मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जीवन एक - मोड अनेक    

मुकुन्दलाई जहाँ पुगे पनि आखिर नेपाल नै प्यारो लाग्छ

मुकुन्दलाई जहाँ पुगे पनि आखिर नेपाल नै प्यारो लाग्छ

तारा बराल

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

(जीवन अचम्मको छ । साधारण लाग्छ हेर्दा । तर बुझ्दै जाँदा यो गहिरो र रहस्यमयी लाग्छ । सामान्य लाग्ने मानिसका पनि जीवनमा अनेक असमान्य घटना घट्छन् । कुनैबेला कसैको जीवनका ती अनुभवहरू अरुकालागि उदाहरण र प्रेरणा श्रोत बन्न सक्छन् । मानिसको जीवन त एउटै हुन्छ तर त्यहाँ धेरै मोडहरू पार गर्नु पर्ने हुन्छ । जीवनभित्र संघर्षका कथाहरू हुन्छन् । खुशी र उन्मादका क्षणहरु आउँछन् । आफूले कल्पनै नगरेका सफलताका मोडहरू फेला पर्छन् । यिनै सेरोफेरोमा हामीले, प्रवासमा बसेर समयसँग कुस्ती खेल्दै जीवनको यात्रालाई डोर्याइरहेका नेपालीहरूको खुशी अनि कथा व्यथा प्रस्तुत गर्ने यो स्तम्भ प्रारम्भ गरेका हौँ– सम्पादक )

झापाली समाजको कार्यक्रममा ढुंगाना

अमेरिकामा १७ वर्ष अथक परिश्रम गरेर सरल र शान्त जीवन बिताउन अहिले नेपाल फर्केका मुकुन्द ढुंगाना पुर्वको व्यस्त शहर इटहरीमा बस्छन् । हुने खाने झापाली परिवारमा जन्मेका उनी क्यालिफोर्नियाको लसएन्जलसलाई कर्मथलो बनाएर लामै समय उतै बिताए । दुइ हफ्ताअघि इटहरिस्थित उनको बासस्थानमा हामीले अन्तरंग कुराकानी गर्यौं ।अत्यन्त शालीन, शान्त र व्यवहारिक देखिने मुकुन्दसंग उनको विगतका कथाव्यथा, वर्तमानका आरोह अवरोह र भविष्यका योजना बारे खुलेर विमर्श गर्यौं ।

विक्रमसम्बत २०१४ असार १७ गते झापाको भद्रपुरमा जन्मेका मुकुन्द ढुंगानाको प्राथमिक शिक्षा शारदा प्राविमा भयो । उनले भद्रपुर हाइस्कुलबाट २०३० सालमा एसएलसी उत्तिर्ण गरे ।

मुकुन्दको कलेज यात्रा भने राजबिराजबाट शुरु भयो । पुर्वान्चल क्याम्पसबाटआइएल सकेर उनी भद्रपुरको मेची क्याम्पसमा बीएपढ्न गए । यसअघि उनले हल्दिबारी निमाविमा दुइवर्ष शिक्षक काम गरे । उनले राजनीति शास्त्र माटीयुबाट एमए पुरा गरे ।

मुकुन्द ढुंगाना

राजनीतिक नशा
जतिबेला उनको स्कुल र कलेज शिक्षा चल्दै थियो नेपालमा पंचायत थियो । प्रजातन्त्र थिएन । खुलेर बोल्न र लेख्न पाइदैनथ्यो । राजनीतिक दलहरु प्रतिबन्धित थिए । त्यस बेला विध्यार्थी संगठनहरुनै पंचायत विरुध्द आवाज उठाउने सशक्त माध्यम थिए ।

मुकुन्दको अन्तर मनमा पनि राजनीतिक चेत विस्तारै आगो भएर मौलाउन थाल्यो । विध्यार्थी राजनीतिबाट उनले आफुलाई स्वतन्त्रता र मानव अधिकारको पक्षमा उभ्याए । त्यसो त हल्दिबारी स्कुलमा शिक्षक हुँदै उनले पंचायत विरोधी राजनीतिलाई उर्जादिन्थे । प्रशासनको निगरानी र प्रेसर हुन थाले पछि उनले शिक्षकको जागिर छोडे ।

