(जीवन अचम्मको छ । साधारण लाग्छ हेर्दा । तर बुझ्दै जाँदा यो गहिरो र रहस्यमयी लाग्छ । सामान्य लाग्ने मानिसका पनि जीवनमा अनेक असमान्य घटना घट्छन् । कुनैबेला कसैको जीवनका ती अनुभवहरू अरुकालागि उदाहरण र प्रेरणा श्रोत बन्न सक्छन् । मानिसको जीवन त एउटै हुन्छ तर त्यहाँ धेरै मोडहरू पार गर्नु पर्ने हुन्छ । जीवनभित्र संघर्षका कथाहरू हुन्छन् । खुशी र उन्मादका क्षणहरु आउँछन् । आफूले कल्पनै नगरेका सफलताका मोडहरू फेला पर्छन् । यिनै सेरोफेरोमा हामीले, प्रवासमा बसेर समयसँग कुस्ती खेल्दै जीवनको यात्रालाई डोर्याइरहेका नेपालीहरूको खुशी अनि कथा व्यथा प्रस्तुत गर्ने यो स्तम्भ प्रारम्भ गरेका हौँ– सम्पादक )
क्यालिफोर्नियाको खुशहाल मौसम । तर त्यो साँझ अलि चिसो थियो । ग्रेटर लस एन्जलसको सेरिटोस शहरको एबरले स्ट्रीट्स्थित एउटा सुन्दर घर अगाडि भाइ वासु घिमिरेले हामी चढेको गाडी रोके ।
साँझ छिप्पिएर ७.३० बजिसकेको थियो । मूलढोका खुल्यो , हाम्रो अघि हँसिलो अनुहार बोकेर इश्वर गुरुङ स्वागतमा उभिएका थिए । घर भित्र पस्यौं । बैठक कोठामा नबसाइ उनले हामीलाई व्याक यार्ड्तिर लगे । भाउजु विजयासंग परिचय भयो । त्यहाँ चिसो भगाउन आधुनिक मकलमा आगोको न्यानो राप हाम्रै प्रतिक्षामा थियो ।
चौरको अलिक पर्तिर भित्ता छेउ बुध्दको सजीव लाग्ने मूर्ति र फाउन्टेन देखेपछि दिनभरिको थकान शान्त र शीतल बन्यो । इश्वर गुरुङको बारेमा सुनेका कुराहरु मात्र थिए मसंग। अब भने प्रत्यक्ष अन्तरंग कुराकानी हुने अवसरले मभित्र खुल्दुली शुरु भयो । आगोको न्यानो र वाइनको चुस्कीसंगै हामीले कुराकानी शुरु गर्यौं ।
को हुन् इश्वर ?

लमजुङको इलम पोखरी गाउँमा वि.स. २०१५ मा जन्मिएका इश्वर गुरुङ यतिखेर विश्वको शक्ति सम्पन्न देश अमेरिकाको चर्चित एवं व्यस्त लस एन्जलस अन्तरास्ट्रिय एअरपोर्टमा Planning Development and development program को Senior Manager छन् । बुबा भारती गुरुङ बृटिश आर्मीमा मेजर थिए । दोश्रो विश्वयुध्दमा मिलिटरी क्रस (MC)बाट विभुषित बुबा शिक्षाप्रेमी थिए । आमा भागिरथी गुरुङ गृहिणी थिइन् ।
नेपालको एउटा सुदूर गाउँमा जन्मिएर लस एन्जलस अन्तरास्ट्रिय एअरपोर्टमा महत्वपूर्ण प्राविधिक पदमा पुग्न इश्वरले धेरै आरोह अवरोह पार गरे । प्राविधिक कुशलता र पेशागत क्षमताको बलमा इश्वरले प्राप्त गरेको सफलताकोपछि , आत्मविश्वास , इमानदारी र प्रेरणाको भरपर्दो जग छ । यीनै वस्तुगत सन्दर्भहरुलाई इश्वरको जीवन भोगाइका उकाली ओरालीहरुसंग पर्गेल्ने कोसिस गरिएको छ यो आलेखमा ।
अब्बल विध्यार्थी

इश्वर स्यानैदेखि पढाइमा तेज थिए । बाको आर्मी अनुशासन र पढ्न प्रेरित गर्ने स्वभाव उनको लागि शैक्षिक उन्नयनको उर्जा बन्यो । २०३१ सालको एसएलसी बोर्डमा इश्वरले पाँचौं स्थान ल्याए ।
एसएलसी पछि त्योबेला राजधानीको उत्कृष्ट मानिने अमृत साइन्स कलेजमा आइएससी पढ्न भर्ना भए । त्यहाँ पनि इश्वरको लगनले काम गर्यो , फाइनलमा टप टेनमा उनको नाम निस्क्यो ।
बाले भनेको कुरा अहिले पनि इश्वरलाई याद छ – “शिक्षा ठूलो कुरा हो । तेरो बाजे, कक्कड बाजे र मैले स्कुल पढ्ने मौका पाइन । त्यसैले तैंले तेरो बाजेको भाग पढ । तेरो ककड बाजेको भाग पनि पढ । तेरो बाको भाग समेत पढ ।”
