मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
जीवन एक - मोड अनेक    
बोस्टन   
यो कथा होइन   

तारा–बिटु जोडीको ‘नेपाल सपना’

तारा–बिटु जोडीको ‘नेपाल सपना’

दिनेश कार्की

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बष्टन (अमेरिका) । अमेरिकालाई सपनाको गन्तव्य देशको रुपमा मान्नेहरु धेरै छन् ।

तर अमेरिकामा २० वर्ष बिताएका एक जोडी आफ्नो जन्मभूमि नेपालमा फर्किने तयारीमा छन् । अमेरिका यस्तो देश हो, जहाँ अवैध रुपले आउँदा पनि थुप्रै नेपालीहरुले दलाललाई लाखौं रुपैयाँ बुझाएर चोर–बाटो हुँदै आउने गर्छन् ।

अमेरिका आउनुअघिको पेशा क्रमशः पत्रकारिता र कानून व्यवसाय भएका तारा बराल र बिटु केसी अमेरिकाबाट नेपाल सपना देखिरहेका छन् । केसी भन्छिन्, “अमेरिका आउनेका अमेरिकन ड्रिम होलान्, तर हाम्रो नेपाल सपनामा सानो र शान्तमय जीवन बिताउने हो ।”

उनीहरु नेपालमा फर्कदै सामाजिक क्षेत्र र फेरि लेखनमै सक्रिय हुने अठोट व्यक्त गर्छन् । सन् २०२० तिर तारा बिटुको जोडी नेपाल फर्किने तयारीमा थियो । तर उनीहरु त्यतिबेला कोभिड महामारीको लकडाउनका कारण रोकिएका थिए ।

कोभिडको अलमलले नेपालमा फर्किने उनीहरुको उद्देश्य र औचित्यलाई झन् दरिलो बनायो । तारा—बिटु दम्पतीले जब नेपालमा सधैँका लागि फर्किने निर्णय गर्‍यो । त्यसपछि उनीहरु आफ्नो व्यवसाय बेचविखन र छिनोफानो गरेर तीन महिनाका लागि नेपाल गएका थिए ।

आफन्त र साथीभाइको प्रेमले पुलकित उनीहरु काठमाण्डुको धुवाँ धूलो र बिग्रहले केही बिथोलिएका थिए । ‘‘काठमाण्डुको धुवाँ धूलोले यहाँ बस्न सकिँदैन कि जस्तो लागेको थियो,’’ बिटुले भनिन्, ‘‘जब हामी झापाको समथर भू–भाग र सफा परिवेशमा पुग्यौं त्यसले भने खुसी तुल्यायो ।’’

उता बराल अमेरिकामा कमाएको आफ्नै मुलुकमा खर्च गर्ने योजना सुनाउँछन् । उनी भन्छन्, ‘‘पैसाले जति भए पनि पुग्दैन, अपेक्षा र आकांक्षा जति बढाए उति बढ्छ । अबको बाँकी जीवन मातृभूमिमै बिताउने हो र जे जति सम्पत्ति जोहो गरेका छौं, त्यसलाई पनि आफ्नै मुलुकमा खर्च गर्ने हो ।’’

तारा बरालको उमेरले अवकाशप्राप्त गर्ने बेला भइसक्यो । छोराछोरी पनि हुर्किइसके र ठूलो आर्थिक जिम्मेवारी पनि छैन । नेपालमा जन्मे हुर्केर पछि घरपरिवार र बालबच्चाका लागि अमेरिका, अष्ट्रेलिया वा युरोपका देशहरु बसाइँ सराइँ गरेका मान्छेको साझा कथा र पथ हुन सक्छ, तारा बिटुको यो नेपाल फिर्ती ।

सन्तानप्रतिको आफ्ना आर्थिक जिम्मेवारीहरु पूरा गरिसकेको एउटा आम आप्रवासी नेपाली जो नेपालमै फर्किन चाहन्छ । जो अवकाशपछिको जीवनमा अमेरिकामा रोकिन चाहँदैन बाँकी जीवन यो यस किसिमका प्रवासी नेपालीहरुको पनि कथा हो ।

