साहित्य/सिर्जना

‘धित’ समय, समाज र संवेदनाको काव्यात्मक ऐना

‘धित’ समय, समाज र संवेदनाको काव्यात्मक ऐना

- मालिका केशरी


शेयर गर्नुहोस:

513
Shares

  • change font
  • change font

देशको राजधानी काठमाडौंमा रहँदा साथीहरूसँग विभिन्न साहित्यिक कार्यक्रममा सहभागी हुने अवसर बाक्लै मिल्थ्यो । साहित्यिक बहस, सिर्जनात्मक संवाद र नयाँ पुस्तकहरूमाथिको विमर्शले जीवनलाई फराकिलो बनाइरहेको अनुभूति हुन्थ्यो । काठमाडौंबाट टाढिएसँगै त्यो अवसर पनि क्रमस विराममा लाग्दै गयो । यस्तै समयमा एक दिन हात परेको ‘धित’ धेरैपटक पढेँ । हुन त म गजलको शास्त्रीय पक्षको विज्ञ होइन । गजलका शेरहरूमा जीवन खोज्ने साधारण पाठक मात्र हुँ । तर यही साधारण पाठकका रूपमा भन्नुपर्दा, यस संग्रहले मनलाई मात्र केवल छोएन, कैयौ पटक आँखा चिम्लिएर सोच्न पनि बाध्य बनायो ।

साहित्य केवल मनोरञ्जनको माध्यम होइन, समाजको आत्मा बोल्ने भाषा पनि हो । समाज र भविश्यको प्रतीविम्ब देखिने ऐना पनि हो । अझ गीत–गजल त्यस्तो विधा हो, जसले थोरै शब्दमा गहिरो अनुभूति, तीक्ष्ण व्यङ्ग्य र जीवनदर्शनलाई समेट्न सक्छ । लामा आख्यानलाई दुई हरफमै परिभाषित गर्ने गजलको क्षमता, गजलकार विटु केसीको गजलसंग्रह ‘धित’ मा प्रभावशाली रूपमा अभिव्यक्त भएको छ । शीर्षकले नै मनको नभरिने तिर्खा, अपूरो चाहना र जीवनप्रतिको अतृप्त खोजलाई आत्मसात् गरेको अनुभूति दिन्छ । पुस्तक पढ्दै जाँदा पाठकले महसुस गर्छ– ‘धित’को गहिराइ अनन्त छ । यो कुनै व्यक्तिगत वा भौतिक धित होइन । समय, समाज, राजनीति, सम्बन्ध, नैतिकता र मानवीय अस्तित्व र प्रेमिल क्षणको को सामूहिक धित हो ।

Advertisement

यस संग्रहको सबैभन्दा उल्लेखनीय पक्ष यसको विषयगत व्यापकता हो । यहाँ एकातर्फ प्रेमको चरमोत्कर्ष र त्याग छ भने अर्कोतर्फ वितृष्णा पनि छ । यहाँ सामाजिक सम्बन्धको उष्मा पनि छ, विघटन पनि । गजलका शेरहरूले राजनीतिक चेतनाको स्वर बोल्छन् । पढ्दै जाँदा लाग्छ, हामी स्वयं राजनीतिको गहिराइमा डुबुल्की मारिरहेका छौँ । यहाँ राजनीति कोलाहलमय छ, तर नाराबाजीको अस्तव्यस्त स्वरुपमा होइन । अत्यन्त भद्र र उत्तरदायी राजनीतिको परिकल्पना गरिएको छ । भने उत्तरआधुनिकताबाद र पुरातन सोचको समिश्रणबाट जन्मने समाज, समयको विडम्बना, मूल्यहरूको पतन र मानिसभित्रको नैतिक संकटको गहिरो चित्रण यस संग्रहको उल्लेखनीय पक्ष हो ।
गजलकार लेख्छिन्,

“पैसाले स्वाभिमान किन्न सकिन्न भन्थ्यो
आज आफैं गएर बैरीको पाउ मलेको छ ।”