स्कुल पढ्दैखेरि पाइलट बन्ने उनको इच्छा थियो । उनको जेठो दाजु आर पी गुरुङ आरएनएसीमा क्याप्टन थिए । २०२७ सालमा सिमरा प्लेन दुर्घटनामा उनको दु:खद निधन भएको घाउ आलै थियो । सायद त्यसैले बुबा आमा इश्वरको पाइलट बन्ने इच्छामा सहमत भएनन् । उनको भाग्यले B.Sc.Civil engineering पढ्न भारतको Punjab University पुर्यायो इश्वरलाई ।
उनको उच्च शिक्षाको भोक त्यतिमै थामिएन । Glasgow , Scotland स्थित University of Strathelyde बाट इश्वरले M.Sc. Civil engineering पूरा गरे ।
University of california , Los Angeles बाट Construction Management मा M.Sc. गरेपछि भने उनको उच्च शिक्षाप्रतिको रफ्तार थामियो । तर विभिन्न शैक्षिक संस्थाहरुमा इश्वरको आबध्दता अझै छ ।
सरकारी जागिर , झमेला र अमेरिका पलायन

बाको चाहना थियो – छोरोले सरकारी जागिर खाओस । छ भाइ छोरा सबैजना अन्यत्र थिए । बीएस्सी सिभिल इन्जिनियर सकेर इश्वर एउटा स्वीस प्रोजेक्टमा काम गर्न थाले । तर बाको चाहना टार्न सक्ने कुरा गाह्रो थियो । बाको इच्छा पूरा गर्न उनले सिंचाइ विभागमा अस्थायी जागिर शुरु गरे । त्यतिबेला सरकारी जागिरको ठूलै महत्व थियो ।
पोखरा उनको कर्मथलो बन्यो । त्यहाँ इश्वरले विजयपुर खोलामा बाँध बाँधेर नहर निर्माण गरे । बेगनास तालमा माटो र ढुङ्गाको बाँध बनाए । त्यो नयाँ प्रयोग थियो ।
चीनको सहयोगमा पोखरा बागलुङ सडक निर्माण हुने प्रोजेक्ट शुरु हुनेभो । एउटा असल प्राविधिकलाई देशको यातायात विकासको लागि महत्वपूर्ण मानिएको त्यति ठूलो प्रोजेक्टमा काम गर्ने अवसर आउँदा पछि हट्ने कुरा थिएन । इश्वरले त्यो प्रोजेक्टमा काम पाए । उनी जान आउन दिनको ३२ किलोमिटर हिडेर सर्भे गर्थे । इश्वरको कामप्रति इमानदारी र लगनशीलताबाट चिनियाहरु निक्कै प्रभावित थिए । पोखरा बागलुङ सडकको डिजाइन स्वीकृत गर्ने समय आयो । नेपाली प्राविधिक टोली चीन जानुपर्ने थियो । चिनिया पक्षको इश्वर नेपाली टोलीमा पर्नुपर्छ भन्ने मान्यता थियो। उनीहरुले छ महिना काम गर्दा इश्वरको कार्यकुशलता जाँचि सकेका थिए । फेरि चीन जाने टोलीको सबै खर्च चीन सरकारले ब्यहोर्ने व्यवस्था थियो ।
प्रारम्भमा टिप्पणी उठाउँदा इश्वरको नाम टोलीमा थियो । तर तत्कालीन नेपालको प्रशासनिक जालझेलले उनको नाम हटाइयो । डिजाइन स्वीकृत गराउन प्राविधिक जानुपर्थ्यो । बिडम्वना , सरकारले अप्राविधिक टोली त्यहाँ पठायो । निष्ठा र इमानदार पूर्वक काम गर्दा पनि त्यसरी अपहेलित हुनुपर्दा इश्वरको मन भाँचियो । तथापि पछि उनलाई व्यवस्थापन सम्बन्धी तालिमको लागि यूके पठाइयो । उनले केही समय बृटिश सरकारको सहयोगमा निर्माण भैरहेको धरान- धनकुटा सडक आयोजनामा पनि काम गरे ।

इश्वरले नेपालमा सरकारी जागिरे भएर आफ्नो क्षमताको मूल्यांकन नहुने र भविष्य पनि सुरक्षित नहुने बुझे । पढाइमा तेज थिए , आफ्नो शैक्षिक योग्यतामा अझै खुड्किलो थप्ने उनले दृढ सोच बनाए । अमेरिकाको लस एन्जलस स्थित क्यालिफोर्निया विश्वविद्यालयमा construction Management मा M.Sc. गर्ने उनलाई अवसर प्राप्त भयो । त्यसपछि भने इश्वरले पछि फर्केर हेर्नु परेन । इश्वरले अमेरिकालाई कर्मथलो बनाए । आफ्नो क्षमता र लगनलाई आफूले पाएको जिम्मेवारीप्रति समर्पित गरे । त्यसैको परिणाम हो अहिलेको इश्वर गुरुङ !