आफ्नो जीवनको एउटा सक्रिय कालखण्ड विदेशमा बराइँसराइँ गरेर त्यही अर्थोपार्जन गर्ने र अवकाशको समयमा जन्मभूमि ‘मिस’ भएर आफ्नै परिवेश सहज वा प्यारो लागेर फर्किनेहरुको यो ‘रिभर्स माइग्रेसन’को एउटा ‘ट्रेन्ड’ हो । नेपालमा ‘रिभर्स माइग्रेसन’ अबका दिनमा ठूलो संख्यामा हुँदै छ ।

यसलाई व्यवस्थित र थप आकर्षित गर्न सरकारले भावी दिनमा अनूकुल नीति नियमको तर्जुमा गर्नुपर्ने देखिन्छ । किनभने विदेसमा कमाएको पैसा र सीप लिएर फर्किनेहरुले नेपालको स्थानीय बजार, पुँजी तरलता र सामाजिक जीवनलाई चलायमान बनाउँछन् ।

अमेरिका अर्थात् युएसएलाई कतिपयले ‘यु स्टार्ट अगेन’ वा ‘फेरि सुरुवात गर’ पनि भन्छन् । हुन पनि अमेरिकाको शिक्षा वा तालिम छैन भने जे काम सुरु गर्न पनि लगभग शून्यकै तहबाट यहाँ कामको सुरुवात गर्नुपर्छ ।

अमेरिकाको त्यो सक्रिय २० वर्षको अवधिमध्ये सुरुका केही वर्ष यताको मोटेल र रियलस्टका सीप सिक्नमै बित्यो, बरालको पनि । संघर्षका ती दिनहरुमा मोटेलमा १२ घण्टाको रात्रीकालीन सिफ्टमा काम गरेका बरालले प्रोफेशनल कामहरु भेट्दै गए ।

नेपालमा छँदा ठूलो पद र आरामदायी जीवन भए पनि त्यो स्मृतिलाई थाती राख्दै फेरि संघर्ष गर्नुपरेको थियो ।

रियलस्टेट अपार्टमेन्ट व्यवस्थापन तालिम लिएपछि उनले केही वर्ष एसोसियट म्यानेजर र म्यानेजरको जागिर पनि खाए । अनि त्यसपछि त्यो सीपको उपयोग गर्दै आर्थिक अवस्था सुदृढ बनाउँदै व्यापार व्यवसाय गरे ।

अमेरिकाको ह्यूस्टन टेक्सासबाट सुरु भएको संघर्षले त्यही आर्थिक सम्पन्नता दिलायो, गरगहनाको व्यवसायमार्फत् । र उनी त्यही ह्यूस्टन टेक्सासबाट नै नेपाल फर्किंदैछन्, केही सातापछि ।

तारा–बिटु जोडी
तारा–बिटु जोडी

बरालले पञ्चायतकालमा आफ्नै सम्पादकत्वमा साप्ताहिक विचार प्रकाशन गर्थे । प्रजातान्त्रिक विचारधाराको उक्त पत्रिका पूर्वाञ्चलबाट प्रकाशित हुने पत्रिकामध्ये प्रभावशाली मानिन्थ्यो भने विष्णु निष्ठुरी, कृष्ण धराबासी पनि त्यही पत्रिकामा पत्रकारिता गर्थे ।

नेपालको सरकारी मुखपत्र गोरखापत्र दैनिकको प्रधानसम्पादक र नेपाल टेलिभिजनको अध्यक्षसमेत बनेका बराललाई अमेरिका बसाइँको क्रममा ‘मिस’ भएको कुरा लेखन नै थियो । अमेरिका आइसकेपछि फाट्टफुट्ट नलेखेका पनि होइनन् बरालले ।

अमेरिकाको डालस टेक्सासबाट प्रकाशित तथा प्रसारित हुने अनलाइन न्यूज पोर्टल हिमालयखबर डटकमको सल्लाहकार सम्पादकको रुपमा जीवन एक मोड अनेक भन्ने स्तम्भमा मानिसका जीवन भोगाइका कथाहरु लेखे ।

तर सक्रिय रुपले लेख्ने धोको अब नेपालमै गएर पूरा गर्ने उनको योजना छ ।

‘‘अवकाशप्राप्त जीवन अब लेखेरै बिताउने हो,’’ उनी भन्छन्, ‘‘लेख्न दिमागमा धेरै कन्टेन्टहरु छन् । केही कुरा मैले नोटमा पनि टिपेर राखेको छु ।’’

