मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

रविलाई मान्छे नै रहन दिउँ-भाग ३

रविलाई मान्छे नै रहन दिउँ-भाग ३

सुजन पण्डित

शेयर गर्नुहोस:

2.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

६५ लाख धरौटी माग भएका, अदालतले निर्दोष हुन् नभनेको र जनताको बचत अपचलनमा हिरासतमा परेका व्यक्ति धरौटीमा छुट्दा देशका पक्षमा कुनै युद्ध जितेर आएको सेनापति झैं अबीरजात्रा र नारा-जुलुश हुनु भनेको सभ्य समाजमा अपेक्षित व्यवहार होइन। यी सबै घटनाहरुले हामी नेपालीहरुको चेतनास्तर समेत देखाएको छ। हाललाई थुना बाहिर रहेर मुद्दा लड्न पाउने अधिकार मात्र पाएका रवि लामिछाने कास्की जिल्ला अदालतको आदेशमा ६५ लाख धरौटी बुझाएर रिहा भए लगत्तै पोखरामा उनको समर्थकहरुले गरेको व्यवहार देखे पछि‘ रविलाई मान्छे नै रहन दिउँ भाग-३ लेख्नु पर्ने अवस्था बन्यो। दुई वर्ष अघि रविलाई मान्छे नै रहन दिउँ भाग एक लेखे पछि समर्थकहरुले उनलाई मान्छे कै व्यवहार गर्लान् भनेको, त्यस्तो देखिएन र भाग दुई लेखियो। तर आज नेपालमा जे देखियो, जे पढियो, त्यसपछि फेरि एकपटक उनका समर्थकहरुप्रति समर्पित यो आलेख लेख्ने जाँगर लागेको हो।

रविका समर्थक मित्रहरुलाई विनम्रतापूर्वक अनुरोध छ—कृपया रविलाई मान्छे नै रहन दिनुहोस्। सबै मान्छे गुण र दोषयुक्त हुन्छन्। रवि पनि साधारण मान्छे नै हुन्, उनका पनि सयौं कमजोरी र असल पक्षहरु छन्। रवि एक आम मानिस हुन्, उनका सबै गल्तिहरु कानुनका नजरमा क्षम्य छैनन्, हुनु हुँदैन भन्ने आशयले यो भाग- ३ आएको हो।

दुई वर्ष अघि रविका बारेमा लेखिरहँदा उनी माथि नेपालको नागरिकता कानुनको पालना नगरेको र जालसाँझीपूर्वक अमेरिकी पासपोर्ट बहाल रहेकै अवस्थामा नेपाली नागरिकता प्रयोग गरेर नेपाली पासपोर्ट बनाएको आरोप खेपिरहेका थिए। खासमा त्यो आरोप मात्र थिएन कि उनले अमेरिकी पासपोर्ट बहाल रहेकै बेला २०१५ मा नेपाली पासपोर्ट समेत बनाएका हुन्, जुन काम नेपालको राहदानी र नागरिकता कानुन दुबैका आधारमा गैर कानुनी काम हो। उनको काम अज्ञनताका कारण भएको साधारण भूल थिएन, त्यो विद्यमान कानुनका नजरमा गम्भिर अपराध हो ।

त्यो बेला प्रचण्डको सत्ता टिकाउने चलखेलका कारण रविले तत्कालका लागि सो मुद्दाबाट राहत पाएजस्तो देखिए पनि सर्वोच्च अदालतमा विचाराधीन दोहोरो पासपोर्ट बोकेको कसुर सम्बन्धी मुद्दामा उनी कुनै पनि बेला दोषी ठहर्न सक्छ्न्।

रवि नागरिकता कानुनका आधारमा दोषी देखिएर नै पहिलो पटक निर्वाचित सांसद पद गुमाउन बाध्य भएका मान्छे हु्न्। दोहऱ्याएर सांसद र गृहमन्त्री समेत भइसकेका रवि सहकारीको रकम अपचलन लगायतका आरोपमा करिब तीन महिना हिरासत बसेर हिजो मात्र कास्की जिल्ला अदालतको आदेशमा ६५ लाख धरौटीमा रिहा भएका छन्। उस्तै कसुरमा अन्य अदालतमा समेत उनी बिरुद्ध मुद्दा जारी छ। सम्पति सुद्धिकरण लगायत अन्य आरोपमा उनी बिरुद्ध मुद्दा किनारा लागेका छैनन्। कास्की अदालतले आरोपित लामिछाने माथि लागेका आरोपबाट उन्मुक्ति दिएको छैन, बरु उनलाई ति सबै आरोपहरुमा निर्दोष भनिहाल्न मिल्ने अवस्था नरहेको विषय प्रष्टसंग लेखेको छ।

