काठमाडौँ । दुबईको राष्ट्रिय एयरलाइन्स ‘फ्लाइ दुबई’ले नेपालको दोस्रो गन्तव्यका रूपमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक प्रत्यक्ष उडान गर्ने घोषणा गरेको छ । कम्पनीले यही असोज ७ गतेदेखि उडान सुरू गर्न लागेको हो ।
नयाँ सेवासँगै फ्लाइ दुबई संयुक्त अरब इमिरेट्स (युएई) बाट पोखरासम्म प्रत्यक्ष नियमित उडान सञ्चालन गर्ने पहिलो एयरलाइन्स हुनेछ ।
सन् २००९ देखि काठमाडौँमा सफलतापूर्वक सेवा प्रदान गर्दै आएको फ्लाइ दुबईले हालसम्म नेपालमा करिब ४० लाख यात्रुलाई सेवा उपलब्ध गराइसकेको कम्पनीले जनाएको छ।
फ्लाइ दुबईका प्रमुख कार्यकारी अधिकृत घैथ अल घैथले नेपाल फ्लाइ दुबईका लागि अत्यन्त महत्त्वपूर्ण बजार रहेको उल्लेख गर्दै पोखरामा प्रत्यक्ष उडान विस्तार गर्नु नेपाल र यूएइबीचको पर्यटन, व्यापार तथा जनस्तरीय सम्बन्धलाई थप सुदृढ बनाउने महत्त्वपूर्ण कदम भएको बताए ।
उनले दुबईलाई विश्वस्तरीय हवाई केन्द्रका रूपमा उपयोग गर्दै यात्रुलाई थप पहुँच र सहज कनेक्टिभिटी प्रदान गर्न पाउँदा कम्पनी गौरवान्वित रहेको बताए ।
फ्लाइ दुबईका कमर्सियल अपरेसन विभागका वरिष्ठ उपाध्यक्ष सुधीर श्रीधरनले पोखरा उडानले यात्रुलाई थप विकल्प र सुविधाजनक यात्रा अनुभव प्रदान गर्ने उल्लेख गरे ।
उनका अनुसार यो सेवा संयुक्त अरब इमिरेट्स, खाडी मुलुकहरू, मध्यपूर्व, युरोप तथा फ्लाइ दुबईको विस्तृत अन्तर्राष्ट्रिय सञ्जालबाट यात्रा गर्ने यात्रुको मागलाई लक्षित गरी सञ्चालन गरिने छ ।
अन्नपूर्ण हिमशृंखलाको काखमा अवस्थित पोखरा नेपालको प्रमुख पर्यटन तथा साहसिक गतिविधिको केन्द्रका रूपमा परिचित छ ।
नयाँ प्रत्यक्ष उडान सेवाले पश्चिम नेपालको पर्यटन प्रवर्द्धन, आर्थिक गतिविधि विस्तार तथा अन्तर्राष्ट्रिय पहुँच अभिवृद्धिमा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।












प्रतिक्रिया