मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बोस्टन   
विचार / ब्लग    

हरितालिका तीजको मूल मर्म: भावनात्मक पवित्र प्रेम हो

हरितालिका तीजको मूल मर्म: भावनात्मक पवित्र प्रेम हो


तीज नेपालीहरुको एक महत्वपूर्ण धार्मिक चाड हो। जो हिन्दू धर्मावलम्बीहरुले विशेष रुपमा मनाउने गर्दछन्। यस चाडलाई हरितालिका तीज पनि भन्ने गरिन्छ। पौराणिक कथा अनुसार भगवान विष्णु अर्थात् हरिले दिएको तालिका अनुसार विधिपूर्वक निराहार व्रत बसी भगवान शिवको पूजा, अर्चना, प्रार्थना र आराधन गरेर हिमालय पुत्री पार्वतीले भगवान शिव जस्तो होनहार शक्तिमान वर पाएको भन्ने मान्यताका आधारमा यस चाडलाई हरितालिका तीज भन्ने गरिन्छ। र, सोही धार्मिक मान्यताको जगका आधारमा यो चाड मनाउदै आइरहिएको छ।

यस चाडमा हिन्दू धर्मावलम्बी नारीहरुले विवाहित भए पतिको सुस्वास्थ्य, दिर्घायू र उत्तरोत्तर प्रगतिको कामनासहित सुखद् दामपत्य जीवनको र अविवाहित भए भगवान शिव जस्तै योग्य वर पाँऊ भनी पूजा, अर्चना, स्तुति र प्रार्थना गरी यो चाड भव्यताका साथ मनाउने गरिन्छ। यसका अतिरिक्त यस चाडलाई माइती र चेलीबिचको सम्बन्धलाई सुमधुर बनाउने, ज्ञान शिक्षा आदानप्रदान गर्ने, नारी अधिकार र सशक्तिकरण गर्ने, गीत संगीतको संरक्षण तथा संवर्धन गर्ने र मनोरञ्जन गर्ने सुवर्ण अवसरका रुपमा पनि सदुपयोग गरिदै आइरहिएको पाइन्छ।

हरेक वर्ष झैँ यतिबेला नेपालीहरु हरितालिका तीज हर्षोल्लासका साथ मनाउनमा व्यस्त छन्। मुख्य गरी हरितालिका तीज भन्नाले भाद्र शुक्ल तृतीया अर्थात व्रतको दिनलाई भनिने भएतापनि, समग्रमा धार्मिक गतिविधि र महत्वका हिसाबले तीजले भाद्र शुक्ल द्वितीया अर्थात दर खाने दिन, भाद्र शुक्ल तृतीया(व्रत), भाद्र शुक्ल चतुर्थी (चौथी) र भाद्र शुक्ल पञ्चमी (पञ्चमी पूजा) गरी चारै दिनको प्रतिनिधित्व गर्दछ।

यस वर्षको तीज नेपाली पात्रो अनुसार आउदो भाद्र २० गते बिहिबार भाद्र शुक्ल द्वितीयाका दिन (सेप्टेम्बर ५तारिख) दर खाने, भाद्र २१ गते सुक्रबार भाद्र शुक्ल तृतीयाका दिन (सेप्टेम्बर ६ तारिख) व्रत, भाद्र २२ गते शनिबार भाद्र शुक्ल चौथी (सेप्टेम्बर ७ तारिख) र भाद्र २३ गते आइतबार (सेप्टेम्बर ८ तारिख) ऋषि पञ्चमी परेको छ। तरपनि, तीज लक्षित क्रियाकलाप तथा कार्यक्रमहरु भने महिनौं अघिदेखि नै सुरु भइसकेको छ। हरितालिका तीजको मूल मर्म भक्ति भावसहितको भावनात्मक ‘पवित्र प्रेम’मा केन्द्रिकृत छ।

अझ संक्षिप्तमा भन्नु पर्दा मुख्य गरी नारीले प्रेममा निभाएको अनुकरणीय एवम् पुजनीय भूमिका र दर्शाएको भावनात्मक पवित्र प्रेमलाई नै हरितालिका तीजले उजार गर्दछ। त्यसैले, परापूर्व कालदेखि हालसम्म स्त्री जातिले दर्शाएका केही पुजनीय आत्मीय भावनात्मक पवित्र प्रेम प्रसङ्गहरुलाई नै प्रतिनिधि घटानको रुपमा यहाँ उल्लेख गर्ने कोसिस गरेको छु। र, यसरी चर्चा परिचर्चा गर्दा यस चाडको महत्व बढाउन र मर्म बचाउन मद्दत पुग्दछ भन्ने विश्वास पनि लिएको छु। हरितालिका तीज हिन्दू धार्मिक कथामा आधारित चाड हो। जहाँ भगवान शिव र पार्वतीको बिचमा रहेको भक्ति भावसहितको आत्मीय पवित्र प्रेम प्रसङ्गलाई समेटिएको छ। त्यसैले, यस चाडको मेरुदण्डको रुपमा रहेको धार्मिक कथाको प्रसङ्गलाई यहाँ संक्षिप्तमा उल्लेख गर्दै यस आलेखको मुख्य प्रस्थान विन्दू बनाएर आफ्नो विचार राख्ने अनुमति चाहन्छु।