२०३७ सालमा नेपाल विध्यार्थी संघको झापा अध्यक्ष बने । २०३४/३५ देखि नै नेविसंघमा आवध्द मुकुन्दले मेची अंचलमा संगठन विस्तार र राजनीतिक चेतना बढाउने काम गरे । २०४० सालमा उनी नेविसंघको केन्द्रीय कोषाध्यक्ष बनेर विध्यार्थी राजनीति मार्फत नेपाली काँग्रेसको अभियान र आन्दोलनहरुमा सकृय रहे ।

नेपाली काँग्रेसका शीर्ष र समकालीन नेताहरुसंग संगठन विस्तार गर्दै देशका विभिन्न स्थानहरुको भ्रमण गरे । उनको राजनीतिक सकृयता २०४२ सालको सत्याग्रहसम्म निक्कै गजबको रह्यो । तर राजनीतिले मात्र जीवन कहाँ चल्थ्यो र ! मुकुन्दले आफुलाई विस्तारै राजनीतिबाट निस्कृय बनाउँदै व्यापार व्यवसायतिर अग्रसर गराए।

प्रतिबन्धितकालमा राजनीतिमा मुकुन्द जसरी सकृय भए प्रजातन्त्र आएपछि उनमा विस्तारै निस्कृयताले ठाउँलिन थाल्यो । उनीभन्छन्-हिजो आदर्शको राजनीति थियो, नेताहरु इमान्दार थिए ।

प्रजातन्त्र आएपछि सबै राम्रो होला, जनताका अपेक्षा पुरा होला भन्ने विश्वास नहुँदा उनलाई राजनीति प्रति नै विरक्तभावप लायो । मुकुन्दलाई अहिले राजनीती छोडेकोमा कुनै पश्चताप छैन ।

काठ व्यापारदेखि सिनेमासम्म

त्यति बेला झापा मोरङ्गमा घना जंगल थिए । काठको व्यापार राम्रो हुन्थ्यो । सरकारी स्वामित्वको टिम्बर कर्पोरेसनले काठको बजार व्यवस्थापन गरेपनि निजी ठेकेदारहरु काठ व्यापारमा निक्कै अग्रसर थिए । मुकुन्दले पनि केही समय काठको व्यापारमा हात हाले । तर त्यसले उनको चित्त बुझेन । काठ व्यापार छोडेर मुकुन्द कल्पनै नगरेको सिनेमा हल चलाउन तिर हाम्फाले । सिनेमा हेर्न शौखि नभएपनि हल नै संचालनको फुट्टो अनुभव थिएन उनलाई । २०४४ सालमा मोरङ्गको उर्लाबारीमा एउटा टुरिङ्ग टाकिज भाडामा लिए । जस्ताले बारेको त्यो हल आँफैमा नमुना थियो । उनको टुरिङ्ग टाकिजको व्यापार विस्तार हुदै गयो ।

झापाको गौरिगन्जमा अर्को सिनेमा हल खोले । काठ व्यापार भन्दा त्यो फाप्यो उनलाई । मुकुन्दलाई त्यतिले चित्त बुझेन, सिनेमा वितरणको(Film Distributor) काम शुरु गरे । त्यसले उनलाई राम्रै गर्यो । सिनेमाका नयाँ नयाँ मानिसहरुसंग भेटघाट भयो । साथीहरु बढे, व्यापार पनि बढ्यो । त्यति मात्र कहाँ हो र ! पुर्वान्चल चलचित्र संघको सभापति भए । सिनेमा निर्माण प्रति उनको हुटहुटी थियो । २०४८ सालमा त्यो पुरा गरे । साथीहरुसंग मिलेर भाउजु भन्ने सिनेमा बनाए । संयुक्त रुपमा मुकुन्दले पाँचवटा सिनेमा बनाए । उनको मिहिनेत र समयले साथ दियो । घाटा भएन, गुमाउनु परेन फाइदैभो । माओवादीआन्दोलन शुरु भएपछि खास गरी स्यानाबजार र गाउँतिरका सिनेमा हलहरु प्रभावित भए । जबर्जस्ती चन्दा असुली र लुटपाटले व्यवसाय चलाउनसक्ने अवस्था रहेन । टुरिङ्ग टाकिजको काम बन्द गरे ।

