मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   
विचार / ब्लग    

खै त हाम्रो नागरिकता ?

खै त हाम्रो नागरिकता ?

तारा बराल

शेयर गर्नुहोस:

11.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दशमहिना बितिसकेछ हामी बुढाबुढीले गैरआवासीय नेपाली नागरिकता लिएको ! त्यसबेला निक्कै तामझाम गरेर सरकारले नागरिकता दिन शुरु गर्‍यो । हामी पनि उत्साहित भयौं । दुइमहिना मात्र भएको थियो अमेरिकाबाट स्थायीरुपमा नेपाल बसाइँ सरेको । गैर आवासीय नागरिकता लिएपछि अब हाम्रो नेपाल बसाइ सहज र सरल हुने विश्वाशमा हामी फुरुङ्ग थियौं । नेपाल सरकारका सबै निकायहरुले हाम्रो नागरिकतालाई सहजरुपले मान्यता देलान् भन्ने अपेक्षा थियो । तर सोचेजस्तो कहाँ हुन्थ्यो ! घरजग्गा किनेर पास गर्न मालपोत कार्यालय पुग्यो , हाम्रो नागरिकता प्रयोजनहीन भनियो । भीसाको म्याद थप्न अध्यागमन विभाग पुग्दा त्यहाँ पनि नागरिकता कागजको खोस्टो झैं मानियो , काम भएन ।

गैरआवासीय नागरिकता ऐन कार्यान्वयन गर्न यसको कार्यविधि र नियमावाली नै बनेको छैन । कहिले बन्ला त भनेर सोध्यो , जवाफ आउँछ एकदुइ महिना भित्रै । तर त्यो दुइमहिना अहिले दशमहिना बित्दासम्म आएको छैन । कसरी पत्याउने सरकारलाई ? राजनीतिक दलका नेताहरु सत्ताको म्यूजिकल चेयर खेलमा मग्न छन् । हाम्रो लागि संवेदनशील हुने फुर्सद उनीहरुलाई छैन । कसरी विश्वास गर्नु उनीहरुबाट विदेशमा बस्ने लाखौं नेपालीहरुको हितमा आफ्नो सोचलाई फराकिलो बनाउलान भनेर ?

अमेरिका यूरोप लगायत विदेशका अन्य ठाउँबाट फर्केर नेपाल मै बसौं , आफ्नो आयआर्जन र सीप यहीँ खर्च गरौं भन्ने उदेश्य बोकेर यहाँ आएका दर्जनौं नेपालीहरुलाई हामीले भेट्यौं । सबै निराश झैं लाग्यो । नेपाल मै बसेर व्यवसाय गर्ने , आफ्नो बाँकी जीवन मातृभुमीलाई समर्पित गर्ने त्यो उच्चतम अठोटमा तगारो लाग्ला भन्ने एकप्रकारको भय देख्यौं । त्यो भय , त्यो अप्ठ्यारो अरु कारणले हैन गैरआवासीय नेपालीहरुप्रति नेपाल सरकारको उपेक्षाको कारणले उत्पन्न भएको हो ।

नेपालका राजनीतिक दल र नेपाल सरकारले विदेशमा वर्षौंदेखि बसेका नेपालीलाई नेपालको आर्थिक विकास र सम्वृध्दिमा सारथी बनाउने सोच राखेका थिए भने बंशजको आधारमा नेपाली नागरिक सरह स्वागत गर्ने कानुनी व्यवस्था गर्थे होलान् ! विदेशको नागरिकता लिएका नेपालीहरुलाई नेपालमा बसोबास गर्ने सहज र सरल व्यवस्था हुनसके आफ्नो रिटायर्मेन्ट पछि लाखौं नेपाली यतै आएर बस्ने थिए । उनीहरु रित्तो हात आउने थिएनन् सम्पत्ति र सीप पनि बोकेर आउने थिए । अहिलेको पुस्ता पनि त्यो नागरिकतासंग जोडिने थियो । नेपाल र विदेशमा रहेका परिवार बीच सम्बन्ध सेतु निरन्तर जोडिने थियो । यति संवेदनशील विषयलाई नेपाल सरकारले सम्बोधन गर्ने प्रयास किन गर्दैन ?