उनले आफ्नो जीवनको पच्चीस वर्ष अमेरिकामा प्राविधिक पेशामा काम गरेर बिताइसके । ARCADIS जस्तो विश्वको प्रतिष्ठित कम्पनीमा इश्वरको संलग्नता छ । यो डिजाइन , निर्माण र व्यवस्थापनमा विश्वको ठूलो र प्रशिध्द कम्पनी मध्येमा गनिन्छ । सन् २००६ देखि विश्वको आठौ ठूलो लस एन्जलस एअरपोर्ट उनको कर्मथलो भएको छ । इश्वर एअरपोर्ट टर्मिनलको विकास र सुधार कार्यका लागि विशेषज्ञ मानिन्छन् । उनको विज्ञता रनवे र ट्याक्सी वे निर्माणमा छ।
विगत पन्ध्रवर्षदेखि इश्वर एअरपोर्ट कन्सल्ट्यान्टको रुपमा आफ्नै कम्पनी खोलेर कार्यरत छन् । खासगरी अहिले Modular Construction tecnology को समय छ । यो प्रविधिले समय र लागत घटाउँछ । इश्वर यतिबेला लस एन्जलस अन्तर्राष्ट्रिय एअरपोर्टमा चारसय मिलियन डलरको नयाँ टर्मिनल निर्माण योजनामा व्यस्त छन् ।
उनको टीमले गरेको काम सिक्न र बुझ्न यूरोपका विभिन्न देश र कोरिया तथा चीनबाट प्राविधिकहरू लस एन्जलस एअरपोर्ट आउँछन् ।
लो प्रोफाइल रुचाउने इश्वर

प्रतिष्ठित कम्पनीमा पेशागत विशिष्टता प्राप्त गर्ने इश्वर गुरुङमा हाइफाइ छैन बरु उनी लो प्रोफाइलमा बस्न रुचाउँछन् ।
समुदायका लागि सहयोगी छन् तर धेरैले उनलाई चिन्दैनन । आफ्नो काम र पेशासंग इश्वरको आत्मिक सम्बन्ध छ । त्यो नै उनको पूँजी हो । मनले खाएको कुरा उनी निर्धक्क भन्छन् । गलत र जाली कुरा उनलाई मन पर्दैन । इश्वरको यस्तो स्वभाव नबुझ्नेहरु उनलाई घमण्डी ठान्छन् ।
स्वस्थ्य जीवन शैली
राम्रो जीवन बाँच्न स्वस्थ्य रहनु पर्छ भन्ने इश्वरको दृढ विश्वास छ । सायद त्यही विश्वासले नै उनलाई दौडप्रति आकर्षण भयो । दौड मात्र हैन अन्य खेलमा पनि उनको रुची गजबको छ । फूटबल , बास्केटबल र टेनिस इश्वरको मनपर्ने खेल हुन् । पंजाब इन्जिनियरिङ कलेज पढ्दा उनले दुइवर्ष त्यहाँको फुटबल टिमको क्याप्टन भएर प्रतियोगितामा खेले ।
धेरै म्याराथन दौडमा उनको सहभागितामा उनी स्वयं गर्व गर्छन् । ती प्रतियोगितामा उनले कयौं मेडल जितेका छन् । लङ्वीच हाफ म्याराथन र लस एन्जलस म्याराथनको अनुभव इश्वरको लागि नबिर्सिने इभेण्ट हुन् । सन् २०१५ देखि उनी AREC क्लबका सदस्य छन् ।
स्यानो शिक्षित परिवार

इश्वरको परिवार स्यानो छ । गजबको कुरा त केछ भने चारजनाको परिवारमा तीनजना त सिभिल इन्जिनियर छन् । शैक्षिक उन्नयनका पक्षपाती उनका बुबा स्वर्गीय भारती गुरुङको प्रेरणा र आदर्शकै कारण हुनुपर्छ इश्वरको घरमा परिवारका चारैजना उच्च शिक्षा प्राप्त छन् । श्रीमति विजया गुरुङ पाठ्यक्रम विकासमा एम एस्सी हुन् । स्कुलको पाठ्यक्रम विकास सम्बन्धी तालिममा उनको विशेषज्ञता छ । श्रीमति गुरुङ अहिले पाठ्यक्रम विकास विशेषज्ञको रुपमा कार्यरत छिन् ।
