मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

भूमिहीन सुकुमबासीहरुलाई जग्गाधनी प्रमाण पुर्जा वितरण सुरू

भूमिहीन सुकुमबासीहरुलाई जग्गाधनी प्रमाण पुर्जा वितरण सुरू

भूमि समस्या समाधान गर्न अध्यादेश : मन्त्री अधिकारी

केशव भट्टराई

शेयर गर्नुहोस:

108
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन । भूमि समस्या समाधान आयोगले रत्ननगर–१२, सालघारीका भूमिहीन सुकुमबासीहरुलाई जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) वितरण सुरू गरेको छ । २०८१ माघ ३ गते ७७ वटै जिल्लामा गठन भएको आयोगले पहिलोपटक रत्ननगर नगरपालिकाबाट जग्गाधनी पुर्जा वितरण सुरू गरेको हो ।

रत्ननगर–१२, सालघारीका ८१ वर्षीय सूर्यबहादुर नेगीलाई जग्गाधनी प्रमाण पुर्जा हस्तान्तरण गरी कार्यक्रमको थालनी गरिएको हो । सो बस्तीमा ५५ वर्षअघिदेखि बसोबास गर्दै आएका १२३ घरपरिवारलाई पुर्जा वितरण गरिएको हो ।

सो अवसरमा कार्यक्रमका प्रमुखअतिथि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले मुलुकभर १३ लाख बढी भूमिहीन सुकुमबासीलाई राज्यको समान अवसर प्रदान गर्न सरकार लागिपरेको र संविधानले व्यवस्था गरेबमोजिम सुकुमबासी, भूमिहीन दलित र अव्यवस्थित बसोबास गर्नेलाई व्यवस्थित गर्नका लागि सरकारले अध्यादेशमार्फत नयाँ कानुनको व्यवस्था गर्न लागेको प्रष्ट पारे ।

पछिल्लो समय व्यवस्थाविरोधी गतिविधि बढ्दै गएकोतर्फ इङ्गित गर्दै मन्त्री अधिकारीले कुनै पनि दुस्प्रचारको भ्रममा नपरी खबरदारी गर्नुपर्नेमा जोड दिए । ‘अध्यादेशमा केही कुरा उठेका छन्’, उनले भने, ‘कानुनमा नमिलेका कुरा मिलाउन अध्यादेश आएको हो । यसमा सबै प्रष्ट हुनु जरूरी छ ।’

२०२५/२६ सालमा नापी भएका जग्गाहरु गौचरन, चिहानडाँडा, मध्यवर्ती क्षेत्र, वन क्षेत्र, नुन खर्कलगायत क्षेत्रका बस्तीमा समस्या देखिएको बताउँदै मन्त्री अधिकारीले यस्ता समस्या समाधानका लागि सरकारले काम गरिरहेको बताए । सरकारले भूमिसम्बन्धी अध्यादेशमार्फत समस्या समाधानको उपाय खोजेको भए पनि अहिले राष्ट्रियसभामा गएर रोकिएको बताए ।

३९ वटा चरण पार गरेपछिमात्रै जग्गाधनी प्रमाण पुर्जा प्राप्त गर्न सकिने भएकाले कसैले पनि झुक्याएर जग्गा प्राप्त गर्न नसक्ने उनको भनाइ थियो । उनले कसैले गलत मनसायका साथ जग्गा प्राप्त गरेमा त्यस्तो जग्गा जफत गरी कानुनी सजाय हुने बताए ।

भूमि समस्या समाधान आयोगका अध्यक्ष हरिप्रसाद रिजालले जनता राज्यका शक्ति भएकाले उनीहरूलाई जग्गाधनी प्रमाण पुर्जा दिनु सरकारको मुख्य दायित्व रहेको बताए । १० लाख ९७ हजार ६७० जनाले जग्गा प्राप्तिको लागि निवेदन दिएको बताउँदै उनले आगामी तीन वर्षभित्र सबैलाई व्यवस्थित गर्नेगरी आयोगले काम गरिरहेको उनको भनाइ थियो ।

