ड्यालस (अमेरिका) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ डा. तोसिमा कार्कीले पुस्तान्तरणलाई आफ्नो पार्टीले कार्यान्वयन तहमै लैजाने बताएकी छिन् ।
आइतबार अमेरिकाको ड्यालसमा आयोजना गरिएको अन्तरकृया कार्यक्रममा उक्त पार्टीकी सांसद समेत रहेकी डा. कार्कीले राजनीतिबाट विश्राम ६० वर्षमा र अध्यक्षमा अधिकतम दुई कार्यकाललाई आफ्नो पार्टीले व्यबहारिक रुपमै कार्यान्वयन गर्ने बताइन् ।
‘अन्य पार्टीका पुस्तान्तरण हविगत तपाईहरुले देखिरहनु भएकै छ, पुस्तान्तरण हुने भएको भए संसदमा बृद्धबृद्ध बाहरुसँग बसेर संवाद गर्नुपर्ने थिएन’ ठूला दलका नेतृत्वमा रहेका प्रति व्यङ्ग्य गर्दै उनले भनिन् ।
संसदमा बहुमत नल्याएसम्म देशमा चाहे जस्तो परिवर्तन गर्न नसकिने महसुस भएको उल्लेख गर्दै डा. कार्कीले २०८४ सालमा रास्वपालाई बहुमत दिलाउन प्रवासबाट समेत सहयोग चाहिएको उल्लेख गरिन् । बहुमत ल्याउन सक्यौं भने पहिलो एकसय दिनमा गर्ने कामको पहिलो सूचिमा कर्मचारीतन्त्रलाई आम रुपमा सुधार गर्ने घोषणा गरिन् । ‘कर्मचारीतन्त्रमा व्यापक सुुधारपछि स्वास्थ क्षेत्रमा फोकस हुनेछु’ उनले भनिन् । केही महिना स्वास्थ राज्यमन्त्री रहेकी डा. कार्कीको कर्मचारीतन्त्र प्रतिको असन्तोषले उनले त्यतिखेर सहयोग नपाएको संकेत दिएको छ ।
डायस्पोरा (प्रवासी नेपाली) को सदभाव हाँसिल गर्नका लागि उनले पुराना र ठूला पार्टीहरुले आर्थिक स्रोत संकलनको माध्यम बनाएको उल्लेख गर्दै रास्वपाको नीति एकपटकको नेपाली सदाको नेपाली रहेको बताइन् ।
प्रवासमा ठूलो संख्यामा नेपालीहरु रहेको तथ्य र उनीहरुको सहानुभूतिले चुनाव जित्न सकिने संकेत बुझेका रास्वपाका नेताहरु यतिखेर नेपाल बाहिर संगठन विस्तारका लागि अभियानमा छन् । केन्द्रीय सदस्य सोबिता गौतम, सांसद हरि ढकाल लगायतका केही नेताहरु भारतको बंगलोरमा छन् भने कार्यवाहक सभापति डिपी अर्याल, सुमन पाण्डे लगायतका नेताहरु दुबई पुगेका छन् । केन्द्रीय सदस्य समेत रहकी डा. कार्की भने झण्डै दुई साता लामो कार्यक्रम लिएर अमेरिका आइपुगेकी छिन् ।
रास्वपाले देशभित्रै र बाहिर प्रवासमा भातृ संगठन नखोल्ने उनले दावी गरिन् । यद्यपी पार्टीको प्रवास विभागको व्यानरमा कार्यक्रम आयोजना भएको थियो ।
उक्त अवसरमा उनले संघीयता खारेज हुनुपर्ने पार्टीको धारणालाई दोहार्याएकी थिइन् । ‘संघीयताको तीन तहमध्य प्रदेशलाई खारेज गरेर दुई तहमात्र राख्नुपर्छ । यसलाई देशले अब धेरै थेग्न सक्दैन’ उनले भनिन् ।
चिकित्सक भएर देखेका र भोगेका समस्या नीतिगत तहमै नपुगेसम्म समाधान हुन नसक्ने महसुस गरेर आफू राजनीतिमा लागेको समेत उनले खुलासा गरेकी थिइन् । स्वास्थ र शिक्षा पूर्ण रुपमा सरकारले हेर्नुपर्छ, यी सेवा निशुल्क हुनुपर्छ उनले भनिन् । राज्यको स्रोत भ्रष्टाचार र कमिसनमा गइरहेको दावी गर्दै उनले ती स्रोतहरुलाई राजश्व मातहतमा ल्याउने हो भने स्वास्थ सेवा निशुल्क गर्न स्रोतको अभाव नहुने बताइन् ।
नयाँ अनुहार, नयाँ पार्टी, सेलिब्रेटी सांंसद भएको हुँदा डा. कार्कीलाई सुन्न र हेर्न ड्यालसका ठूलो समुदाय कार्यक्रममा आएका थिए । रास्वपा निकटहरु भन्दा पनि नेपालमा छँदा नेपाली कांग्रेस, एमाले, माओवादी, राप्रपा निकट रहेका व्यक्तिहरुको उल्लेख्य उपस्थिती थियो । डा. कार्कीको वाकपटुताबाट उपस्थित धेरै प्रभावित भएका थिए । तर पार्टी नेतृत्वको गलत कार्यको वचावट गर्ने पुराना दलहरुको रोग रास्वपामा सरेको भन्दै धेरैले उनीसँग असन्तुष्टी पनि जनाएका थिए ।
रास्वपा प्रवास विभाग टेक्सस च्याप्टर अध्यक्ष रबिन पाठकको सभापतित्वमा भएको कार्यक्रम सचिव अर्जुन फुँयालले सञ्चालन गरेका थिए ।
विहीबार टेक्सस आएकी सांसद कार्की तीन दिन असाध्यै व्यस्त भइन् । रास्वपा निकटहरुसँग निरन्तर बैठक, अन्तरकृया, प्रशिक्षणका अतिरिक्त बनभोज कार्यक्रम, लायन्स क्लबले आयोजना गरेको महिला नेतृत्व संबन्धि कार्यक्रम, नेपाली समाज टेक्ससले आयोजना गरेको अन्तरकृयामा सहभागी भइन् ।
ड्यालस पछि डेनभर, मेरिल्याण्ड, भर्जिनिया र न्यूयोर्कमा डा. कार्कीको कार्यक्रम रहेको छ ।
प्रतिक्रिया