यी दुई पङ्क्तिले हाम्रो समयको चरित्र उदाङ्ग पार्छन् । आदर्शका भाषण दिने मानिस अवसरको अगाडि कसरी आत्मसमर्पण गर्छ भन्ने यथार्थलाई यसले अत्यन्त सशक्त रूपमा अभिव्यक्त गरेको छ । सामाजिक व्यङ्ग्यलाई सरल भाषामा गहिरो प्रभावका साथ प्रस्तुत गर्नु विटु केसीको विशिष्टता हो ।

त्यस्तै,

“हेर्नुस् यो धरती पनि हुर्हुरी बलेको छ
जमिनमा अन्न होइन बारुद फलेको छ ।”

यो शेर केवल युद्धको रूपक होइन । यसले हिंसा, असहिष्णुता, विभाजन र मानवीय संवेदनाको क्षयप्रति गहिरो चिन्ता व्यक्त गर्छ । वर्तमान विश्वको अस्थिर परिवेशमा यस्तो शेरले नेपाली गजललाई व्यापक मानवीय चेतनासँग जोडिदिन्छ ।

सम्बन्धहरूको बदलिँदो स्वरूपमाथि गजलकारको दृष्टि झन् मार्मिक देखिन्छ–

“कसले बुझ्यो र मलाई मेरो नाम घाँडो भको
जो थिए आफ्ना भन्नु धोचिरहने काँडो भको ।”

यस शेरमा आत्मीयताको विघटन, विश्वासको क्षय र सम्बन्धभित्रको कृत्रिमताको पीडा एकैसाथ अभिव्यक्त भएको छ । आफ्नै भन्नेहरू टाढिँदै गएको अनुभूति मात्र होइन, आफ्नै भन्नेहरूले दिने पीडा आजको मानिसको साझा नियति बनेको तथ्यलाई लेखिकाले मार्मिक ढङ्गले उजागर गरेकी छन् ।

गजलकारको आत्मदर्शन पनि उत्तिकै प्रभावशाली छ–

“ज्ञान, ध्यानसँगै थियो चिरायुको कामनामा
देखिएन आफ्नै आयु चुहिरहने भाँडो भएको ।”

मानिस संसार बदल्ने दौडमा लाग्दा आफ्नैै जीवन विस्तारै रित्तिँदै गएको सत्यलाई यस शेरले अत्यन्त सूक्ष्म ढङ्गले व्यक्त गरेको छ । यही दार्शनिक चेतनाले गजललाई केवल भावनात्मक अभिव्यक्ति नभई जीवनचिन्तनको स्तरमा पु¥याएको छ ।

यस संग्रहमा प्रेमका गजलहरू पनि उत्तिकै शालीन र आत्मीय छन् । यो प्रेम आत्माको गहिराइबाट निस्कन्छ, जसरी हिमाली काखबाट स्वच्छ जल बग्छ । गजलकार भन्छिन्,

“मायालुको बातै मीठो
बिताएको रातै मीठो
मदहोस नै पारिदिने
मायाको मातै मीठो ।”

फेरि कहिले उनी अत्यन्त चञ्चल र रङ्गीन बन्छिन्,

“लाजको रङ्ग पोखिएको जुनिली त्यो रातमा
सुस्तरी घुम्टो उघारेको हात याद आयो ।
मदहोस, बेखबर, बेहिसाबको बेला
बन्द आँखा र ओठका बात याद आयो ।”

यस्ता रसयुक्त गजलहरूले संग्रहलाई अझ सशक्त बनाएका छन् । लाग्छ, लामो यात्रामा हिँडिरहेको यात्री अचानक देउराली भञ्ज्याङमा पुगेर शीतल पवनको स्पर्शले ताजगी अनुभव गरिरहेको छ ।
वैदेशिक रोजगारीको पीडा र त्यसले सिर्जना गरेको पारिवारिक विडम्बनाप्रति गजलकार उत्तिकै संवेदनशील देखिन्न् ि। उनी लेख्छिन्,

आउन त आयो एकदिन औषधीको सूची
त्यही सूचीले गर्दा विषको तलतल बनायो ।
कमाइ छैन भन्छ, यता बा’को छाप्रो चुहिने
कुन मनले विदेशमा छोराले महल बनायो ?”

