मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टेक्सस   

मन्दिरका चन्दादाता सम्मानित

मन्दिरका चन्दादाता सम्मानित

एक करोड १२ लाख डलर बजेट अनुमानित


ड्यालस (अमेरिका) । नेपाली समुदायद्वारा टेक्ससको ड्यालस फोर्टवर्थ मेट्रोप्लेक्समा निर्माण सुरु भएको पशुपतिनाथ मन्दिर र बुद्ध बिहार (स्तुपा) का लागि एक करोड १२ लाख डलरको अनुमान गरिएको छ ।

दोस्रो र तेस्रो चरणमा निर्माण हुने बुद्ध बिहार र पशुपतिनाथ मन्दिरका लागि उक्त रकमको अनुमान गरिएको हो । शनिबार चन्दादाताहरुको सम्मानमा आयोजना गरिएको कार्यक्रममा योजना समितिका संयोजक निरज श्रेष्ठले अनुमानित बजेटको आधा रकम नभएसम्म सुरुवात गर्न अप्ठेरो रहेको हुँदा सबै नेपाली समुदायलाई यो अभियानमा जोडिन आव्हान गरे ।

पहिलो चरणको निर्माण सम्पन्न भएर अहिले एकै भवनबाट पशुपतिनाथ र बुद्ध बिहार सञ्चालन हुँदै आएको छ । दोस्रो र तेस्रो चरण पुरा भएपछि बुद्ध बिहार र पशुपतिनाथका अलग्गै भवन, संरचनाहरु हुनेछन् । काठमाडौंको पशुपतिनाथकै आकार, प्रकारको मन्दिर निर्माण गर्नका लागि पुरातात्विक आर्किटेक्टहरुसँग धेरैपटक छलफल भैसकेको छ ।

बुद्ध बिहारको आकार, प्रकार समेत स्वयम्भू स्तुपाकै जस्तो हुने बताइएको छ । पशुपतिनाथ मन्दिरको लागि मात्र ५५ लाख डलर बजेट अनुमान गरिएको छ । स्तुपाको निम्ति तीनलाख डलर अनुमान गरिएको छ ।

‘हामीसँग अब बुद्ध बिहार र पशुपतिनाथ मन्दिर निर्माणको लागि पूर्वाधार तयारी अवस्थामा छ । सबै नेपालीले मन खोलेर सहयोग गर्ने हो भने केही वर्षभित्रै भव्य मन्दिर र बिहार बनाउन सक्छौँ’ श्रेष्ठले भने । आवश्यक बजेट नभएकोले मन्दिर र स्तुपा (बिहार) एकै पटक निर्माण गर्न कठिनाई भएपछि समितिले सुरुमा स्तुपा (बिहार) को निर्माण गर्ने विषयमा छलफल अघि बढाइरहेको छ ।

शनिबारसम्म मन्दिरलाई सहयोग गरेर अनरेवल ट्रष्टी बनेका २२ परिवार, ट्रष्टी १८ परिवार, पारिवारिक प्याट्रोन ८ परिवार, अनरेवल फाउण्डिंग मेम्बर ७६ परिवार र फाउण्डिङ्ग मेम्बर परिवार ९१ लाई सम्मान गरिएको थियो ।

ड्यालस फोर्टवर्थ मेट्रोप्लेक्समा मात्र झण्डै ८० हजार नेपालीको बसोबास रहेको अनुमान छ । नेपाली समुदायले गौरब गर्ने गरि डिजाइन र पूर्वाधारमा निर्माण हुन लागेको मेडिटेसन हल सहितको स्तुपा र पशुपतिनाथ मन्दिरका लागि सबै परिवार जोेडिनका लागि नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रले आव्हान गरेको छ ।

‘आजका दिनसम्म चन्दा दिएर मन्दिरमा जोडिनुभएका तपाईहरु सबैजना मन्दिरका प्रतिनिधिहरु हुनुहुन्छ । आफ्नो टोल छिमेक, आफन्तहरुलाई समेत यो अभियानमा जोड्न र समावेश गराउनका लागि तपाईहरु सबैको सहयोग अपेक्षा गरेका छौं’ मन्दिर बोर्ड अफ ट्रष्टीका अध्यक्ष डा. प्रेम अधिकारीले कार्यक्रममा आव्हान गरे ।

जतिसक्दो चाँडो निर्माण गर्न सकियो लागत उतिनै कम पर्ने भएकोले नेपाली समुदायलाई जोडिन आग्रह गरिएको छ । एकै पटक रकम तिरेर सदस्य हुन कठिनाई महसुस गर्नेहरुका लागि किस्तावन्दीमा समेत तिर्न सकिने सुविधा मन्दिरले प्रदान गरेको छ ।

शनिबार मन्दिरका लागि एकलाख डलर भन्दा बढी दान गरेर वाल अफ अनर सम्मान दुईजनालाई प्रदान गरिएको थियो । टेक्ससका व्यवसायी नरेशराज पाण्डे र शैलेन्द्र मानन्धरले एकलाख डलर भन्दा बढी दान गरिसकेका छन् ।

सो अवसरमा नेपाली समाज टेक्ससका अध्यक्ष राजेन्द्र वाग्ले, नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रकी अध्यक्ष सीता सापकोटा, सूचना प्रविधि संयोजक जीवन घिमिरे लगायतले मन्दिरका भावी योजना तथा कार्यक्रमका बारेमा प्रकाश पारेका थिए ।

घिमिरेले मन्दिरलाई सहयोग गरेर सदस्यता लिनेहरुको सुविधाका लागि अनलाइन पोर्टलबाटै सबै व्यवस्था गर्न लागिएको जानकारी दिए । मन्दिरको जुनसुकै प्रकारको सदस्य हुनका लागि मन्दिरको वेवसाइटमै व्यबस्था हुन लागेको र क्रेडिट कार्ड, डेबिट कार्डबाट किस्तावन्दीमा तिर्न सकिने व्यबस्था समेत हुन लागेको समेत घिमिरेले जानकारी दिए ।

शनिबारको कार्यक्रममा मन्दिर तथा बिहारको लागि तीनहजार पाँचसय डलरदेखि एकलाख डलरसम्म सहयोग गर्नेहरुलाई सम्मान गरिएको थियो ।

शेयर गर्नुहोस:

3.4k
Shares