ढुंगाना दम्पत्ति

प्रेमिल परिवार

विश्व विध्यालयमा मुकुन्दलाई कविता भट्टराईले एउटी साथीले मन पराउने कुरा बताएपछि खुल्दुली भयो । आफुलाई मन पराउने को रहेछ भन्ने थाहा पाएपछि भने उनको मन शान्त भयो । कविताले सिफारिस गरेकी केटी निरजा पौडेलको बोलिचाली मन पर्न थाल्यो । प्रेमिलभावले कुराहरु हुनथाले । तीनवर्ष बिताए उनीहरुले एक अर्कालाई पर्गेल्न । निरजा जस्ती जीवन साथी पाए हुन्छ भन्ने निर्णयमा पुगे । २०४३ सालमा उनीहरुको प्रेम बिबाह भयो ।

निरजा-मुकुन्दका एक छोरा र एक छोरी छन् । छोरी मुग्धा बिबाहपछि अमेरिकाको कोलोराडो बस्छिन्, छोरा भने अहिले क्यालिफोर्नियाको लस एन्जलसमा छन् । छोरा मयंकको बिबाह गरिदिने उनीहरुको इच्छा भने अझै पुरा भैसकेको छैन ।

अमेरिकी सपना

मुकुन्द ढुंगानालाई अमेरिका गएर लामो समय उतै बिताउँछु भन्ने सोच कहिल्यै थिएन । तर सन् २००६ मा छोरो मयंकलाई उच्च शिक्षाको लागि अमेरिका पठाए ।

एकवर्ष पनि नबित्दै छोराको स्वास्थ्यमा देखिएको प्रतिकुलताले बाबु आमालाई पिरोल्यो । बाबु आमाबाट कहिल्यै टाढा नबसेको मयंक अमेरिकामा झण्डै डिप्रेसनको शिकार हुन सक्ने डरले उनीहरु त्यहाँ जानै पर्ने वाध्यता पर्यो । मुकुन्दले पहिला निरजालाई लस एन्जलस पठाए । त्यसको दुइ महिनापछि उनीपनि अमेरिका उडे ।

पुग्न त पुगे लस एन्जलस तर संघर्ष नगरी त्यहाँ बाँच्न पनि त गाह्रो थियो । दाजु शम्भु ढुंगाना त्यहीं थिए । दाजु भाउजुको ठुलो भरथेग भयो उनीहरुलाई । शुरुका दिनहरु निकै कठिन हुन्छन् अमेरिकामा । यताको शैक्षिक सर्टिफिकेटले त्यहाँ काम पाइदैन । मुकुन्द दम्पत्तिले स्टोरमा काम थाले। मुकुन्दले सेभेन इलेभनमा क्लर्कको काम पाए । कहिले ग्रोसरीस्टोर त कहिले ग्यासस्टेसन, उनको व्यस्त जीवन प्रारम्भ भयो ।

नेपालमा बिशौं जनालाई काम लगाएर हाकिम बनेर बिताएको पल र अमेरिकामा स्टोरमा बाह्रबाह्र घण्टा थकित भएर काम गर्दाको तुलना , अहिले सम्झदा मुकुन्दलाई अत्यास लाग्छ भन्छन् । Red Bull energy drink पिएर आफ्नो थकानलाई काबुमा राख्नु पर्ने त्यो समय निक्कै कठिन हुन्थ्यो । कामको थकान र अरु दुख पचाउनु पर्ने वाध्यता थियो । चटक्कै छोडेर नेपाल फर्किउँ जस्तो पनि लाग्थ्यो उनलाई तर छोराछोरीको भविष्य सम्झेरआफ्नो मन बुझाउँथे उनी । समय बित्तैगयो, पत्नी निरजाले पार्लरको ट्रेनिङ्ग लिएर काम शुरु गरिन् । पार्लरको राम्रै अनुभवले आत्मविश्वास बढायो । उनीहरुलेआफ्नै पार्लर खोले ।