१) सत्य युग:

हिन्दू धार्मिक कथा अनुसार दक्षप्रजापतिले आफ्ना तेत्तीस कोटि कन्याहरुलाई तेत्तीस कोटि देवातालाई दान गरिदिएका थिए। सतीदेवीको कन्यादान हुन भने बाँकी नै थियो। दक्षप्रजापतिको मुल्याङ्कनमा आफ्ना तेत्तीस कोटि कन्यादान गर्दा पनि महादेव कुनै एक कन्याको वर बन्न योग्य हुन सकेका थिएनन्।

जब महादेव सतीदेवीको हात माग्न दक्षप्रजापति कहाँ पुगे। तब, उनले सत्यदेवीको हात पाउनुको सट्टा उल्टै निन्दा, घृणा र अपमान खेपे। महादेवको अनुरोधमा भगवान विष्णुले महादेवलाई पार्वती दिलाइ दिन दक्षप्रजापतिसंग सतीदेवीको हात मागेर आफै स्वयंवरको यज्ञमा बसे। र, आफूलाई कन्यादान गर्न लागिएको सतीदेवीको हात छलगरेर महादेवको हातमा पारिदिएका थिए। एक पटक दक्षप्रजापतिले आफ्नो घरमा अश्वमेध यज्ञको आयोजना गरेका थिए। र, उक्त यज्ञमा आफ्ना तेत्तीस कोटि छोरी-ज्वाइँहरु, ब्रह्मा, विष्णु, ऋषि, यक्ष, गन्धर्व, किन्नर, दैत्य, नाग, अप्सरा, दश दिक्पाललगायत सारालाई निम्तो गरेका थिए।

तर, छोरी सतीदेवी र ज्वाइँ महादेवलाई भने निमन्त्रणा गरेका थिएनन्। आफ्ना पिता-माताले सबैलाई निमन्त्रणा गरेर आफूहरुलाई चाहीं निमन्त्रणा नगरेको पत्तो पाएपछि सतीदेवी निकै दु:खी भइन्। र, आफ्नो पतिदेव महादेवको घोर अपमान भएको महसुस गरिन्। उनले निमन्त्रणा नपाएपनि यज्ञमा सहभागी हुन जान पति महादेवलाई अनुनयविनय गरिन्। तर, महादेवले पनि आफ्नो घोर अपमान गरेको ठानी बिना निमन्त्रणा ससुराली जान मानेन्। र, सतीदेवीलाई पनि नजान भने। तर, सतीदेवीले महादेवको कुरा नमानी साह्रै जिद्दी गरेर महादेव विना नै माइत गइन्।

सतीदेवीले माइत पुगेर पिता दक्षप्रजापति र माता विरणीसंग सारालाई निमन्त्रणा गरेर आफूहरुलाई नबोलाएकोमा निकै चित्त दुखाउदै निकै बिलौना गरिन्। पिता दक्षप्रजापतिले नानातरहले छुद्र वचन बोलेर ज्वाइँ महादेवको निन्दा, घृणा र अपमान गरे। आफ्नो पतिदेव महादेवको घोर अपमान भएको महसुस गरी सहन नसकेर तत्काल त्यही अश्वमेध यज्ञको अग्निकुण्डमा आफूलाई होमेर प्राण त्याग गरिन्।

जब यो खबर महादेवले प्राप्त गरे, तब उनको रिसको सिमा रहेन। आफ्ना सेना मेनाको साथमा यज्ञ स्थलमा वितण्डा नै मच्चाए। दक्षप्रजापतिको शिर छेदन गरेर त्यही अश्वमेध यज्ञको अग्निकुण्डमा होमिदिए। आफ्नी प्राण प्यारी सतीदेवीले देह त्याग गरेको पिडामा महादेव यति विक्षिप्त भए कि, मरिसकेकी प्राण प्यारी सतीदेवीको लास बोकेर वर्षौसम्म संसार परिक्रममा गरिरहे।

२) त्रेतायुग :

