ड्यालस (अमेरिका)। चर्चित कानुनविद् बासु फुलाराले टेम्पोररी प्रोटेक्ट स्टाटस (टिपिएस) को म्याद सकिनु अघिनै अमेरिका बस्न चाहनेहरुले कानुन व्यवसायीसँग परामर्श लिएर प्रकृया अघि बढाउन सुझाव दिएका छन् ।
अमेरिकी सरकारले नेपालीलाई दिएको टिपिएसको म्याद आउँदो जुनमा समाप्त हुदैछ । त्यसपछि टिपिएसमा रहेकाहरुको अमेरिका बस्ने कानुनी वैधता समाप्त हुने भएकोले त्यसभन्दा पहिलेनै कानुन व्यवसायीसँग भेटेर परामर्श लिन उनले सुझाव दिएका हुन् ।
गैर आवासीय नेपाली संघ (एनआरएनए) टेक्सस च्याप्टरले शनिबार ड्यालसमा आयोजना गरेको कार्यक्रममा अधिवक्ता फुलाराले भने टिपिएसमा रहेका नेपाली दाजुभाई, दिदीबहिनीहरुले अर्को स्टाटसमा जाने संभावनाका बारेमा प्रकृया थाल्ने उपयुक्त समय अहिलेनै हो ।
‘अन्तिमसम्म कुरेर बस्दा कुनै उपाय नभएर स्टाटस गुमाउनु पर्ने हुन्छ । त्यसोहुँदा यदी अमेरिका बस्ने इच्छा कायमै छ भने उपायहरु के हुनसक्छन् भन्ने बारेमा अहिलेनै कानुन व्यबसायीलाई भेटेर प्रकृया थालिहाल्नुस’ उनले सुझाव दिए ।
सन् २०१५ मा नेपालमा गएको भुकम्पको समयमा अमेरिकाले नेपालीलाई अमेरिकामा काम गर्ने सुविधा सहितको टिपिएस प्रदान गरेको थियो । पटक पटक म्याद थपिएकोमा अन्तिम पटक सन् २०२३ मा थपिएको थियो । टिपिएसको म्याद जुन २४, २०२५ सम्मका लागि रहेको छ ।
अहिले सातहजारको हाराहारीमा नेपालीहरु टिपिएस स्टाटसमा छन् ।
कार्यक्रममा फुलाराले ट्रम्प प्रशासनले अमेरिकामा रहेका नेपालीहरु सबैलाई निष्काशन गर्दैछ भनेजस्तो हल्ला सामाजीक सञ्जालमा देखिएको उल्लेख गर्दै त्यो सत्य नभएको बताए । ‘सामाजीक सञ्जालमा कानुन व्यबसायीले भन्दा पनि अन्य व्यक्तिले अफवाह फैलाइरहेका छन् ।
अहिलेसम्मको स्थिती अनुसार अपराधिक गतिविधिमा संलग्न, कुनै पनि कानुनी वैधता नभएका, अदालतले डिपोर्ट गर्न आदेश दिएका दुई देखि तीनहजारसम्म नेपालीहरु डिपोर्ट पर्न सक्छन् । जवकी अमेरिकामा अहिले झण्डै ६ लाखको हाराहारीमा नेपालीहरु छन्’ उनले भने ।
विद्यार्थीहरुलाई कानुनभन्दा बाहिर गएर बाहिर स्टोर, रेष्टुरेन्टहरुमा काम नगर्न समेत उनले आग्रह गरे । ‘विद्यार्थीहरुले अनक्याम्पस हप्तामा २० घण्टासम्म वैधानिक रुपमा काम गर्न पाउँछन् । यो भन्दा बढी र बाहिर काम गर्नु गैर कानुनी हो । त्यसोहुँदा बाहिर काम नगर्नुहोला’ उनले भने ।
अध्यागमन संबन्धि कानुन सन् १९९० देखिनै परिवर्तन नभएको उल्लेख गर्दै फुलाराले वर्तमान सरकार अलि कडाई साथ कार्यान्वयनमा गएको मात्र रहेको बताए ।
कार्यक्रममा स्थानीय नेपाली समुदायका अगुवा तथा सहभागीहरुले अध्यागमन कानुन, सरकारको पछिल्लो नीतिका बारेमा जिज्ञासा राखेका थिए । न्यूयोर्कमा रहेर कानुन व्यबसाय गर्दै आएका फुलारासँग आइतबार अस्टिनका नेपाली समुदायले अन्तरकृया गर्दैछन् ।
प्रतिक्रिया