हामीले लिएको गैरआवासीय नागरिकता कतै काम नलाग्ने भएर ड्रयरमा थन्किरहेको केही समयपछि झापाली भाइ वासु घिमिरे हामीलाई भेट्न आए । उनी हामीभन्दा केही महिना अघि नै क्यालिफोर्नियाबाट नेपाल मै केही गर्ने सोचका साथ यहाँ फर्केका थिए । त्यो दिन वासुसंग लामो गफ भयो । काठमाडौमा मेक्सिकन परिकार पस्किने अमेरिकी रेष्टुराँ खोल्ने तयारीमा रहेछन् । उनले नेपालमा बसेर व्यापार व्यवसाय गर्ने तयारीमा झेल्नु परेको प्रशासनिक झन्झट र समस्याहरुबाट पाएको दु:ख अनुभव गरेपछि उनको नेपाली मन आन्दोलित हुन पुग्यो ।

गैर आवासीय नेपालीहरूले बंशजको आधारमा नागरिकता पाउँदा मात्रै नेपालको आर्थिक विकाश र राजनीतिक स्थिरतामा योगदान गर्न सक्छन् भन्ने आत्मज्ञान त्यसपछि पलायो । त्यसैको उत्पादन थियो नागरिकता खै अभियान । वासु अहिले नेपालमा बसेर त्यही अभियानलाई अघाडि बढाउन सक्रिय देखिन्छन् । उनी प्रत्येक दिन नेपालका राजनीतिक व्यक्तिहरू , कलाकार , साहित्यकार , पत्रकार र समाजका बहुआयामिक क्षेत्रका प्रतिष्ठित मानिसहरुलाई भेटेर गैरआवासीय नेपालीहरुको नागरिकताको आवाजमा सद्भाव र सहयोग जुटाउन सक्रिय देखिन्छन् । उनको अभियान विदेशमा बस्ने सबै नेपालीको अन्तर्मनको आवाज बनोस् भन्ने चाहना मभित्र पनि जाग्यो । गैरआवासीय नागरिकताको एउटा खोष्टो बोकेर रनभुल्लमा बसिरहेका हामीजस्ता मान्छेलाई नागरिकता खोज्ने अभियानले आकर्षित गर्छ नै ।

नेपाल सरकारले प्रदान गरेको गैरआवासीय नागरिकता प्रयोजनहीन देखिएपछि त्यसको विकल्पमा अर्को उपाय खोज्नुलाई असान्दर्भिक भन्न मिल्दैन । अमेरिकाबाट अहिले नेपाली नागरिकताको निरन्तरता नाम दिएर अर्को अभियान शुरु भएको छ । विदेशमा बस्ने नेपालीहरुको हस्ताक्षर संकलन गरी नेपाल सरकारलाई बुझाउने यो अभियानले कस्तो रुप लिन्छ , हेर्न बाँकी नै छ । कुनैपनि विषय उठ्नु वा उठाउनु ठूलो कुरा हैन । तर यसको प्रभावकारिताले के परिणाम दिन्छ त्यो महत्वपूर्ण हुन्छ ।

विदेशमा बस्ने नेपालीहरुका समस्या समाधानमा व्यक्तिगत र संस्थागत सबैतिरबाट विना स्वार्थ साथ र सहयोग आवश्यक पर्छ , चाहे त्यो नगरिकताको निरन्तरता अभियान होस् चाहे नागरिकता खोइ अभियान । छरपष्ट छरिएर उठेको आवाज बलियो हुँदैन । सबै संगठितरुपले एकताबद्ध भएर लाग्यौं भने हाम्रो प्रयास सार्थक हुन्छ । हाम्रो उदेश्य त अहिलेको कानुनले नेपाली नागरिकलाई दिएको राजनीतिक अधिकार बाहेक सबै प्रकारका अधिकार गैर आवासीय नेपालीले पाउनुपर्छ भन्ने हो । नेपाल सरकार र राजनीतिक दलहरुको मन र मस्तिष्क फराकिलो भए राजनीतिक अधिकार ठूलो विषय नहुनु पर्ने !