अमेरिका, बोस्टन।अमेरिकाको बोस्टनमा अभिनय प्रशिक्षण कार्यशाला सुरु भएको छ। ग्रेटर बोस्टन नेपाली कम्युनिटि(जिबिएनसि) ले आयोजना गरेको उक्त कार्यशाला, प्रवासी नेपालीहरुको संस्था पशुपतिनाथ बुद्ध फाउण्डेशन अफ न्यू इङग्ल्याण्डको सामुदायिक भवनमा गत मार्च २३ तारिख आइतबारदेखि सुरु भएको हो।
नेपाली कला, ज्ञान, सीप, संस्कृतिको जगेर्ना गर्ने, त्यसको प्रचारप्रसार गर्ने, प्रवासमा रहेका नेपालीहरुसंग नेपाली रङ्ग क्षेत्रको सामीप्यता बढाउने र नयाँ पुस्तालाई आकर्षित गर्ने कार्यशालाको मुख्य उद्देश्य रहेको छ। हरेक हप्ताको आइतबार दिउसो १ बजेदेखि पाँच बजेसम्म सञ्चालन गरिने उक्त कार्यशाला कूल ६ आइतबार हुनेछ। आयोजकले यस कार्यशालामार्फत प्रशिक्षार्थीहरुलाई लामो समय रङ्ग क्षेत्रमा काम गरेका अनुभवी प्रशिक्षकहरुबाट नि:शुल्क प्रशिक्षण दिने व्यवस्था मिलाएको छ।
जिबिएनसिका अध्यक्ष सन्दिप भट्टराईले जानकारी दिए अनुसार उक्त अभिनय प्रशिक्षण कार्यशालमा सहभागी हुन इच्छुकहरुले यही आउदो मार्च ३० तारिखसम्ममा आफ्नो नाम दर्ता गरेर सहभागिता जनाउन सक्ने छन्। उनका अनुसार अभिनय प्रशिक्षण लिन इच्छा भएका तर विविध कारणले कार्यशालाको पहिलो दिन सहभागी हुन नसकेकाहरुको अनुरोधमा सहभागिता जनाउने अम्तिम म्याद थप गरिएको हो।

अध्यक्ष भट्टराईले नेपाल र नेपालीको पहिचान र नेपाली समाजको विकासमा नाट्य क्षेत्रले अमूल्य योगदान पुर्याएको जिकिर गर्दै प्रवासी नेपाली समाजमा पनि त्यसलाई प्राथमिकता दिइनुपर्नेमा जोड दिए। उनले कार्यशालाले नाट्य विधामा प्रशिक्षार्थीहरुलाई महत्वपूर्ण सैध्दान्तिक र व्यवहारिक ज्ञान दिएर व्यक्तित्व विकासमा अहम भूमिका खेल्ने बताउदै इच्छुकहरुलाई कार्यशालामा सहभागी हुन अनुरोधसमेत गरेका छन्।
आयोजकका अनुसार अभिनय प्रशिक्षण कार्यशालामा दुई दशक अघि नाट्य क्षेत्रमा होमिएर लामो कार्य अनुभवहरु बुटुलिसकेका नाट्यकर्मी द्वय राजन खतिवडा र अरुणा कार्कीले प्रशिक्षकको मूख्य भूमिका निर्वाह गरिरहेका छन्। नेपाली रङ्गकर्मी र रङ्गप्रेमीहरुको बिचमा चिरपरिचित यि दुबै व्यक्तित्वले गुरुकुल स्कूल अफ थिएटरबाट अभिनयमा स्नातक गरेका छन्। खतिवडा भने मण्डला थिएटरको संस्थापकहरु मध्यका एक व्यक्ति पनि हुन्।
मणिराम पोख्रेल, प्रतिमा कार्की, मिलनकुमार कार्कीलगायत रङ्गकर्मीहरुले कार्यशालालाई प्रभावकारी बनाउन सहयोगीको भूमिका निर्वाह गरिरहेका छन्। कार्यशालामा हाल १२ जनाले प्रशिक्षण लिइरहेका छन्। कार्यशाला पश्चात् प्रशिक्षार्थीहरुद्वारा आफूले सिकेका सैध्दान्तिक र व्यवहारिक ज्ञान तथा सीपहरुलाई समेटेर प्रयोगात्मक नाटक मञ्चन गराउने योजना रहेको आयोजकले जनाएको छ।
प्रतिक्रिया