यी शेरले वैदेशिक रोजगारीको बाहिरी चमकभन्दा पछाडि लुकेको यथार्थलाई अत्यन्त मार्मिक ढङ्गले उद्घाटित गरेकी छिन् । विदेशिएका सन्तानप्रति समाजले राख्ने अपेक्षा र गाउँघरमा अभावसँग जुधिरहेका वृद्ध आमाबुबाको विवशताबीचको दूरीलाई गजलकारले थोरै शब्दमै जीवन्त बनाएकी छिन् । यहाँ ‘औषधीको सूची’ केवल उपचारको आवश्यकता होइन, बुढ्यौली, अभाव र पारिवारिक पीडाको प्रतीक बनेर आएको छ । सामाजिक यथार्थलाई यति मर्मस्पर्शी ढङ्गले प्रस्तुत गर्नु गजलकारको लेखकीय सबलता हो ।
देशमा भइरहने सत्ता परिवर्तन र नयाँ भनिएको उही उद्दण्ड शैलीप्रति असन्तुष्टि व्यक्त गर्दै गजलकार लेख्छिन्,

“हेर्दैछु हरेक जोगीको भेष हेर्दैछु
धमिरा लाग्यो भन्थे, देश हेर्दैछु ।
दौडनेको भिड, तँछाडमछाड छ,
गन्तव्यविहीन सबको रेस हेर्दैछु ।”

भाषाशैलीका दृष्टिले ‘धित’ सहज, प्रवाहपूर्ण र पाठकमैत्री कृति हो । अनावश्यक शब्द थुपारेर वा कृत्रिम प्रतीकहरूको प्रयोग नगरी सामान्य भाषाबाट असाधारण अर्थ निर्माण गर्नु गजलकारको विशेषता हो । उनका धेरै शेरहरू पहिलोपटक पढ्दा सरल लाग्छन्, तर पुनःपठनसँगै अर्थका नयाँ तहहरू खुल्दै जान्छन् । यही गुणले यस संग्रहलाई बारम्बार पढ्न मन लाग्ने कृति बनाएको छ ।

मैले सुरुमै स्वीकार गरिसकेको छु, म गजलको सिद्धान्तको विज्ञ होइन । त्यसैले गजलका बहर, रदीफ र काफियाको आदीको वारेमा तुलनात्मक विश्लेष्ण गनु सक्दिन तर मैले गजलको भाव बुझ्न सक्छु । जुन वास्तममै शसक्त छ ।

समग्रमा ‘धित’ समकालीन नेपाली गजलमा उल्लेखनीय योगदान दिने कृति हो । यसले भीडमा हराएको मानिस, पैसामा बेचिएको स्वाभिमान, सम्बन्धमा चिसिएको आत्मीयता, समाजमा हराउँदै गएको नैतिकता र जीवनभित्र बाँकी रहेको आशाको उज्यालोलाई एकैसाथ समेटेको छ । विटु केसीले गजललाई केवल प्रेमको विधामा सीमित राखेकी छैनन् यसलाई समाजसँग संवाद गर्ने, समयलाई प्रश्न गर्ने र पाठकलाई आत्मपरीक्षण गराउने सशक्त साहित्यिक माध्यमका रूपमा प्रयोग गरेकी छन् ।

‘धित’ पढिसकेपछि पाठकको मनमा एउटा अनुभूति बाँकी रहन्छ–धित केवल पुस्तकको शीर्षक होइन; यो हाम्रो समयको अधुरो सपना, अपूरो न्याय, अपूरो सम्बन्ध र अपूरो मानवीयताको साझा नाम हो । यही कारणले ‘धित’ केवल एउटा गजलसंग्रह होइन, समय, समाज र संवेदनाको काव्यात्मक ऐना हो ।