६५ लाख धरौटी माग हुनु भनेको निर्दोष हुनु होइन भन्ने कुरा बुझ्नका लागि कानुनका ठेली पल्टाउन पर्दैन भन्ने उनका समर्थकले बझ्नु पर्ने हो। ६५ लाख धरौटी माग गर्नु कम होइन। उनले अहिलेलाई थुना बाहिर रहेर मुद्दा लड्न पाउने अधिकार मात्र पाएका हुन्। अदालतले नै पछि अन्तिम फैसला हुँदा ठहरे बमोजिम हुनेगरी हाललाई धरौटीमा रिहा गरेको कुरा प्रष्ट लेख्दा लेख्दै फेरि उनलाई भगवान बनाउन लामबद्ध हुनु र अदालत बाहिर अबिरजात्रा हुनु अनौठो लाग्ने विषष हुन्। रवि सर्वसाधारण जनताको करोडौं बचत रकम हिनामिना गरेर सभ्रान्त जीवनशैली अपनाएका एक चलाख मान्छे हुन् भन्ने कुरा जति चाँडो बुझ्यो त्यति भगवान हुने र भक्तजनको घुईंचो लाग्ने दुष्चक्रबाट उन्मुक्ति मिल्ने हुन्छ।

सभ्य समाज र न्याय प्रणालीमा विश्वास हुनेहरुले न अनुसन्धानका बेला धर्ना, नारा-जुलुश गर्छन्, न त ६५ लाख धरौटी राखेर रिहा हुने आदेश पाएका व्यक्तिको पक्षमा अदालत बाहिर अबीरजात्रा गर्छन्। रवि जनताको बचत अपचलनको आरोप लागेका, प्रमाणहरुबाट सहकारीको रकम गोर्खा मिडियामा ल्याउने प्रक्रियामा प्रत्यक्ष संलग्न नभएपनि जिबी राई लगायतसंग मिलेरै करोडौं रकम अपचलन गरेका व्यक्ति हुन्। चर्चित वकिल राम नारायण बिंडारीले भने झैं उनी गोल मटोल कागजात र तिकडम गरेर जनताको पैसा ठग्ने कार्यमा संलग्न आरोपित हुन्। बिंडारीका अनुसार ठगी भनेकै विभिन्न प्रपंच मिलाएर गलत काम गर्नु हो। ठगीको सबै प्रमाण हुँदैन। त्यसैले अदालतमा विचाराधीन सबै मुद्दाको किनारा नलागुन्जेल रवि एक आरोपित व्यक्ति हुन्।उपलब्ध प्रमाण र घटना विवरणहरुले उनी जनताको बचत अपपचलनमा संलग्न भएकै देखिन्छन्।

अदालती प्रकियाबाट भविष्यमा उनी निर्दोष सावित भए पनि वा दोषी पाइए पनि रवि एक आम मानिस नै हुने हुन्। निर्दोष हुँदा भगवान र दोषी हुँदा मात्र मान्छे हुने होइनन्। रवि पनि एभरेज मान्छे हुन्, उनीमा पनि राम्रा र नराम्रा दुबै पक्ष छन्। टेलिभिजन कार्यक्रम प्रस्तोताका रुपमा बनेको सार्वजनिक छविको आडमा शुरु गरेको राजनीतिले उनको पार्टीलाई संसदमा चौथो ठूलो पार्टी मात्र बनाएन, दुई-दुई पटक उनलाई गृहमन्त्री हुन समेत सघायो।

जनताको बचतमा मोज गरेको कुरा अब छुपाएर छुप्ने कुरा भएन। उनी साँच्चै जनताका लागि केही गर्न भनेर राजनीतिमा आएका हुन् भने सहकारी घोटालामा आफ्नो जिम्मेवारी स्वीकारेर सर्वसाधारणको बचत फिर्ताका लागि सरकारसंग मिलेर काम गर्नु पर्दछ। आफ्ना कमजोरीका कारण लाखौं मान्छेको भरोसाले बनेको चौथो पार्टीलाई रसातालमा पुग्नबाट बचाउन समेत उनको भूमिका हुनु पर्दछ। अवैधानिक तरिकाले गोर्खा मिडियामा गएको करोडौं पैसाबाट १४ महिनामा करोड बढी तलब खाएको, शेयर समेत त्यही पैसाले लिएको प्रमाणित भइसकेपछि रविले आफूलाई साधारण मान्छे ठान्न ढिला गर्नु भएन।

उनका समर्थकले पनि उनी मानवीय कमजोरी सहितका आम मानिस भन्दा अलि चलाख मान्छे हुन् भनेर बुझ्नु पऱ्यो। साँच्चै भन्ने हो भने उनलाई मान्छे नै रहन दिए मात्र उनको र राष्ट्रिय स्वतन्त्र पार्टीमा भविष्य देखेर लागेकाहरु र यसको भरोसा गरेर मत दिएका लाखौं जनताको समेत भलो हुनेछ। नत्र नेपालमा वैकल्पिक राजनीतिक पार्टीको भविष्य समेत धरापमा पर्ने खतरा छ।

तसर्थ रविका समर्थक वा आलोचक सबैलाई फेरि पनि नम्र निवेदन छ कि- रविलाई मान्छे नै रहन दिउँ। तमाम मानवीय कमजोरीको भारी बोकेर उनलाई भगवान बनाएर उनीमाथि अन्याय र पाप नगरौं!