निरजा पार्लरका ग्राहकहरुको सेवामा लागिन् भने मुकुन्द त्यसको व्यवस्थापनको जिम्मेदारीमा । त्यसपछि उनीहरुले पछाडि फर्केर हेर्नु परेन । पार्लरले मुकुन्दको आर्थिक र सामाजिक अग्रगमनलाई राम्रो साथ दियो । अरु साथीहरुसंग मिलेर पार्लर थप्दै गए । अहिले त्यहाँ उनीहरु सम्मिलित पाँच वटा पार्लर छन् ।

अन्तरराष्टृय झापाली समाजको अधिवेसनमा मुकुन्द ढुंगाना

समुदाय र सत्कार्य /झापाली विश्व संजाल

पार्लर बिजिनेस शुरु भएपछि मुकुन्दलाई केही फुर्सदिलो भयो । आर्थिक अवस्था पनि मजबुत हुनथाल्यो । क्यालिफोर्नियाको नेपाली समुदायसंग हिमचिम बढ्न थाल्यो । नेपालीहरुलाई अप्ठ्यारो पर्दा साथ र सहयोग पुर्याउनउनी अग्रसर हुनथाले । नेपालबाट आएका नयाँ नेपालीहरुलाई काममा लगाइदिने, विरामी पर्दा अस्पताल पुर्याउने लगायत एसाइलमका लागि आवश्यक सल्लाह र सहयोग गर्न थाले मुकुन्द ।

आफ्नो समुदायप्रतिको उनको लगाव र समर्पण नै थियो क्यालिफोर्नियामा मुकुन्दलाई नेपालीहरुले माया गरे । आफ्नो फुर्सद्को समय सामाजिक कार्यमा खर्चिने मुकुन्द २०१० मा एनआरएन अमेरिकाको बोर्ड मेम्बर बने । लस एन्जलसस्थित पशुपति फाउन्डेसनमा उनको सकृयता उल्लेख्य रह्यो । फलत : २०२१-२३ मा उनले त्यो महत्वपुर्ण संस्थाको अध्यक्ष बन्ने अवसर पाए । ढुंगानाले Friends of Nepal को अध्यक्षको जिम्मेवारी पनि निभाए ।

मुकुन्द अमेरिकामा रहेका नेपाली संस्थाहरुलाई बलियो र सक्षम बनाउने आफ्नो उदेश्य रहेको बताउछन् । अमेरिका मात्रै हैन विश्वभर छरिएर रहेका झापालीलाई संगठित गराएर झापाको आर्थिक , सांस्कृतिक , सामाजिक र शैक्षिक विकासमा सहयोग पुर्याउने लक्ष अनुरुप  झापाली समाजको गठन र उन्नयनमा  उनीसकृयछन् । अहिले मुकुन्द अन्तरराष्टृय झापाली समाजको अध्यक्ष छन् । झापाली समाजलाई नेपाली राजनीतिको प्रभावबाट मुक्त राख्दै झापाको सम्वृध्दि र विकासमा योगदान गर्ने यो समाजको उदेश्य रहेको उनी बताउँ छन् । मुकुन्दको आत्मिक चाहना छ – झापाको विकासमा केही गर्न सकियो भने आफु झापाली भएको सार्थक हुन्छ ।

पशुपति फाउन्डेसनको अगुवाइ गर्दै ढुंगाना

नेपाल नै प्यारो !

मुकुन्दले सत्रवर्ष अमेरिकामा बिताए । छोराछोरीलाई आत्मनिर्भर बनाए । परिश्रम गरे, संघर्षको लामै अनुभव बटुले । आफ्नो समुदायको एकता र उन्नयनमा सहयोगी बने । यतिखेर आफ्नी पत्नी सहित उनी नेपालमा छन् । हाम्रो सम्बादको क्रममा उनी भन्दै थिए -धेरै कुरा सिकायो अमेरिकाले । विकास र सम्वृध्दिको बैभव छ तर पनि मन नेपाल नै भन्छ । अब त उमेरले पनि विश्राम गर भन्छ ।

मैले उनलाई सोधेँ -अब नेपालमा के गर्ने सोच छ ?

मुकुन्दले शालीन जवाफ दिए -अबको बाँकी जिन्दगी नेपालमै बिताउने विचार छ । अब व्यापार व्यवसाय केही नगरी आफुले अमेरिकामा कमाएको पैसा यहीं खर्च गर्ने योजना छ । नेपाल भन्दा राम्रो र प्यारोअरु कहाँ हुन्छ र !