इश्वरकी जेठी छोरी देव्यानी गुरुङले सिभिल इन्जिनियरिङमा P.hd. गरेकी छिन् । उनको विशेषता सिभिल इन्जिनियरिङ कम्प्युटर र रिसर्चतिर छ । कान्छी छोरी तारा गुरुङले सिभिल इन्जिनियरिङमा बी एस्सी गरेकी छिन् । दुइटै छोरीले आफ्नो विषय रोजेकोमा इश्वर गर्व गर्छन् ।
इश्वरको नेपाल माया
यद्यपि इश्वरको बसाई अमेरिकामा छ । तर उनको मन भने नेपालतिर छ । उनी भन्छन् – अमेरिका बसे पनि मनको भावभित्र त नेपाल छ नि !
नेपाली संस्कृति , परम्परा र शैलीप्रतिको मोहलाई उनले आफ्नै घरभित्र सजाएर राखेका छन् । घर पछाडि पर्खालको छेउमा बुध्दको आकर्षक मुर्ति सजाएका छन् । अर्को कुनामा आफ्नो जन्मठाउँ लमजुङको स्मृति ताजा गर्न लमजुङ रेस्टुराँको झल्को दिने सजावट गरेका छन् । घरको एउटा कोठामा रोदी घरको ब्यानर छ । घरभित्र पसेपछि नेपालको भाव आओस् भन्ने उनको अन्तर मनको इच्छा झल्किन्छ ।
आफ्नो रिटायर्मेन्ट पछि नेपाल नै बस्ने इश्वरको उत्कट चाहना छ । आफ्नो पुर्ख्यौली घर भएको ठाउँमा नयाँ घरको लागि नक्सा समेत तयार गरेको उनले हामीलाई देखाए । पोखरा असाध्य मन पर्छ उनलाई ।
विदेशमा बसेका नेपालीहरुलाई नेपालमा बस्ने , काम गर्ने र आफ्नो सीप ,दक्षता र पूँजी नेपालको विकासमा लगाउने उपयुक्त वातावरण भएमा हजारौं गैरआवासीय नेपाली मातृभूमि फर्किने विश्वास इश्वरलाई छ । नेपाल सरकारले चाहेमा आफ्नो शीप र दक्षता त्यहाँको एअरपोर्ट सुधार र विकासमा स्वयंसेवीरुपमा लगाउन उनी तयार छन् ।
इश्वरको दृढ बुझाइ छ -” हामी यहाँ बसेका गैरआवासीय नेपालीहरु त बंशजको आधारमा नेपाली हौं । त्यही नागरिकतालाई निरन्तरता दिन नेपाल सरकार किन मान्दैन ? साँच्चिकै नेपाल सम्बृध्द बनाउने होभने नेपालका राजनीतिक दल र सरकार गैरआवासीय नेपालीलाई स्वागत गर्न तयार होस् । हाम्रो शीप , अनुभव र पूँजी खर्च गर्न हामी पनि खुशी खुशी तयार छौं । धेरै वर्षअघि दक्षिण कोरियाले यस्तै नीति लिएर आर्थिक प्रगति गरेको थियो ।”
इश्वरको यति गहकिलो भाव सुनेर खुशी लाग्यो । कुराकानी निकै लामो भैसकेको थियो , रात पनि छिप्पिने संघारमा । हामीले विदा माग्यौं । बाटोभरी मेरो मन र मस्तिष्कमा इश्वर गुरुङको पेशागत अनुभव , दक्षता र शालीन व्यवहार खेलिरह्यो । उनको नेपालप्रतिको माया सम्झिरहेँ ।
लाग्यो – इश्वर जस्ता हजारौं नेपाली स्वदेश फर्के भने नेपाल कति समृध्द हुन्थ्यो !
प्रतिक्रिया