रत्ननगर । पूर्वी चितवनको रत्ननगर–१६ स्थित पिठुवा स्वास्थ्यचौकीका इन्चार्ज नरहरि श्याम शर्मा सम्मानित भएका छन् । रत्ननगर नगरपालिका वडा नं–१६ वडा कार्यालयद्वारा ज्येष्ठ नागरिक दिवसको सन्दर्भमा भरतपुर निवासी जनस्वास्थ्य निरीक्षक शर्मा सम्मानित भएका हुन् ।
विगत २८ वर्षदेखि स्वास्थ्य क्षेत्रमा समर्पित रहेका शर्माले पिठुवा स्वास्थ्यचौकीका इन्चार्जका रुपमा कार्यभार ग्रहण गरेसँगै घर-घरमा ज्येष्ठ नागरिकलक्षित स्वास्थ्य उपचार, महिलाको पाठेघरको मुखको क्यान्सरसम्बन्धी (भिआइए) परीक्षण, गर्भवती जाँच सेवा, सुत्केरी र नवजात शिशुको लागि परामर्श, मिर्गौला परीक्षणलगायतका सेवाहरु प्रदान गर्दै आएका छन् ।
रत्ननगर–१६ का वडाध्यक्ष हेमराज थापाले स्वास्थ्यचौकी प्रमुखका रुपमा उनले गरेका असाधारण कार्यहरुको प्रशंसा गर्दै सम्मान गरिएको बताए । ‘स्वास्थ्य शाखामा कार्यरत शर्मा स्वास्थ्यचौकी प्रमुख भएर वडामा आएसँगै स्वास्थ्यसेवाको पहुँच र गुणस्तरमा महत्त्वपूर्ण सुधार आएको छ’, वडाध्यक्ष थापाले भने, ‘उहाँको नेतृत्वमा वडावासी र समुदायको स्वास्थ्यमा सकारात्मक प्रभाव परेको छ । उहाँको स्वास्थ्यकर्ममा समर्पण, मेहनत र कर्तव्यनिष्ठताप्रति वडा कार्यालय कृतज्ञ छ ।’
सम्मानित व्यक्तित्व शर्माले भने, ‘एउटा स्वास्थ्यकर्मीका नाताले इमानदारितापूर्वक गरेको कार्यसम्पादनको उच्च मूल्याङ्कन गरी वडा कार्यालय तथा वडाध्यक्षज्यूले गरेको सम्मानप्रति आभार प्रकट गर्दछु । आफ्नो क्षमता, सीप र अनुभवलाई समग्र वडावासीको स्वास्थ्यसेवामा समर्पित गर्न चाहन्छु । मेरो सबैभन्दा ठूलो सफलता र आत्मसन्तुष्टि पनि यही नै हो ।’
सम्मानित व्यक्तित्व शर्माबारे वडाका कर्मचारी उज्ज्वल देवकोटा भन्छन्, ‘हरेक समय वडावासीको स्वास्थ्य सरोकारका विषयमा केही न केही नयाँ गरौँ भन्ने भावना उहाँमा छ । उहाँको कार्यशैली र लगनशीलता हामी सबैको लागि प्रेरणादायी छ ।’
केही वर्षअघि शर्माको उत्कृष्ट कार्यसम्पादनको उच्च मूल्याङ्कन गर्दै नेपाल सरकार, स्वास्थ्य मन्त्रालयले पनि दुईपटक सम्मान गरिसकेको छ । स्वास्थ्यकर्मी आफ्नो व्यक्तिगत स्वार्थभन्दा माथि उठेर मानवीय सेवामा समर्पित हुनुपर्छ भन्ने उहाँको मार्गनिर्देशनले स्वास्थ्यचौकीमा काम गर्न थप हौसला र अझै बढी जिम्मेवार महसुस भएको ल्याब असिस्टेन्ट कविता ढकालको अनुभव छ ।
रत्ननगर–१६ मात्र होइन, छिमेकी वडाहरु १४ र १५ का समुदायको समेत मन जितेर कार्यसम्पादन गर्ने क्षमता शर्माबाट अन्य स्वास्थ्यकर्मीहरुले पनि अनुशरण गर्नुपर्ने बताउँछन्, वडा सदस्यहरु ज्ञानेन्द्र रेग्मी र चिजकुमार श्रेष्ठ ।
वडामा विशेष योगदान गरेका ज्येष्ठ नागरिक, ज्येष्ठ नागरिकलक्षित स्वास्थ्यसेवामा समर्पित भएका स्वास्थ्यकर्मी तथा असल छोराबुहारीहरुलाई सम्मान गर्ने कार्यक्रममा शर्मालाई सम्मानित गरिएको हो ।
कार्यक्रम वडास्तरीय ज्येष्ठ नागरिक समन्वय समितिका संयोजक प्रेमप्रसाद पन्तको अध्यक्षता एवं रत्ननगर–का वडाध्यक्ष हेमराज थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । सो अवसरमा वडाका असल छोराबुहारी, समाजसेवी, स्वास्थ्यकर्मी तथा वडाका लब्धप्रतिष्ठित व्यक्तिहरुको उपस्थिति रहेको थियो ।












प्रतिक्रिया