मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

रविलाई मान्छे नै रहन दिउँ-भाग २

रविलाई मान्छे नै रहन दिउँ-भाग २

सुजन पण्डित

शेयर गर्नुहोस:

459
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रविलाई मान्छे नै रहन दिउँ-भाग २

करिब दुई वर्ष अघि मैले हिमालय खबरमा लेखेको ‘ रविलाई मान्छे नै रहन दिउँ’ भन्ने आलेख छापिएपछि केही रवि भक्त मित्रहरुले मेरो मेसेन्जरमा केही अश्लील गाली समेत पठाएका थिए। केहीले पुराना दलको झोले पनि भन्न भ्याए!

दुई वर्ष अघि रविका बारेमा लेखिरहँदा उनी माथि नेपालको नागरिकता कानुनको पालना नगरेको र जालसाँझीपूर्वक अमेरिकी पासपोर्ट बहाल रहेकै अवस्थामा नेपाली नागरिकता प्रयोग गरेर नेपाली पासपोर्ट बनाएको कुरा निकै चर्चामा थियो। नेपालको नागरिकता र राहदानी सम्बन्धी कानुन अनुसार रविले गैरकानुनी काम गरेकै हुन्। त्यसैले उनी पहिलो पटक निर्वाचित सांसद पद गुमाउन बाध्य भए। सर्वोच्च अदालतले उनको सासंद पद नै खारेज गरिदिएको हो। उनले पुरानै हैसियतको नेपाली नागरिकताको प्रमाणपत्र पाएपछि उपचुनाव जिते र दोहऱ्याएर सांसद र गृहमन्त्री समेत भइसके।

रविले उ बेलै नेपाली पासपोर्ट अपचलनको कसुरमा कानुन अनुसार सजायँ पाउनु पर्थ्यो। तर, तत्कालीन सत्ता गठबन्धनले संसदीय गणितको खेलमा उनीमाथि कुनै मुद्दा नचलाउने निर्णय महान्यायाधिवक्ता मार्फत गरेकाले तत्कालका लागि नागरिकता र राहदानी अपचलनको केशमा उन्मुक्ति पाएका हुन्।

टेलिभिजन कार्यक्रम संचालकका हैसियतमा रविले बनाएको सार्वजनिक छविलाई उनका केही समर्थक र युट्यूवरहरुले रवि त भगवानकै रुप हुन् भन्ने ढंगले सामाजिक संजालमा प्रचार गरे। तमाम मानवीय कमजोरीको भारी बोकेर रवि लामिछाने पनि नेपाली जनताको समस्या समाधान छु-मन्तर शैलीमा हल गर्छु भनेर निकै हौसिएका हुन्। तर राज्य प्रशासनबाट हुने काम उनले भनेजस्तो हुने त कुरै थिएन। उनले गफ गर्दा, सार्वजनिक खपतका लागि जति कुरा चुट्कीको भरमा गर्न सकिन्छ भन्ठानेका थिए त्यस्तो हुन सक्ने अवस्था भएन।

नागरिकता र पासपोर्ट अपचलन गरेको कुरा घाम जस्तै छर्लङ्ग हुँदा पनि रविका समर्थकहरुले उनी कानुनी दायरामा आउन नपर्ने लिंडेढिपी गरेका थिए। उनलाई भगवान नै सम्झने समर्थकहरु उनका विषयमा कुनै प्रश्न गर्नु पनि अपराध भन्ठान्थे। मिडिया र सामाजिक संजाल परिचालनको समन्वय मिलाएका लामिछाने कैयन कमजोरीहरुका बाबजुद रातारात टेलिभिजन प्रस्तोताबाट राष्ट्रिय पार्टीको अध्यक्ष भए। राष्ट्रिय राजनीतिमा चल्तिका नेता ठहरिए।

दुईवर्ष अघि नागरिकता र पासपोर्टको बिवाद भएका बेला रविले कानुन पालना नगरेर गल्ति गरेका हुन् भन्न पनि थरथरी काँप्नु पर्ने अवस्था थियो। रविका बारेमा बोल्यो कि पोल्यो! मान्छेहरु रवि त साक्षात भगवान हुन्, उनी संसद र सरकारमा गएपछि नेपालमा भएभरका समस्या तुरुन्तै सकिन्छन् भन्ठान्थे।

तर अहिले अवस्था बदलियो। रविको पार्टी र उनको व्यक्तिगत ‘क्रेज’ पहिलेजस्तो छैन भन्ने प्रमाण पछिल्लो इलाम २ को चुनाव हो। त्यहाँ उनको पार्टीले जमानत समेत जोगाउन सकेन। एकपछि अर्को गैरकानुनी झमेलामा परिरहेका रवि दोश्रो पटक गृहमन्त्री हुँदा नेपालमा अहिले सतहमा आएको सबभन्दा चर्चित विषय ‘सहकारी घोटाला’मा समेत मुछिए। गृहमन्त्री भएकै बेला तत्कालीन प्रमुख प्रतिपक्षका नेताहरुले लगातार उनी माथि संसदीय छानबिनको माग राखे। कैयन दिनको संसदीय विवाद पछि संसदीय छानबिन समिति बन्यो। गठन भएको ९९ दिनमा सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिले केही दिन पहिलेमात्र प्रतिवेदन बुझाईसकेको छ।

