ड्यालस (टेक्सस) । ड्यालस फोर्टवर्थमा लामो समयदेखि रहेर व्यबसायमा संलग्न नरेशराज पाण्डेले युलेसमा निर्माणाधिन पशुपतिनाथ मन्दिर तथा बौद्ध विहारका लागि एकलाख ११ हजार डलर दान गरेका छन् ।
एकलाख ११ हजार दान रकम पुर्याएर पाण्डे मन्दिरको ‘वाल अफ अनर’ हुने दोस्रो व्यक्ति भएका छन् । यसअघि व्यबसायी शैलेन्द्र मानन्धरले पनि एकलाख डलर भन्दा बढी रकम मन्दिरलाई दान गरिसकेका छन् ।
मन्दिरलाई दान दिने पाण्डे सामाजीक र व्यबसायीक क्षेत्रमा निकै सकृय व्यक्तित्व हुन् । यसअघिनै ५० हजार डलर भन्दा बढी दान गरेर प्याट्रन भैसकेका पाण्डेको सहयोगको कदर गर्दै आइतबार मन्दिरमा सम्मान समेत गरिएको थियो ।
पशुपतिनाथ मन्दिर र बौद्ध बिहारको अलग्गै संरचना सहितको भव्य धार्मिक तथा सांस्कृतिक केन्द्र निर्माण गर्ने अभियानमा ड्यालस फोर्टवर्थका नेपालीहरु जुटेका छन् । अहिले मन्दिर रहेको भवनलाई पुरै सामुदायिक केन्द्रमा रुपान्तरण गर्नेगरि सँगैको खाली जग्गामा मन्दिर र बिहार बनाउन आउँदो घटस्थापनामा जग हाल्ने गरि अघि बढिएको जानकारी ट्रष्टीका अध्यक्ष डा. प्रेम अधिकारीले बताए ।
‘मन्दिर र बिहारको अलग्गै भवन प्रति धेरैले चासो अनि सकृयता देखाउनुभएको छ । त्यसो हुँदा घटस्थापनामा जग हाल्ने सोचका साथ हामी अघि बढेका छौँ’ डा. अधिकारीले भने । बन्ने मन्दिरका हरेक इट्टामा दाताको नाम अंकित गर्नेगरि बढिएको यो अभियानमा सबैबाट साथ र सहयोग मिलेमा चाँडै नमूना मन्दिर र बिहार बन्ने समेत उनले बताए ।
ठूलो रकमको यो प्रोजेक्टमा जतिधेरैको साथ, सहयोग र समर्पण हुँन्छ त्यतिनै छिटो निर्माण सम्पन्न हुनेछ । अमेरिकामा मात्र नभएर नेपाल बाहिर रहेका नेपालीले बनाएको पहिलो भव्य धार्मिकस्थल बनाउने लक्ष्य राखिएको मन्दिरका पदाधिकारीहरुले बताएका छन् ।
भव्य मन्दिर बिहार बनाउन सहयोग जुटाउने ध्येयले गत अप्रिलमा नवाह महायज्ञ लगाइएको थियो । त्यस महायज्ञमा सहयोगको प्रतिवद्धता जाहेर गरेका केहीले पुरा गरिसकेको र गर्ने क्रममा रहेकोले मन्दिरले समयमै वचन अनुसारको सहयोग पुरा गरेर चाँडै मन्दिर र बिहार निर्माणका लागि सहयोग गर्न पनि आव्हान गरेको छ ।
अबदेखि हरेक आइतबार दिउँसो १२ बजे प्रतिवद्धता अनुसारको रकम दिएर संस्थापक सदस्य, ट्रष्टी, प्याट्रन, वाल अफ अनर हुनेलाई मन्दिरमा सम्मान कार्यक्रम राखिने जनाइएको छ ।
प्रतिक्रिया