भएकाले यसबारे सामान्य ज्ञान थियो । अर्कोपटक स्काइभेटरले प्रयास ग¥यौँ, बल्ल रेलिङ अलि माथि उठाउन सकियो । अनि किशोरीलाई त्यो खाडलबाट माथि निकालेँ । उनले मुखबाट अर्को पटक आवाज निकालिन्, ‘ममी दुख्यो ।’ किशोरीलाई स्ट्रेचरमा राखेर एम्बुलेन्समा पु¥यायौँ । फर्केर गइन्जेलसम्म अर्को किशोरीको पनि उद्धार भइसकेको थियो । दिनभर सुन्धारामा उद्धार गर्दै बसेँ । साँझ प¥यो । होटेल सबै बन्द थियो । अब के गर्ने, कहाँ सुत्ने, एकछिन त रणभुल्लमा परेँ । एक छिनपछि होस् आयो कि रंगशाला नजिकै भद्रकालीको आर्मी ब्यारेकमा स्कुल पढ्दाको साथी छ भनेर । अनि गएँ एकजना आर्मीलाई सोधेँ । सुरेश बर्तौलालाई भेटाइदिनु भनेँ ।
 
उनले बोलाएर ल्याए । एकछिन कुरा गरेपछि एउटा कम्मल मागेँ । त्यहीँ खुलाआकाशमुनि सुतेँ । यतिबेला साँझ १०ः३० बजेको थियो । म पहिलेदेखि नै परियोजनामा काम गर्दै हिँड्ने र साइकोथेरापीको विद्यार्थी
भएको नाताले ह्यान्डीक्याप इन्टरनेशनलबाट केही समयका लागि स्वयम्सेवकका रुपमा काम गर्न वीर अस्पतालको ट्रमा सेन्टरमा बस्ने र सेवा गर्ने मौका पाएको थिएँ । त्यतिबेला मलाई अर्कै किसिमको खुल्दुली थियो कि मैले धरहराबाट उद्धार गरेर अस्पताल पठाएको किशोरीलाई पुन सेवा गर्न पाइने भइयो भनेर । केही दिनपछि मेरो ड्युटी ट्रमाबाट शिक्षण अस्पताल महाराजगञ्जमा प¥यो । तैपनि मैले साथीलाई मसँग भएको तस्बिर, भिडियो शेयर गरेर कतै ट्रमाको वार्डतिर छन् भने खबर गर्नु भनेँ । शिक्षण अस्पतालको प्रत्येक वार्डमा ती किशोरीलाई खोजेँ । तर भेट्टाउन सकिनँ । त्यसपछि लाग्यो किशोरी जीवित छैनन् । वास्ता गर्न छाडेँ । तर मोबाइलमा खिचेर राखेका तस्बिर र भिडियो सुरक्षित नै थिए ।
 
ठीक एक महिनापछि जे सोच्न पुगेँ । झुटो सावित भयो । शुक्रबारको अन्नपूर्ण पोष्टमा एउटा समाचार पढेँ । धरहराको एउटा कथा शीर्षकमा । आरबी मैनालीले लेखेका रहेछन् । जहाँ मैले उद्धार गरी अस्पताल पठाएको उही किशारीबारे उल्लेख थियो । स्टोरी पढेँ । साथी सुनिल पोखरेलले मेरो फेसबुकमा अनलाइन लिंक गर्नुभएछ । त्यो अनलाइन न्युज पढेँ । त्यसमा शीर्षक थियो,‘धरहरासंँगै नढलेको एउटा सपना ।’ लेखिएका अधिकांश कुरा ती किशोरीसँग मेल खाएपछि फोटो लिंकमा गएर मसँग भएको फोटो दाँजेर हेरेँ ।
 
फोटो मिलेपछि खुसी लाग्यो । कहाँ कसरी कहिले भेटौँ भइरहेका बेला उनी नर्भिक अस्पतालमा उपचार गरिरहेकी छन् र ठीक हुँदैछन् भन्ने थाहा पाएपछि सोध्दैखोज्दै नर्भिक पुगेँ । ती किशोरी बेडमा पल्टिरहेकी थिइन् । फेरि एकपटक राम्ररी नियालेँ । दाहिने आँखानजिकै ठूलो चोट थियो । त्यो निको हुने अवस्थामा रहेछ । दायाँ खुट्टाको घुँडामुनिको भाग भाँचिएको थियो ।
 
शल्यक्रिया गरेर अत्याधुनिक उपकरण जडान गरिराखेको रहेछ । सबै अवलोकनपछि बल्ल सोधेँ, ‘मलाइ चिन्यौ रु’ किशोरीले ‘नाँइ’ भन्दै टाउको हल्लाइन् । नजिकै रहेकी एक अधवैँशे महिलाले पनि ‘चिन्न सकिएन’ भन्नुभयो । त्यसपछि मुख फोरेँ, ‘तिमीलाई ढलेको धरहराबाट निकालेर अस्पताल पठाउने मान्छे मै हुँ । मेरो नाम राजु लामा हो । घर मकवानपुर फाखेल हो ।’ त्यसपछि सँगै रहेकी किशोरीको आमाले लामो सास तानेर ‘थ्यांक गड’ भन्दै छातीमा हात राखेर ‘तपाईंलाई पनि धेरै धन्यवाद’ भन्दै खुशी व्यक्त गर्नु भयो । किशोरीलाई मसँग भएको भिडियो क्लिप्स देखाएँ । उहाँहरु झन हर्षित हुनुभयो ।
उहाँहरुले व्यक्त गर्नुभएको त्यो खुशीको क्षण शब्दमा व्याख्या गर्न कुनै शब्द पाइनँ । तै पनि १२ वैशाखको मध्यान्हमा जसरी उद्धार गरी पठाएको थिएँ, आज आफ्नै अगाडि हास्दै घरपरिवार, स्कुल, कलेजतिरका सबै कुरा बताइरहँदा आफूलाई भाग्यमानी ठानेँ ।
 
धेरै कुराकानीपछि प्रशंसाले मलाई सोधिन्, ‘म पहिलेजस्तै हिँड्न सक्छु ?’ मैले ‘सकिन्छ तर फिजियोथेरापी नियमित गर्नु भनेँ । सँगै बसेर फोटो खिचियो । योसँगै फोन नम्बर आदान प्रदान भयो र छुट्टिएर आइनपुग्दै एसएमएस आयोः 
I wanna say you a lots of thanks because of you I am alright today and my leg too, you are a savior you handle my leg so carefully so I can walk, I cant express my felling in words because you gave me a new life now I can live my life like before. -Prasansa Shrestha
 

राजु लामा

राजु लामा -

थप »

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया