ड्यालस (अमेरिका) । अमेरिकाले नेपालीलाई प्रदान गरेको टिपिएस सुविधा १० वर्ष पछि खारेज हुने भएको छ ।
सन् २०१५ मा गएको भुकम्पपछि नेपालीलाई राहत दिनका लागि दिइएको टिपिएस (टेम्पोररी प्रोटेक्टेड स्टाटस) आउँदो अगष्ट ५ देखि खारेज हुने भएको छ । अमेरिकाको युनाइटेड स्टेट सिटिजनशीप एण्ड इमिग्रेसन सर्भिसेज (युएससिआइएस) ले विहीबार सूचना प्रकाशित गरेर दुई महिना पछि पूर्ण खारेजीमा जाने जनाएको छ ।
सूचनामा अगष्ट ५ तारिकसम्म अन्य वैधानिक स्टाटस कायम गर्न नसक्नेहरुलाई देश छाड्नका लागि समेत आग्रह गरिएको छ ।
सन् २०१५ (बिक्रम सम्वत् २०७२) मा गएको भुकम्पपछि त्यतिखेर अमेरिकामा कुनै पनि वैधानिक हैसियतमा नरहेका नेपालीहरुलाई नेपालमा रहेका परिवारका निम्ति सहयोग गर्न सकुन् भन्ने उद्वेश्यले टिपिएस प्रदान गरिएको थियो । तल्लोबाटो आएका, बिभिन्न उद्वेश्यले अमेरिका आएर यतै बसेका, विद्यार्थी भिसामा आएकाहरुले यसबाट वैधानिक रुपमा काम गर्ने अधिकार पाएका थिए । जुन २४, २०१५ देखि नेपालीलाई टिपिएस सुविधा दिइएको थियो ।
अघिल्ला सरकारहरुले टिपिएसलाई पटक पटक थप्दै गएका थिए । पछिल्लो पटक जो बाइडेन नेतृत्वको सरकारले नेपालीलाई अक्टोबर २४, २०२३ देखि आउँदो जुन २४ सम्मका लागि थप भएको थियो । तर १९ दिन अघिनै नेपालीको टिपिएस खारेजको सूचना प्रकाशित गर्दै दुई महिनाभित्र अमेरिका छाड्न आदेश दिइएको छ ।
कानुन व्यबसायीहरुका अनुसार अहिलेपनि अन्य स्टाटस चेन्ज नगरि टिपिएसमै बस्ने नेपालीको संख्या सातहजार आठसयको हाराहारीमा छ । यी मध्य तीनहजारको हाराहारीले अन्य स्टाटस (विद्यार्थी, असाइलाइम, विवाह) मा जानका लागि पहिलेनै प्रकृया सुरु गरिसकेको अनुमान गरिएको छ । टिपिएसमै रोकिएर बसेकाहरुले भने अगष्ट ५ तारिक मध्यरातभित्र यात अमेरिका छाडिसक्नुपर्ने, यात अरु स्टाटसमा जानका लागि प्रकृयामा जानुपर्नेछ ।
गत सातामात्र अमेरिकाको सर्वोच्च अदालतले टिपिएसमा रहेका पाँचलाख आप्रवासीहरुलाई हटाउन ट्रम्प प्रशासनलाई ग्रीन सिग्नल दिएको थियो । त्यो सूचीमा अधिकांश अफ्रिकी, हैटी लगायतका देशका नागरिकहरु रहेपनि नेपालीको समेत के हुन्छ भन्ने बारेमा चासो थियो ।
आप्रवासीप्रति अत्यन्तै अनुदान वर्तमान ट्रम्प प्रशासनले नेपालीप्रति भने उदार भएर समय थप्छन् कि भन्ने केहीको विश्वास थियो । तर विहीबार सूचना प्रकाशित गरेर खारेजको घोषणा भएको छ ।
सन् २०२४ को अन्तिममा अमेरिकामा टिपिएस सुविधा लिने विदेशीको संख्या ८ लाख ६३ हजार ८ सय ८० थियो । यी मध्य सबैभन्दा बढी भेनेजुयलका ३ लाख ४४ हजार छन् ।
नेपालीलाई विकल्प के छ त ?
अगष्ट ५ सम्म अमेरिका छोड्नुपर्ने सूचना पछि टिपिएसमै रहेका नेपालीहरुका लागि विकल्प सकिएकै हो त ? यो विषयमा हिमालयखबरले न्यूयोर्कका एक कानुन व्यबसायीसँग प्रतिकृया माग्दा उनले दुई विकल्प रहेको उल्लेख गरे ।
पहिलो विद्यार्थीका रुपमा आएर बीचमा छाडेकाहरुले फेरि कलेज भर्ना हुने एउटा उपाय हुनसक्छ । अर्काे चाहि असाइलम रहेको उनले बताए ।
‘असाइलम पनि अहिलेलाई विकल्प हो, तर दिने वा नदिने भन्ने कुरा पूर्ण रुपमा युएससिआइएसमा भर पर्छ’ उनले भने ।
प्रतिक्रिया