साहित्य/सिर्जना

अनि म त शहीद भएँ…(कविता)

अनि म त शहीद भएँ…(कविता)


शेयर गर्नुहोस:

216
Shares

  • change font
  • change font
  • change font

-सुनील बाबु पन्त

गोलीको छर्राले छेडेर गयो,
यो मुटु फुट्यो, थामिएन रगत
म जमिनमा ढलेँ,
आँखा खुलेका खुलै रहे
त्यो कोलाहलमा, बन्दुकको आवाजमा
आमालाई याद गरेँ
बाबालाई याद गरेँ
गरेँ बहिनीलाई याद
अनि म त शहीद भएँ…!

Advertisement

देश बिरामी थियो,
उसलाई निको पार्न मेरो रगत चाहियो
मैले रगत दिएँ
एउटा सरकारले मलाई गोली हान्यो
अर्को सरकारले गर्‍यो “शहीद” घोषणा
दस लाख रुपैयाँ— मेरो लासको मूल्य
साटोमा मेरी आमाले पाइन्
जीवनभर नमेटिने आँसु र पीडा
गोलीको आवाज अझै कानमा गुन्जिरहेको थियो
आँखा खुल्लाका खुल्ला थिए
आर्यघाटको त्यो चितामा म जलिरहेँ
देश पनि जलिरह्यो
अनि म शहीद भएँ…!

म ढलेँ — ठ्याक्कै त्यहीँ, जहाँ मेरा साथीहरू उभिएका थिए
बाबाको आँसु देख्न पाइनँ — उनी रोए होलान् एक्लै
आमा बेहोस भएर ढलेकी होलिन्
र, चेत खुलेको छैन होला
मर्नुभन्दा अघि सम्झिएँ उनको न्यानो काख
सानो बेलाको त्यो स्पर्श
उनी आउने आशामा
मेरो आँखा खुला रहे
आज ती हातहरूले मेरो लास छुने मौका पाएनन्
अनि म शहीद भएँ…!

मेरो गोजीमा केही दिनअघि बनाएको पासपोर्ट थियो
विदेश जानका लागि
अब त्यो रगतले पोतिएको छ
म विदेश जान सकिनँ
बरु म देशकै माटोमा विलीन भएँ
मेरो सपना त भिजेको खरानी भयो
बागमतीमा बगिगयो
अनि म शहीद भएँ…!

्हे मेरा साथीहरू— तिमीहरू अझै जिउँदै छौ
देश पनि जिउँदै छ
त्यसैले, मेरो मृत्युको मूल्य नबिर्स
हाम्रो अधुरो सपना पूरा गर्नुपर्छ
सपना पूरा गर्न कसैले मर्नुपर्छ
अनि म शहीद भएँ…!

देशले रगत माग्यो— मैले दिएँ
मेरो मूर्ति नबनाऊ, फूलमाला नचढाऊ
मेरो बलिदानको याद गर
अनि सम्झ
शहीदहरू मर्दैनन्
जबसम्म देश बाँचिरहने छ
आमाको न्यानो काख सम्झिँदै अन्तिम सास फेरेँ
मेरो आँखा खुला रहे, आँसु झरिरहे
देशलाई सम्झिरहेँ
अनि म त शहीद भएँ…!

शेयर गर्नुहोस:

216
Shares