मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
बोस्टन   

भट्टराईको नेतृत्वमा जिबिएनसिको नयाँ कार्यसमिति निर्विरोध चयन

भट्टराईको नेतृत्वमा जिबिएनसिको नयाँ कार्यसमिति निर्विरोध चयन


अमेरिकाको ग्रेटर बोस्टन क्षेत्रमा रहेका प्रवासी नेपालीहरुको सबै भन्दा पुरानो संस्था ग्रेटर बोस्टन नेपाली कम्युनिटी(जिबिएनसि)को नयाँ कार्यसमिति चयन भएको छ। संस्थाको विधान अनुसार आगामी दुइ वर्षीय कार्यकाल(२०२४-२०२६)का लागि नयाँ कार्यसमिति चयन भएको हो।

संस्थाको संशोधित विधान-२०२४ अनुसार निर्वाचन समितिले  अध्यक्ष (१), वरिष्ठ उपाध्यक्ष (१), उपाध्यक्ष(२), महिला उपाध्यक्ष (१), महासचिव(१), सचिव(१), कोषाध्यक्ष (१), सहकोषाध्यक्ष(१) र सदस्यहरु(२४) जना रहेको कार्यसमिति चयनका लागि निर्वाचन प्रक्रिया अगाडि बढाएको थियो।

निर्वाचन समितिले जनाए अनुसार वर्तमान कार्यसमितिको वरिष्ठ उपाध्यक्ष सन्दिपकुमार भट्टराईको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको छ। निर्वाचन प्रक्रिया अनुसार नयाँ कार्यसमिति चयनका लागि अध्यक्षलगायत विभिन्न पदहरुमा आवश्यकता भन्दा बढी व्यक्तिको उमेदवारी नपरेको र उमेदवार भएकाहरु उपर कुनै दाबी विरोध नपरेको जनाउदै निर्वाचन समितिले अध्यक्षलगायत अन्य पदहरुमा उमेदवारी दिएका सम्पूर्णलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको छ।

जिबिएनसिका पूर्व अध्यक्ष मिलनकुमार कार्कीको संयोजकत्वमा, डाक्टर उषा शर्मा र विष्णुमणि आचार्य सदस्य रहेको तीन सदस्यीय निर्वाचन समितिले आज डिसेम्बर २१,२०२४ शनिबार साँझ उक्त घोषणा गरेको हो। यदि कुनै पनि पदका लागि आवश्यक संख्या भन्दा बढि उमेदवारी परेको खण्डमा मतदानमार्फत छिनफानो गर्न डिसेम्बर २२, २०२४ आइतबारका दिन मतदान गर्ने गरी निर्वाचन समितिले निर्वाचन कार्यतालिका बनाएको थियो।

जिबिएनसिका नव निर्वाचित अध्यक्ष : सन्दिप भट्टराई

निर्वाचन समितिका अनुसार नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा सानुमैया अधिकारी, उपाध्यक्षमा द्वय सुनील नेपाली र सोनाम छिरिङ शेर्पा र महिला उपाध्यक्षमा दिपा घिमिरे निर्विरोध निर्वाचित भएका छन्। यसैगरी, महासचिवमा अजय ढकाल, सचिवमा अजीत पोखरेल, कोषाध्यक्षमा सुदिप शर्मा र सह-कोषाध्यक्षमा सरोज पौडेल पनि निर्विरोध निर्वाचित भएका छन्।

संस्थाको विधान अनुसार २४ जना सदस्य पदका लागि जम्मा १० जनाले मात्र उमेदवारी दर्ता गराएका थिए। उमेदवारी दर्ता गर्ने उपर कुनै दाबी विरोध नपरेको जनाउदै निर्वाचन समितिले सबै जनालाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको छ। निर्वाचन समितिले जनाए अनुसार निर्विरोध निर्वाचित हुने सदस्यहरुमा अलङ्कार खनाल, सजना अधिकारी, संगीत तामाङ, रञ्जन दाहाल, वर्षा बुढाथोकी, साङ्गे पाल्देन शेर्पा, अश्मी पोखरेल, बिरज गुरूङ, ओम बुढाथोकी र युवराज सुबेदी रहेका छन्।

नव निर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुले सपथग्रहण गर्न भने बाँकी नै छ। संस्थाको विधान अनुसार नयाँ कार्यसमितिको कार्यकाल आगामी जनवरी १,२०२५ देखि सुरु हुने भएकाले, नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई त्यस अगावै सपथग्रहण गराइसक्नु पर्दछ।

निर्वाचन समितिले नयाँ कार्यसमिति निर्विरोध भएको घोषणा गरे लगत्तै निर्वाचन परिणामका बारेमा प्रतिक्रिया लिदा, नव निर्वाचित अध्यक्ष सन्दिप भट्टराईले संस्थाको अध्यक्ष पदमा निर्विरोध निर्वाचित हुन पाएकोमा खुशी लाग्नुका साथै थप जिम्मेवारी बोध भैरहेको प्रतिक्रिया दिएका छन्। उनले संस्थाका सदस्यहरुले आफ्नो नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन गरिदिएकोमा धन्यवाद व्यक्त गरे।

कुराकानीका क्रममा नव निर्वाचित अध्यक्ष भट्टराईले संस्थाको हितार्थ प्राप्त जिम्मेवारीलाई पूरा गर्न नयाँ कार्यसमिति इमानदारीपूर्वक लाग्ने र सबैलाई एकताबद्ध गराएर लैजान सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे। उनले नयाँ कार्यसमिति चयन प्रक्रियालाई सहजताकासाथ सफलतापूर्वक सम्पन्न गर्न महत्वपूर्ण भूमिका खेल्ने निर्वाचन समिति, पूर्व अध्यक्ष तथा कार्यसमितिहरु, सदस्यहरु, विभिन्न संघ संस्थाहरुलगायत समुदायका सक्रिय व्यक्तित्वहरुलाई नयाँ निर्वाचित कार्यसमितिको तर्फबाट धन्यवाद व्यक्त गरेका छन्।

प्रवासी/आप्रवासी नेपालीहरुलाई संगठित गरी उनीहरुको उत्थानका लागि यथाशक्य काम गर्ने मूल उद्देश्यका साथ यो संस्थाको स्थापना सन् १९८९ मा भएको थियो। हाल यस संस्थामा ८६ जना आजीवन सदस्यहरु र २४९ जना साधारण सदस्यहरु गरी जम्मा ३३५ जना सदस्यहरु रहेका छन्।