मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
बोस्टन   

स्वर्गीय रोका मगर सहयोगार्थ उठाइएको रकम परिवारलाई हस्तान्तरण

स्वर्गीय रोका मगर सहयोगार्थ उठाइएको रकम परिवारलाई हस्तान्तरण


स्वर्गीय भरत रोका मगरको अन्तिम दाहसंस्कारको क्षण ।

अमेरिकाको म्यासाच्युसेट्स राज्यको बोस्टनमा बसोबास गर्दै आएका स्वर्गीय भरत रोका मगरको सहयोगार्थ उठाइएको रकम उनको परिवारलाई हस्तान्तरण गरिएको छ।

उक्त सहयोग रकम अमेरिकाको बोस्टनमा रहेका मृतकका जेठान द्वय हरि बुढा मगर र राज पुन मगरमार्फत नेपालमा रहेकी मृतककी श्रीमती जुगसरी रोका मगरलाई हस्तान्तरण गरिएको मगर संघ, अमेरिका, म्यासाच्युसेट्स च्याप्टरका अध्यक्ष देवराज पुनले बताए। उनका अनुसार गत डिसेम्बर १५ तारिख आइतबार एक कार्यक्रमको आयोजना गरी मगर संघ, अमेरिका, म्यासाच्युसेट्स च्याप्टरको नेतृत्वमा रोकाको सहयोगार्थ सङ्कलित रकम २७ हजार ९ सय ३४ अमेरिकी डलर हस्तान्तरण गरिएको हो।

नेपालमा लुम्बिनी प्रदेश, पूर्वी रुकुम भुमे गाँउपालिका, वडा नंबर ७ स्थायी घर भइ दुइ वर्षदेखि बोस्टनमा बसोबास गर्दै आएका रोका मगरको गत सेप्टेम्बर ९,२०२४ मा असामयिक निधन भएको थियो। उनको अन्तिम दाहसंस्कार भने गत अक्टोबर २१, २०२४ मा गरिएको थियो।स्वर्गीय रोका मगरको श्रीमती जुगसरी रोका मगर, २० वर्षीय छोरी प्रिया रोका मगर र १५ वर्षीय छोरा सनम रोका मगर भने नेपालमै रहेका छन्।

रोका मगरको असामयिक निधन पछि मगर संघ, अमेरिका, म्यासाच्युसेट्स च्याप्टरको अगुवाइमा परिवारलाई सक्दो आर्थिक सहयोग जुटाउने र मृतकको अन्तिम दाहसंस्कार गर्ने कार्य सम्पन्न भएको थियो। आर्थिक सहयोग जुटाउने क्रममा भुमे समाज अमेरिकाले ११,२५४ डलर, थबाङ समाज अमेरिकाले १,७४० डलर, गर्खनेल समाज अमेरिकाले १,०९० डलर, लुगुमेल समाज अमेरिकाले १ हजार डलर, मगर संघ, अमेरिका, पेन्सलभेनिया च्याप्टरले १,३५७ डलर सहयोग उपलब्ध गराएका थिए। यसैगरी, हरि बुढा मगरको पहलमा ३,७८१ डलर र मगर संघ अमेरिका, बोस्टन च्याप्टरले खोलेको गोफण्डमार्फत ७,७१२ डलर सङ्कलन भएको थियो।

मगर संघ, अमेरिका, म्यासाच्युसेट्स च्याप्टरका अध्यक्ष देवराज पुनले भरत रोका मगरलाई आर्थिक सहयोग जुटाउने र अन्तिम दाहसंस्कारको कार्य सम्पन्न गर्ने कार्यका दौरानमा साथ सहयोग गर्ने सम्पूर्ण संघ संस्थाहरु तथा व्यक्तिहरुलाई धन्यवाद व्यक्त गरेका छन्। यसैबिच, उनले स्वर्गीय रोका मगरको असामयिक निधनप्रति संस्थाको तर्फबाट गहिरो दु:ख प्रकट गर्दै मृतकप्रति हार्दिक श्रद्धाञ्जली र शोक सन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेका छन्।