बराल नेपालका दूरदराजका स्थानहरुमा गएर यात्रा–वृत्तान्तहरु लेख्ने योजनामा छन् । बरालकी जीवन साथी बिटु केसी नेपालमा हुँदा कानुन व्यवसाय र पत्रकारितामा सम्बद्ध थिइन् । अमेरिका आएपछि उनको परिचयमा कवियत्री तथा गजलकार पनि थपिएको छ ।

उनको गरगहनासम्बन्धी व्यवसायमा केही अनुभव भएकाले आफ्नै व्यवसाय किन नगर्ने भनेर यसको व्यवसाय सुरु गरेको बराल बताउँछन् । गरगहनासम्बन्धी व्यवसायले उनीहरुलाई आर्थिक रुपले समृद्ध बनायो ।

अमेरिकाको एकांकीपन मन नपरेर र नेपाल मिस भएर उनले दुई पटक त अमेरिका बस्दिनँ भनेर नेपाल गएकी थिइन् । तर दोस्रोपटक नेपाल गएर फर्किएपछि भने उनी अमेरिका २० वर्ष ढुक्कैले बसिन् ।

प्रवास बसाइँका सुरुवाती दिनहरुमा विविध भावलाई लिएर उनले एउटा मुक्तक संग्रह पनि प्रकाशित गरिन् ।

मायाको मात शीर्षकको मुक्तक संग्रहमा एउटा मुक्तक यस्तो थियो ।

घुम्न मलाई मेरै देशको डाँडा पाखा मन थियो
पुग्न मलाई मेरै देशको कुनो काप्चो मन थियो
कुन अभागले गर्दाखेरि परदेशको वास गरायो
चुम्न मलाई मेरै अग्लो सगरमाथा मन थियो ।

अन्तमा, मन दह्रो बनाएर अमेरिकामा धेरै वर्ष बिताइन् । आफ्नै अनुभवमा आधारित एउटा व्यवसाय गरगहनाको व्यापार गरेर ।

अमेरिकामा आइसकेपछि उनीहरु दुवैलाई नेपालको मिस भएको कुरा सामाजिक परिवश रहेछ । नेपालमा फर्केपछि कस्तो ठाऊँमा बस्ने भन्नेबारेमा बराल र केसी दुवैको उस्तै योजना छन् ।

दुवैलाई काठमाण्डुको भीडभाडमा अवकाशप्राप्त जीवन बिताउनु छैन । काठमाण्डुको भीडभाडबाट अलिक टाढा भक्तपुरको सूर्यविनायक र झापाको बुधबारेमा बस्ने उनीहरुको योजना छ ।

तारा–बिटु जोडी
तारा–बिटु जोडी

झापाको बुधबारे बरालको बाल्यकालीन यादहरु जोडिएको स्थान हो । प्राकृतिक अवस्थितिमा पनि इलाम पहाडको ठ्याक्कै फेदीमा रहेको ठाऊँ हो, बुधबारे । बरालले शान्ति आदर्श हाइस्कुलबाट २०२५ सालमा प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरेका थिए ।

उनी आफूलाई उक्त विद्यालयको उत्पादन हुँ भन्न पाउँदा गौरवान्वित महसुस हुने बताउँछन् । त्यही विद्यालयका साना भाइ–बहिनीहरुलाई केही पढाउने वा सिकाउने सोच पनि उनको छ । ‘‘मेरो फुर्सदको समय मैले जीवनमा सिकेका र उनीहरुलाई उपयोगी हुनसक्ने कुराहरु सिकाउने छु’’ बराल भन्छन् ।

उनी आफ्नो अवकाशप्राप्त जीवनको एउटा योजनाकाबारेमा प्रष्ट पार्न चाहन्छन् । जीवन भोगाइले बराललाई जीवन बाँच्ने भनेको वर्तमानमा हो भन्ने सिकायो ।

प्रवासमा बस्दा नेपाली भएर बस्नुपर्ने र चिनिनुपर्ने बरालको सुझाव छ । उनले आफू नेपालमा छँदा नेपाली कांग्रेससँग नजिक भएपनि अमेरिकामा रहँदा जनसम्पर्क समितिको जिम्मेवारी लिन अस्वीकार गरेका थिए ।

