मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

रविलाई मान्छे नै रहन दिऊँ

रविलाई मान्छे नै रहन दिऊँ

सुजन पण्डित

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अहिले सामाजिक सञ्जाल र नेपाली मिडियामा रवि लामिछानेले नेपालको नागरिकता कानुनको पालना नगरेको र जालसाँझीपूर्वक अमेरिकी पासपोर्ट बहाल रहेकै अवस्थामा नेपाली नागरिकता प्रयोग गरेर नेपाली पासपोर्ट बनाएको कुरा निकै चर्चामा छ । रविका समर्थकहरु उनी कानुनी दायरामा आउन नहुने मान्छे हुन् भनेर लिँडेढिपी गरिरहेका छन् । उनीहरुलाई लाग्दैछ रवि भगवान् हुन् र उनको बारेमा प्रश्न गर्नु ठूलो पाप हो । व्यक्तिको देवत्वकरणमा उद्धत नेपाली सामाजिक सञ्जाल कुन बेला पछुताउने अवस्थामा पुग्ने हो पत्तै छैन ।

सामाजिक सञ्जालमा रविका बारेमा फरक मत राख्नु त झनै ठूलो अपराध मानिन्छ र त्यस्ता फरक मत राख्नेहरुलाई तथानाम गाली गरिन्छ । रविले कानुन पालना नगरेर गल्ती गरेका हुन् भन्न पनि थरथरी काँप्नु पर्ने अवस्था छ । रविका बारेमा बोल्यो कि पोल्यो !

अमेरिकातिर भएका र सामाजिक सञ्जालमा सक्रिय केही साथीहरु त रवि भगवान् नै हुन् जसरी उनको प्रशंसामा जुटेका छन् । हुँदा हुँदा केहीले त उनलाई स्व. मदन भण्डारीको तहमा नै पुऱ्याउन भ्याइसकेका छन् । नेपालका सम्बन्धित निकायहरुले रविले नेपाली नागरिकाता कानुनको बर्खिलाप काम गरेको क्रियाकलापलाई आँखा चिम्लिनु पर्ने उनीहरुको तर्क छ । रवि पनि एभरेज मान्छे हुन्, उनका राम्रा र नराम्रा दुवै पक्ष छन् । त्यसैले रविले चाहिँ छानबिनको दायरामा आउन किन नपर्ने ? रविको हातमा कुनै जादुको छडी छ र उनले नेपालको समस्या समाधान छिनको छिनमै गर्दिन्छन् भने जसरी कसैलाई देवत्वकरण गर्नु उचित हुन्न । 

एक गैरआवासीय नेपालीका नाताले हामी पनि जन्मसिद्ध र वंशजका आधारमा नेपाली नागरिकता पाएका नेपालीको नागरिकताको निरन्तरता होस् भन्ने चाहन्छौँ । विवाह गरेर नेपाल भित्रिएको भोलिपल्ट अङ्गिकृत नागरिकता दिन तयार मुलुकले वंशज र जन्मसिद्ध नेपाली नागरिकता भएका गैरआवासीय नेपालीको नेपाली नागरिकता निरन्तरतामा किन कन्जुस्याईं गर्नु पऱ्यो ? सबै गैरआवासीय नेपालीले सोच्ने/भन्ने यही हो । हामी वर्षौंदेखि यही कुरा उठाउँदै आइरहेका छौँ । प्रवासी नेपालीहरुले नेपालको अर्थतन्त्र चलायमान बनाउन गरेको योगदान नेपाली शासक र विधायकहरुले बुझुन्-सुनुन् भन्ने सबै गैरआवासीय नेपालीको चाहना भावना हुँदै हो । तर, हाम्रा ती सबै चाहनाअनुसार हुन नेपालको संविधान र कानुनले पनि सघाएको हुनुपर्छ ।


नेपालको विद्यमान कानुनले दोहोरो नागरिकता र पासपोर्ट स्वीकार नगरुन्जेल हाम्रो चाहना भए पनि हामीले नेपाल र अमेरिका वा अन्य कुनै मुलुकको नागरिकता र पासपोर्ट एकैपटक बहाल राख्न र प्रयोग गर्न सक्दैनौँ । यदि गरेका छौँ र गर्छौं भन्ने हो भने त्यो नेपालको कानुनको खिलाफ हो । गैरकानुनी हो । र, कानुनको दृष्टिमा दण्डनीय काम हो । कसैले नेपालको विद्यमान कानुनको पालना गरेको छैन भने त्यसलाई कानुनले छुन पाउँदैन भन्न मिल्ला ? कानुनको सर्वोच्चताको वकालत गर्ने र पालना गर्ने मुलुकमा बसेर कसैले कानुन उल्लङ्घन गरेको कुराको पक्षपोषण गर्न मिल्ला ?

