अमेरिका, बोस्टन। नेपाली पात्रो अनुसार यस वर्षको हरितालिका तीज आउदो भाद्र १० गते तदनुसार अगस्ट २६, २०२५ मङ्गलवार भाद्र शुक्ल तृतियाका दिन परेको छ।
वर्षमा एक पटक आउने हिन्दू धर्मावलम्बीहरुको विशेष चाड हरितालिका तीज नेपालमा रहेका नेपालीले मात्र नभएर विश्वको विभिन्न कुनामा रहेका प्रवासी नेपालीहरुले पनि विविध क्रियाकलापहरु गरेर विशेष रुपमा मनाउने गर्दछन्। त्यसको लागि तीज आउन अझैं झण्डै महिना दिन बाँकी छदै आवश्यक तयारी भने सुरु भैसकेको छ। अमेरिकामा रहेका प्रवासी नेपालीहरु पनि यसबाट अछुतो रहन सक्ने कुरै भएन। उनिहरुलाई पनि तीजले छोइसकेको छ। र, तीजको तयारीमा जुटिसकेका छन्।
यसैक्रममा, हरेक वर्ष झैं यस वर्ष पनि अमेरिकाको बोस्टन स्थित ‘हिमालयन लायन्स क्लब, डिस्ट्रिक ३३ के’ले पनि ‘खुला हरितालिका तीज बिशेष कार्यक्रम’ गर्ने भएको छ। क्लबले उक्त कार्यक्रम बोस्टन मेट्रोवेस्ट नेपाली कम्युनिटीको सहयोगमा गर्न लागेको हो। क्लबले जनाए अनुसार, उक्त तीज विशेष कार्यक्रम यही आउदो अगस्ट ९,२०२५ शनिवार साँझ नोरउड टाउन कमन(Norwood Town Common) मा गर्ने गरी तयारी सुरु गरिसकेको छ।
क्लवका अध्यक्ष थानिरत्न कंडेलका अनुसार उक्त कार्यक्रममा, आपसमा शुभकामना आदानप्रदान गर्नुका साथै नाच्दै, गाउदै रमाउने व्यवस्था मिलाइने भएको छ। विविध कारणले नेपाल बाहिर रहनु परेको भएतापनि प्रवासी नेपालीहरुले नेपाल, नेपाली, धर्म, संस्कृति, परम्परा, रितिरिवाज आदि नभुलेको बताउदै क्लवका अध्यक्ष कंडेलले नेपालीको विशेष चाड तीज मनाउने तयारी गरिएको बताए। उनले नेपाली समुदायकाबीच सद्भाव कायम राख्ने, सम्बन्ध सुमधुर बनाउने, धर्म, संस्कृत, परम्परा आदिको जगेर्ना गर्ने र मनोरञ्जन गर्ने कार्यक्रमको मुख्य उद्देश्य रहेको बताए।उनले तीज कार्यक्रमलाई विशेष बनाउन क्लब परिवार तयारीमा जुटिरहेको जनाउदै कार्यक्रममा सहभागिताका लागि नेपाली समुदायलाई निम्तो गरेका छन्।
नि:शुल्क प्रवेशको व्यवस्था गरिएको उक्त खुला तीज कार्यक्रम, अपरान्ह २ बजेदेखि साँझ ६ बजेसम्म हुने जनाइएको छ। आयोजकले कार्यक्रमका सहभागीहरुका लागि पिउने पानी र तर्बुजा नि:शुल्क उपलब्ध गराउने जनाएको छ।












प्रतिक्रिया