मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

हरेक श्वासमा जीवनको आनन्द लुकेको हुन्छ : प्रेम रावत

हरेक श्वासमा जीवनको आनन्द लुकेको हुन्छ : प्रेम रावत

केशव भट्टराई

शेयर गर्नुहोस:

594
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रूपन्देही । अन्तर्राष्ट्रिय शान्तिवक्ता, सुप्रसिद्ध लेखक एवम् शान्तिदूत प्रेम रावतले शनिबार नेपालमा हजारौँ स्रोताहरूलाई सम्बोधन गरेका छन् । रूपन्देहीको सैनामैना–७ स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा आत्मज्ञान प्रचार संघले कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा सम्बोधन गर्दै उनले भने, “म आज यहाँ तपाईंहरूलाई मानिसको जीवन अनमोल छ र यो फेरि पाइँदैन भन्ने कुरा सम्झाउनका लागि आएको हुँ । तपार्ईंभित्र धेरै राम्रा कुराहरू छन् । तपाईंभित्र दया छ, करुणा छ । तपाईंभित्र मानिसको कल्याण हुने सबै कुराहरू छन् ।”

प्रेम रावतले थपे, “जीवनमा खुसी हुनका लागि नै हामी यी सबै कुरा गरिरहन्छौँ तर वास्तविक खुसी हाम्रो हृदयमा छ । खुसी हुनुहोस् किनभने तपाईंभित्र यो श्वास आइरहेको छ । श्वासको आवागमन नै सृष्टिकर्ताको कृपा हो । तपाईंले यो श्वासको मूल्यलाई नबुझेसम्म यो जीवन कति अमूल्य छ भन्ने कुरालाई बुझ्न सक्नुहुन्न । यस श्वासलाई पहिचान गर्नुहोस्, श्वासलाई चिन्नुहोस् । यसमा तपाईँलाई खुसी दिन सक्ने चिज समाहित छ ।”

उनले भने, “विनाप्रेम कुनै सम्बन्ध हुँदैन । सबै नातासम्बन्ध प्रेमसँग गाँसिएको हुन्छ । तपाईंसँग तपाईंको सम्बन्ध कस्तो छ ? प्रेमको, आभारसहितको या कुनै अर्कै खालको छ ? प्रेममा जस्तो छ त्यही रूपमा स्वीकार गर्ने खालको गहन सम्बन्ध हुन्छ । साँचो प्रेम भएकै कारणले तपाईं अरूको खराबीलाई हेर्नुहुन्न, राम्रोपनलाई मात्रै हेर्नुहुन्छ ।”

उनले अगाडि थपे, “ज्ञान दुई प्रकारका हुन्छन् । एउटा स्वयम्को ज्ञान अनि अर्को यो संसारको ज्ञान । एउटाले आनन्द प्रदान गर्छ भने अर्कोले चाहे जतिसुकै धेरै ज्ञान भए पनि आनन्द दिन सक्दैन । तपाईँले खोज्नुभएको चिज तपाईंभित्र छ, यसलाई चिन्नुहोस् । तपाईं त्यस चिजको ध्यान गर्न सक्नुहुन्छ अनि आफ्नो जीवनलाई आनन्दमय बनाउन सक्नुहुन्छ ।”

यस कार्यक्रममा नेपाल–भारतको सीमावर्ती क्षेत्रबाट उपस्थित हजारौँ मानिसहरूले सहभागिता जनाएका थिए । भारी वर्षा भइरहेको समयमा समेत सबै मानिसहरूले कार्यक्रमबाट लाभ लिएका हुन् ।

सन् १९७० को दशकमा एक विलक्षण प्रतिभाशाली बालक तथा प्रसिद्ध किशोर व्यक्तित्वका रूपमा यात्रा सुरू गर्ने प्रेम रावतले मानिसहरूमा स्पष्टता, प्रेरणा र जीवनप्रतिको गहन बुझाइ प्रदान गरेका छन् ।

एक विश्वशान्तिदूतको भूमिकासँगै उनले करोडौँ मानिसहरूलाई प्रभाव पारेका छन् । आज उनको सन्देश ११० भन्दा धेरै देशमा सुन्ने गरिन्छ । उनी हरेक व्यक्तिलाई आशा र शान्तिको सन्देश प्रदान गरेर आन्तरिक सुख र शान्तिसम्बन्धी व्यावहारिक मार्ग देखाउँछन् ।

