नेपाल

शैक्षिक गुणस्तर र प्रशासनिक सेवालाई चुस्त बनाउँदै त्रिवि

शैक्षिक गुणस्तर र प्रशासनिक सेवालाई चुस्त बनाउँदै त्रिवि


शेयर गर्नुहोस:

81
Shares

  • change font
  • change font

काठमाडौँ । शैक्षिक गुणस्तर उकास्न र प्रशासनिक सेवालाई चुस्त बनाउन त्रिभुवन विश्वविद्यालयले विकेन्द्रीकरणको नीतिलाई थप विस्तार गर्ने भएको छ । स–साना प्रशासनिक कामका लागि पनि क्याम्पसले केन्द्रीय कार्यालय नै धाउनुपर्ने विद्यमान झन्झट अन्त्य गर्न त्रिविले यो कदम चाल्न लागेको हो ।

विश्वविद्यालयका उपकुलपति भोला थापाका अनुसार शैक्षिक सुधारसँगै प्रशासनिक प्रभावकारिता, आर्थिक पारदर्शिता र संस्थागत जवाफदेहिता सुनिश्चित गर्नु नै यो अभियानको मुख्य लक्ष्य हो । ‘विकेन्द्रीकरण नियम, २०५५’ लाई समयानुकूल अध्ययन गर्दै हालसम्म यस प्रक्रियामा सामेल नभएका क्याम्पसलाई समेट्ने त्रिविको तयारी छ ।

Advertisement

यसअघि विकेन्द्रीकरणमा गएका अधिकांश अध्ययन संस्थान र क्याम्पसले शैक्षिक गुणस्तरभन्दा पनि आर्थिक अधिकारको प्रयोगमा मात्र बढी ध्यान दिएको त्रिविको निष्कर्ष छ ।

आफूअनुकूल आर्थिक निर्णय गर्दा विश्वविद्यालयमा बेरुजुको चाङ बढेको भन्दै अब आर्थिक पक्षसँगै शैक्षिक सुधारलाई अनिवार्य प्राथमिकतामा राखेर नियम कार्यान्वयन गरिने उपकुलपति थापाले बताए ।

प्रचलित विकेन्द्रीकरण नियमले अध्ययन संस्थान, संकाय, अनुसन्धान केन्द्र तथा आङ्गिक क्याम्पसलाई अनुदान दिनुका साथै नीति निर्माण, योजना कार्यान्वयन, अनुगमन, मूल्यांकन र सामान्य कारबाही गर्नेसम्मको स्वायत्त अधिकार दिएको छ ।

यस्तै, कार्यकारी परिषद्ले तोकेको बाहेक अतिरिक्त शुल्क निर्धारण गर्ने बाटो पनि नियमले खुला राखेको छ । आर्थिक व्यवस्थापनतर्फ सम्बन्धित निकायले आर्जन गरेको कुल आम्दानीको ३० प्रतिशत हिस्सा विश्वविद्यालयको केन्द्रीय कोषमा बुझाउनुपर्ने प्रावधान छ ।

बाँकी ७० प्रतिशत रकम भने आफ्नै छुट्टै कोषमा जम्मा गरी व्यवस्थापन तथा विकास परिषद्बाट बजेट स्वीकृत गराएर खर्च गर्न पाइन्छ । त्रिविको पछिल्लो तथ्यांकअनुसार हालसम्म आठ क्याम्पसले पूर्ण स्वायत्तता प्राप्त गरिसकेका छन् ।

त्यसैगरी, सात अध्ययन संस्थान तथा अनुसन्धान केन्द्र र ४२ आङ्गिक क्याम्पस विकेन्द्रीकरणको अभ्यासमा गइसकेका छन् भने अब जम्मा १२ क्याम्पस मात्र यस प्रक्रियामा जोडिन बाँकी छन् ।