कुनै पनि राजनीतिक पार्टीको झोले भएर र नेपालको जस्तो वर्गीय तथा क्षेत्रीय संगठनहरुमा विभाजित हुनु नहुने बरालको सुझाव छ ।

अमेरिका बसाइले बिटुलाई एउटा फरक किसिमको सौख दियो गार्डेनिङको । जुन आवासमा बस्ने हो त्यहाँ एउटा सानो फुलबारीको बगैचा बनाउने केसीको सोच छ । अमेरिका बसाईंका क्रममा केसीले निकै आनन्द महसूस गर्ने सौख गार्डेनिङ हो । भन्छिन्, गार्डेनिङ गर्न पाएँ भने म त्यसमा एकदम आनन्दित हुन्छु ।

जिन्दगीको सबैभन्दा ठूलो खुसी र प्रतिक्षा नेपाल जानु नै भएको छ । कवि हृदयकी बिटु केसी आफ्ना यी भावनाहरुलाई प्रस्फूटन नगरी कसरी शान्त हुन सक्थिन् र । एउटा केही समय लेखेको एउटा कविताले उनी के चाहन्छिन् भनेर ठ्याक्कै बताउँछ उनको चाहना र भावलाई । जसका केही लाइनहरु यसप्रकार छन् ।

बिहानीमा हिमाल हाँसोस्
हरियालीमा पहाड बाँचोस
गह्रा, खेत, बारीहरु
लहलह झुल्दै नाचीरहोस
जिन्दगीलाई मनन गरुँ
जिन्दगीलाई नमन गरुँ
आहा
मन्त्रमुध्द हँदै
खुशीखुशी म त्यहीं मरुँ

पछिल्ला दिनहरुमा बिटु केसीलाई आध्यात्मिक विषयको अध्ययनले आनन्द दिने गरेको छ । उनलाई दार्शनिक तथा आध्यात्मिक गुरु रजनीश ओशोका प्रवचन तथा पुस्तकहरु मन पर्छन् । ध्यानका विभिन्न विधिहरु उनको आध्यात्मिक यात्राका खुट्किलाहरु भएका छन् ।

उनलाई आजभोलि जिन्दगीको भागदौड र प्रतिस्पर्धाबाट पन्छिएर टाढा बस्न मन लाग्छ । आखिर मर्नु नै छ एकदिन भने खु्ला हात तयार भएर शान्त हृदयले नैं जाऔं न, उनी मृत्यु् चिन्तन गर्छिन् ।

बराल यथार्थतामा विश्वास गर्छन् । र भन्छन्, ‘‘जीवन बाँच्ने भनेको वर्तमानमै रहेछ ।’’ उनले अमेरिकामा सिकेको ज्ञान र अनुभव नेपालमा प्रयोग गर्नुलाई वर्तमानको सही सदुपयोगको रुपमा हेर्छन् । सपना त सपनै हो । एउटा सपनाले परदेशको रोमाञ्चक यात्राको रंग भर्यो ।

समयको अन्तरालपछि अर्को सपना स्वदेश फर्काउन मरिहत्ते गर्छ । अमेरिका ल्याउने पनि सपना थियो र अमेरिकाबाट फर्काउने पनि अर्को सपना । एउटा सपनाले गन्तव्य तय गरेर अमेरिकातिर डोहोर्यायो र समयको अन्तरालपछि अर्को सपनाले फेरि जहाँबाट यात्रा थालनी गरेको हो त्यहीँ जाऊँ भन्छ ।

यो सपनाको संशोधन हो कि सपनाको व्यर्थता वा वास्तविकतासँगको आलिङगन या सपनाको अर्को रंग । भनिन्छ, मान्छेको उमेर बढ्दै जाँदा ऊ आफ्नो जरा वा जग भएतिर बढी उत्सुक हुन्छ । शक्ति उत्कर्षमा हुँदा विस्तारित उसका इच्छा आकांक्षाहरु जसै शक्ति कम हुँदै गर्दा उ आफूलाई खुम्चयाउँदै लिएर जान्छ । जीवनको प्रारब्ध छान्ने छुट मान्छेलाई छैन ।

तर जीवनमा कहाँ र कसरी संघर्ष गर्ने र कहाँ विश्राम गर्ने भन्ने छान्न सक्छन् ।

तारा–बिटु जोडीको 'नेपाल सपना'
तारा–बिटु जोडीको ‘नेपाल सपना’