यस्तै, आयोगका उपाध्यक्ष सनतकुमार कार्कीले सुकुमबासी समस्या समाधानका लागि आयोगले तीव्र गतिमा काम गरिरहेको बताए । नेपालभरिका भूमिहीन, सुकुमबासी, भूमिहीन दलित, अव्यवस्थित बसोबासीलाई पुर्जा दिने अभियानका लागि पहिलो चरणमा सबै प्रदेशमा अवलोकन भ्रमण गर्न लागेको बताए । सबैको चित्त बुझाएर, भूमिहीनको खास पहिचान गरेर लालपुर्जा वितरण गर्ने काम आफैँमा विवादास्पद र चुनौतीको काम भए पनि उनले सबै दलको सहमतिमा भूमिहीनलाई जग्गा दिलाएरै छाड्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा आयोगका जिल्ला अध्यक्ष इमानसिंह मोक्तानले वार्षिक क्यालेन्डरअनुसार जिल्लामा रहेका १० हजार बढी भूमिसम्बन्धी समस्या भएका जनतालाई २०८२ सालभित्रै लालपुर्जा वितरण गर्नेगरी कार्ययोजना बनाएर काम गर्दै आएको उल्लेख गरे । भूमिहीनहरुको समस्या समाधानका लागि पूर्वअध्यक्ष बद्रि तिमिल्सिनाको साथ र सहयोगप्रति उनले आभार प्रकट गरे ।

रत्ननगर नगरपालिकाका उपप्रमुख यादव पाठकले रत्ननगरमा एकहजार ९५ जना सुकुमबासी, ३५५ जना भूमिहीन दलित र ९८७ जना अव्यवस्थित गरी दुई हजार ५३८ घरधुरीमध्ये एक हजार ७९७ जनाको जग्गा कित्ताकाटको काम र एक हजार ५७५ जनाको नापी मुचुल्काको काम सम्पन्न भइसकेको जानकारी दिँदै अबको दुई वर्षभित्रमा सबैलाई जग्गा प्रदान गर्न कुनै कसर बाँकी नराख्ने बताए ।

रत्ननगर नगरपालिका वडा नं–१२ का वडाध्यक्ष सुन्दरमणि सुवेदीले साढे पाँच दशकभन्दा बढी समयदेखि समस्याका रुपमा रहेका भूमिहीन दलित र सुकुमबासीलाई लालपुर्जा वितरण गर्दा आफूले जनप्रतिनिधि हुँदा गरेको प्रतिबद्धता पूरा भएको बताए । उनले छुटेका अव्यवस्थित बसोबास गर्ने जनताको लागि पनि जग्गा दिलाउन आयोगको ध्यानाकर्षण गराए ।

रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले सञ्चालन गरेको कार्यक्रमको समापन गर्दै नगरप्रमुख प्रलाद सापकोटाले नगरभित्रका दुई हजार ६४३ परिवारको लागि भूमिसम्बन्धी समस्या समाधान गर्न आवश्यक रहेको बताए । ५५ वर्षदेखि बसोबास गर्दै आएका १२३ जनालाई जग्गाधनी प्रमाण पुर्जा वितरण गर्न पाउँदा आफूलाई निकै खुसी लागेको बताउँदै यस ऐतिहासिक अवसरमा सहयोग पु¥याउने सबैप्रति आभार प्रकट गरे ।

उनले ६ महिनाभित्र १६वटै वडामा जग्गाधनी पुर्जा वितरण गर्ने गरी लगत उठाउन वडाध्यक्षहरुलाई निर्देशन दिए । उनले आफू जनताको काम गर्न आएकाले आगामी २५ महिनाभित्र अव्यवस्थित बसोबासीको समस्या समाधान गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका अध्यक्ष नारायणप्रसाद अधिकारी, प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेल, इलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी नायब उपरीक्षक रन्जन अवा, पूर्व नगरप्रमुख नारायण वन, वडाध्यक्षहरु, जनप्रतिनिधिलगायत जनप्रतिनिधिलगायत राजनीतिक दलका नेताहरुको सहभागिता रहेको थियो ।