अमेरिका, बोस्टन। अमेरिकाको बोस्टन स्थित गुरुङ समुदायको संस्था ‘बोस्टन तमु समाज’ ले आफ्ना सहयोगीहरुप्रति सम्मान प्रकट गरेको छ। संस्थाको क्रियाकलापहरु सम्पन्न गर्न अहम भूमिका खेलेर संस्थाको गरिमा बढाउन महत्वपूर्ण योगदान पुर्याएको ठहर गर्दै सहयोगीहरुप्रति सम्मान प्रकट गरेको हो। संस्थाले गत फेब्रुअरी १५, २०२६ आइतवार एक कार्यक्रमको आयोजना गरी गत जनवरी ३, २०२६ शनिवार ‘२४ औं बोस्टन तमु ल्होसार’ कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने व्यक्तित्वहरुलाई खादा लगाएर प्रशंसा पत्र प्रदान गर्दै सम्मान प्रकट गरेको हो।

सम्मानित हुने व्यक्तित्वहरुमा पत्रकार, कलाकारहरु, नृत्य निर्देशकहरु, कार्यक्रमलाई प्रभाकारी ढंगबाट सफलतापूर्वक सम्पन्न गर्न अहम भूमिका खेल्ने व्यक्तित्वहरु, प्रायोजकहरु, फोटोग्राफर, डिजेलगायत रहेका थिए।


संस्थाका कोषाध्यक्ष राजु गुरुङले सञ्चालन गरेको कार्यक्रममा संस्थाका सचिव उमन गुरुङले कार्यक्रमको उद्देश्यका बारेमा प्रकाश पार्दै सहभागीहरुलाई स्वागत गरेका थिए। स्वागत मन्तव्य व्यक्त गर्ने क्रममा उनले सहयोगीहरुको अमूल्य योगदानका कारण ल्होछार कार्यक्रम भव्यताका साथ सम्पन्न भएको र त्यसले संस्थाको गरिमालाई थप उचाइमा पुर्याएको जिकिर गर्दै कदर स्वरुप प्रशंसा पत्र प्रदान गरेर योगदानप्रति सम्मान प्रकट गरिएको जनाए।
कार्यक्रममा संस्थाका अध्यक्ष रोबिन गुरुङ, उपाध्यक्ष कला गुरुङ, सचिव उमन गुरुङ, कोषाध्यक्ष राजु गुरुङलगायतले सम्मानित व्यक्तित्वहरुलाई खादा लगाएर प्रशंसा-पत्र प्रदान गर्दै सम्मान प्रकट गरेका थिए।


कलाकारहरुले कार्यक्रमको दौरानमा आकर्षक नृत्यहरु प्रस्तुत गरेर कार्यक्रमलाई मनोरञ्जनात्मक बनाएका थिए भने, नेपालीपन, पहिचान र स्वादका मिष्ठान परिकारहरुको पनि व्यवस्था गरिएको थियो।
संस्थाका अध्यक्ष रोबिन गुरुङले संस्थाले आयोजना गरेको ‘२४औं बोस्टन तमु ल्होछार’ कार्यक्रमलाई सफल बनाउन महत्वपूर्ण भूमिका खेल्ने सबैको योगदानको स्मरण गर्दै विशेष धन्यवाद व्यक्त गरेका थिए। उनले धन्यवाद प्रकट गर्ने क्रममा उनले आगामी दिनहरुमा पनि सहयोगीहरुबाट निरन्तर सहयोगको अपेक्षा प्रकट गरेका थिए।

मनै नेपाली, तनै नेपाली !
कला-संस्कृतिमा, धनी नेपाली !”
भन्ने मूल नाराका साथ संस्थाले गत जनवरी ३,२०२६ शनिवार साँझ ल्होछारको अवसर पारेर ‘२४औं बोस्टन तमु ल्होछार’ कार्यक्रमको आयोजना गरेको थियो।
सन् २००१ मा स्थापना भएको यस संस्थाले स्थापना कालदेखि नै विविध सामाजिक क्रियाकलापहरु गर्नुका साथै ‘तमु ल्होछार’ पर्व मनाउदै आइरहेको छ। प्रवासमा रहेर पनि नेपाली भाषा, संस्कृति, संस्कार, परम्परा, भेषभुषा, रितिरिवाज, चालचलन आदि जोगाउन र प्रवर्धन गर्न संस्थाले महत्वपूर्ण योगदान पुर्याउदै आइरहेको छ।
















प्रतिक्रिया