राजनीतिमा आउनु अघि उनी संलग्न गोर्खा मिडियाद्वारा संचालित ग्यालेक्सी टिभीमा रहँदा त्यहाँ चारवटा सहकारीबाट गएको ६५ करोड रुपैयाँ उनी आफैं हर्ताकर्ता भएर खर्च गरेको तथ्य सार्वजनिक भइसकेको छ। १४ महिना त्यहाँ रहँदा मासिक छ लाख भन्दा बढी त तलब नै खाएका रहेछन् भने त्यही सहकारीको पैसाबाटै उनले गोर्खा मिडियामा १५ प्रतिशत शेयर समेत किनेका थिए।

संसदीय समितिले गोर्खा मिडियामा सहकारीको पैसा ल्याउन रवि लामिछानेको भूमिका नभएको भने पनि उनी सहित गोर्खा मिडियाका चारैजना संचालकलाई गोर्खा मिडियामा सहकारीको पैसा अपचलन गरेकोमा भने प्रचलित कानुन बमोजिम कार्बाहीको लागि सिफारिस गरेको छ।

रवि पनि एभरेज मान्छे हुन्, उनका राम्रा र नराम्रा दुबै पक्ष छन्। टेलिभिजन कार्यक्रम प्रस्तोताका रुपमा बनेको उनको सार्वजनिक छविको आडमा शुरु गरेको राजनीतिले उनको पार्टीलाई संसदमा चौथो ठूलो पार्टी मात्र बनाएन, दुई-दुई पटक उनलाई गृहमन्त्री हुन समेत सघायो।

“गोर्खा मिडियामा सहकारीको पैसा ल्याउन आफ्नो संलग्नता छैन, आएको पैसालाई खर्च गरेको मात्र हो, त्यसैले म सहकारीको पैसा अपचलनमा संलग्न छैन”, रविले लगातार भन्दै आइरहेकाछन्। रविका बारेमा कानुनी छानबिन नै हुनु हुँदैन भन्नेहरुले बुझ्नै पर्ने कुरा के हो भने — रवि लामिछाने दलहरुको अकर्मण्यताले जन्माएको र निरास नेपाली मतदाताको सेन्टिमेण्ट ‘क्यास’ गर्न जानेका चतुर टिभी प्रस्तोता थिए । समयको धार पहिल्याएर हिंड्न जानेका मान्छे हुन् । ऐन मौकामा पार्टी खोले, संसदमा २१ जना सांसद सहित राष्ट्रिय स्वतन्त्र पार्टीलाई संसदमा चौथो पार्टीको हैसियतमा पुऱ्याए।

अमेरिकामा रवि कस्ता हुन् र उनका विगत कस्ता थिए भनेर जान्न मेरिलण्डतिर गए पुगिहाल्छ । बितेका कुरा गरेर वर्तमानलाई किन धमिल्याउने? पहिले नराम्रो गरेको ट्र्याक रेकर्ड मात्र हेरेर कसैले वर्तमानमा गर्न खोजेको सकारात्मक कामको विरोध र कटाक्ष्य गरिरहन त पर्दैन। तर उनले राजनीतिमा आउनु अघि गरेका तमाम गलत कामबाट तत्काल छुटकारा पाइहाल्ने अवस्था अब रहेन।

हुन त सामाजिक संजाल र यूट्यूबर परिचालन गरेर सर्वसाधारणको ध्यान अन्यत्र मोड्ने र सहकारीको पैसामा उनले गरेको रजाईंको अनुसन्धान र संभावित कार्बाहीको विरोधमा आवाज समेत उठ्ने पक्का छ।

सुशासनका कुरा उनी जति कुर्लेर गर्छन्, त्यति नै उनका कमजोरीहरु एकपछि अर्को सार्वजनिक भइरहेकाछन्। सहकारी प्रकरणमा उनको कमजोरी साधारण होइन। पैसा ल्याउन संलग्नता नभएको भन्दैमा सर्वसाधारणको करोडौं बचतमा दाईं गरेको कुरा अब छुपाएर छुप्ने कुरा भएन। उनी साँच्चै जनताका लागि केही गर्न भनेर राजनीतिमा आएका हुन् भने सरकारी घोटालामा राज्यको निकायबाट हुने थप अनुसन्धान र कार्बाहीको लागि तयार हुनु पर्दछ। आफ्ना कमजोरीका कारण लाखौं मान्छेको भरोसाले बनेको चौथो पार्टीलाई रसातालमा पुग्नबाट बचाउन समेत उनको भूमिका हुनु पर्दछ। अवैधानिक तरिकाले गोर्खा मिडियामा आएको करोडौं पैसाबाट १४ महिनामा करोड बढी तलब खाएको, शेयर समेत त्यही पैसाले लिएको प्रमाणित भइसकेपछि रविले आफूलाई साधारण मान्छे ठान्न ढिला गर्नु भएन।

उनका समर्थकले पनि उनी मानवीय कमजोरी सहितका आम मानिस भन्दा अलि चलाख मान्छे हुन् भनेर बुझ्नु पऱ्यो। साँच्चै भन्ने हो भने उनलाई मान्छे नै रहन दिए मात्र उनको र राष्ट्रिय स्वतन्त्र पार्टीमा भविष्य देखेर लागेकाहरु र यसको भरोसा गरेर मत दिएका लाखौं जनताको समेत भलो हुनेछ। नत्र नेपालमा वैकल्पिक राजनीतिक पार्टीको भविष्य समेत गर्ल्याम-गुर्लुम हुने निश्चित छ।