रविका बारेमा कानुनी छानबिन नै हुनु हुँदैन भन्नेहरुले बुझ्नै पर्ने कुरा के हो भनेरवि लामिछाने दलहरुको अकर्मण्यताले जन्माएको र निराश नेपाली मतदाताको सेन्टिमेन्ट ‘क्यास’ गर्न जानेका चतुर टिभी प्रस्तोता हुन् । समयको धार पहिल्याएर हिँड्न जानेका मान्छे हुन् । रवि नजितुन्, सांसद् नहुन् सायदै कसैले भनेको होला । प्रवासीहरुले त किन भन्नु ?

तर, कानुन बनाउने ठाउँमा पुगेको मान्छे आफैँले विद्यमान कानुनको पालना गरेको छ कि छैन भन्ने जान्ने सोध्ने र छानबिन गर्ने अधिकार माथि धावा बोल्नु उपयुक्त होइन । नेपालको संविधानले दोहोरो नागरिकता स्विकारेको छैन । गैरआवासीय नेपाली नागरिकता प्रदान गर्ने भनेको हो । कानुन अझै बनिसकेको छैन र विचाराधीन कानुनमा पनि गैर आवासीय नेपाली नागरिकता प्राप्त व्यक्तिले चुनावमा उम्मेदवार हुने र मतदान गर्ने अधिकारको कुरा गरेको छैन । रवि भगवान् होइनन् र उनका गल्ती कमजोरीका कुरा उठाउनै हुन्न भन्न र मदन भण्डारीको हैसियतमा तुलना गर्नु जायज होइन । नेपालको कानुनले विदेशी पासपोर्ट बहाल रहेको बेला नेपाली नागरिकता प्रयोग गरेर फेरि नेपाली पासपोर्ट लिन मिल्छ ? त्यो गैरकानुनी र कानुनी दृष्टिले दण्डनीय होइन ? कि रविका हकमा मात्र त्यो कानुन लागू हुन नपर्ने हो ?

अमेरिकामा रवि कस्ता हुन् र उनका विगत कस्ता थिए भनेर जान्न मेरिलेण्डतिर गए पुगिहाल्छ । बितेका कुरा गरेर वर्तमानलाई किन धमिल्याउने ? पहिले नराम्रो गरेको ट्र्याक रेकर्ड मात्र हेरेर कसैले वर्तमानमा गरेका सकारात्मक कामको विरोध र कटाक्ष गर्नै पर्छ त ? अहँ, गर्नु पर्दैन । रवि अमेरिकी नागरिक थिए भन्ने कुरा अब पुरानो भैसक्यो । उनी चाहना वा बाध्यता, जे कारणले भए पनि फेरि नेपाली नागरिक भैसके । केही प्रक्रियागत त्रुटी र कमजोरीका कारण अहिले उनको बारेमा जे कुरा उठेको छ, छानबिन भइरहेको छ, त्यो हुनुपर्छ र उनका नागरिकता र पासपोर्टका विवाद सधैँ रहिरहनु हुन्न । नेपालको कानुन अनुरूप यो विषय टुङ्गिनु पर्छ । कानुन बमोजिम दण्ड हुनुपर्ने हो भने रविलाई पनि हुनुपर्छ र उनलाई जनताको प्रतिनिधिको हैसियतमा काम गर्ने बाटो सहज बनाइदिनु पर्छ । 

मान्छेको मूल्याङ्कन विगत हेरेर मात्र गर्न मिल्दैन । केही वर्ष यता रविले टिभी प्रस्तोताका हैसियतमा बनाएको ‘सेलब्रिटी’ छविको प्रयोग नेपालको हितको खिलाफ छैन । नेपाल र नेपालीका लागि राम्रो गर्छु भन्दा अहिले नै प्रश्न गरिहाल्न पर्ने मान्छे होइनन् भन्ने नै लाग्छ । उनले कुरा गरे जस्तै काम गर्छन् भने किन उनको पछि लाग्नु पऱ्यो ? राम्रो गरे अर्को चुनावमा अहिलेभन्दा राम्रो नतिजा ल्याउँछन् । नगरे पुराना दलहरु जस्तै पछारिएलान् । अहिले नै उनलाई भगवान् बनाउन किन लागि पर्नु ? उनलाई मान्छे नै रहन दिए हुन्न ? केही समय पर्खेर हेरे त सक्कि गो नि!