उनका कार्यहरूलाई संसारले प्रशंसा गरिरहेको छ । यसमध्येमा उनले एकल लेखकद्वारा आफ्नो पुस्तक (स्वयम्को आवाज) वाचनमा सबैभन्दा धेरै उपस्थिति (एक लाख १४ हजार ७०४ जना) का लागि, एउटै सम्बोधनमा सबैभन्दा धेरै दर्शकको संख्या (तीन लाख ७५ हजार ६०३ जना) का लागि र बहुलेखकद्वारा पुस्तक वाचनमा सबैभन्दा धेरै दर्शकको संख्या (१ लाख ३३ हजार २३४ जना) का लागि गरेर तीनवटा गिनिज विश्वकीर्तिमान बनाइसकेका छन् । यसमध्ये अघिल्ला दुईटा विश्वरेकर्ड सन् २०२३ मा र बहुलेखकद्वारा पुस्तक वाचनको रेकर्ड भर्खरै २०२५ मार्च २ मा बनाएका हुन् ।

उनलाई सम्मानस्वरूप बीस बढी सहरहरूको साँचो तथा अन्य थुप्रै पुरस्कार प्रदान गरिएको छ । यसमध्ये सन् २०१२ को प्रतिष्ठित ‘एसिया प्यासिफिक ब्रान्ड लरियट लाइफटाइम अचिभमेन्ट अवार्ड’ पनि एक हो । यसअघि यो अवार्ड नोबेल शान्ति पुरस्कार विजेता नेल्सन मन्डेला तथा स्टिब जब्सलाई प्रदान गरिएको थियो ।

एक लेखकका साथै प्रेम रावत ‘द प्रेम रावत फाउन्डेसन’ (टिपिआरएफ) का संस्थापक पनि हुन् । यस संस्थाले भोजन, पानी र शान्तिजस्तो आधारभूत मानवीय आवश्यकतालाई पूरा गर्ने कार्य गर्दछ । यसको पहलस्वरूप ‘जनभोजन’ कार्यक्रममार्फत भारत, नेपाल, घाना र दक्षिण अफ्रिकामा हरेक विपन्न वर्गका बालबालिका तथा अस्वस्थ वयस्कहरूलाई समेत पौष्टिक भोजन प्रदान गर्ने गरिन्छ । उनको सन्देशमा आधारित ‘पिस एजुकेसन कार्यक्रम’ एक हजार ४०० बढी शैक्षिक एवम् अन्य संस्थाहरूमा देखाउने गरिन्छ । यसबाट पाँच लाख बढी मानिस लाभान्वित भएका छन् । यो कार्यक्रम एक हजार बढी जेलमा सञ्चालन भइरहेको छ । यसको प्रभावबाट कैदीबन्दीहरूमा दोहो¥याएर अपराध गर्ने सम्भावना घटेको पाइएको छ ।

प्रेम रावतका कार्यलाई सरकारी, गैरसरकारी संगठन, व्यापारिक संस्थानदेखि संसारका नागरिक संगठनद्वारा स्वीकार गरिएको छ । उनले ब्रिटेनदेखि लिएर न्यूजील्यान्डसम्मको संसद् तथा हावर्ड एवम् अक्सफोर्ड विश्वविद्यालयजस्ता प्रतिष्ठित संस्थानहरूमा सन्देश प्रस्तुत गरेका छन् । सन् २०११ मा प्रेम रावत युरोपियन संघ (इयू) को एउटा विशेष कार्यक्रममा मुख्य वक्ता थिए । त्यहाँ उनले ‘शान्तिका लागि प्रतिज्ञा’ (प्लेड्ज टु पिस) मा हस्ताक्षर गरे र उनलाई यसका लागि राजदूत घोषित गरिएको थियो ।

सन् २०२३ मा प्रेम रावतले टिभी, पत्रपत्रिका र रेडियोसहित विभिन्न सञ्चारमाध्यमका सहायताले ९१.६ करोड मानिसहरूसमक्ष यो सन्देश प्रवाह गरेका छन् । उनको ‘लाइफ एसेन्सियल’ नामक पोडकास्ट च्यानललाई ११० भन्दा बढी देशहरूमा सुन्ने गरिन्छ । उनको ‘स्वयम्को आवाज’ र ‘शान्ति सम्भव छ’ (पिस इज पोसिबल) पुस्तकलाई संसारभर मन पराइएको छ । उनी केवल वक्ता र लेखक मात्र नभएर एक आविष्कारक, सङ्गीतकार, कलाकार, फोटोग्राफर तथा हवाइजहाज र हेलिकप्टरका एक कुशल विमान चालकसमेत हुन् । उनीसँग १५ हजार घन्टा उडान भरेको अनुभव छ । उनी विवाहित हुन् । उनका चार छोराछोरी तथा चार नातिनातिना छन् ।