जब आफ्नो पति रामलाई १२ वर्ष वनबास जाने परिस्थिति आयो, तब पत्नी सीताले पनि दरबारको ऐस आराम छोडेर अर्धाङ्गिनीको कर्तव्य पुरा गर्न रामकै साथ लागेर वनवास लागिन्। सम्पूर्ण रुपमा ऐस आरामले भरिपूर्ण त्रीलोकका मालिक रावरणको सुनै सुनको दरबार पुग्दा पनि उनले रावणको प्रस्तावलाई इन्कार गरेर रामसंगको दु:ख, कष्ट, पिडा, समस्या, चुनौती, अभाव आदि नै स्विकार गर्दै पतिव्रत रहिरहिन्। रामले पनि आफ्नो पत्नी सीतालाई रावणले हरण गरेर लंका लगे पछि, सीतालाई रावणबाट मुक्त गराउन महासंग्रम नै गरे।

३) द्वापर युग :

महाभारत कथाका प्रमुख पात्रहरु मध्यका दुइ पात्र हुन् धृतराष्ट्र र गान्धारी। धृतराष्ट्र जन्मदै अन्धो थिए। पूर्व जन्ममा पाप गरेका कारण उनी जन्मदै अन्धो भएर जन्मिएका थिए। भिष्मले उनको विवाह गान्धार राजकुमारी गान्धारीसंग गराइदिएका थिए। धृतराष्ट्र अन्धो छन् भन्ने कुरा विवाह पूर्व गान्धारीलाई पत्तो थिएन।

विवाह पछि जब आफ्नो पति धृतराष्ट्र अन्धो भएको पत्तो पाइन्, तब उनले जिन्दगी भर पति धृतराष्ट्रकै झै समानुभूति गर्दै जीवन भोग गर्ने निर्णय गरिन्। र, दुबै आँखामा पट्टि बाँधेर जीवन गुजारिन्। महाभारतको युद्ध समाप्त पश्चात् धृतराष्ट्र र गान्धारी पाण्डवहरुसंग बस्न थालेका थिए।

भीमले बेला बेलामा धृतराष्ट्रलाई चित्त दुख्ने गरी अनेक खाले प्रश्नहरु गरेर धृतराष्ट्रलाई बेचैन बनाइरहन्थे। अति बेचैनको परिणाम उनमा वैराग्यता उत्पन्न भयो। उनी दरबार छोडेर वनवासतिर लागे। र, पतिदेवलाई साथ दिदै वनवासको कष्टकर जीवन स्विकार गरेर गान्धारी पनि वनवास लागिन्।

४) कलियुग :

अब यहाँ केही वर्ष अघि निकै चर्चामा रहेको एउटा घटना कविता क्षेत्री र विपिन सुनारको प्रेम प्रसङ्गलाई प्रतिनिधि घटनाका रुपमा जोड्न चाहन्छु। केही वर्ष अघि यि दुइले कानून अनुसार बाल उमेरमै भागेर प्रेम विवाह गरेका थिए। तर, कविताको माइतीले त्यो विवाहलाई अस्विकार गर्दै कवितालाई विपिनबाट छुटाएर फिर्ता लगे। र, विपिन विरुद्ध स्याङ्जा जिल्ला अदालतमा बलत्कारको मुद्दा दायर गरिदिए।

कविताका अनुसार उनलाई झुक्याएर पति विपिनलाई जेल हाल्ने माइती पक्षको षड्यन्त्रमा उक्त मुद्दा दर्ता भएको थियो। यसैबिच, कविताले उक्त षड्यन्त्र बुझेपछि माइतीको नियन्त्रणबाट फुत्किएर फेरी विपिनकैमा पुगिन्। र, दुबै लुकीछिपीसंगै बस्न थाले। यसैबिच, उनीहरुको एउटा छोरीको पनि जन्म भयो। अदालतले विपिनलाई पक्राउ पूर्जी जारी गर्यो। दुबै दम्पती अदालत हाजिर भए। अदालतले विपिनलाई १२ वर्ष जेल सजायको फैसला गर्यो। र, विपिन जेल परे।

श्रीमान विपिन जेल भित्र परेपछि जेल बाहिर रहेकी श्रीमति कविताले आफू बलत्कृत नभएको र सहमतिमै विवाह गरेको भन्दै न्यायको लागि उच्च अदात पोखरा धाइन्। काखे बच्चा बोकेर पति विपिनको रिहाइका लागि कविताले सबैतिर हारगुहार गर्दै हिडिन्। अन्तत्वगत्व: गत वर्ष उच्च अदालत पोखराले विपिनलाई जेलमुक्त गर्ने फैसला सुनायो। उनी जेलबाट मुक्त भए। र, आनन्दको सास फेर्दै सुखमय दाम्पत्य जीवनको यात्रामा यो जोडी अघि बढ्यो। जुन घटना यो कलियुगका लागि आदर्श, आत्मीय र पवित्र प्रेमको दुर्लभ उदाहरण हो। र, दाम्पत्य जीवनमा रहेका, दाम्पत्य जीवनबाट छुट्टिएका र दाम्पत्य जीवनमा प्रवेश गर्ने वालाहरुका लागि प्रेरणाको श्रोत पनि बन्न सक्छ।

माथि उल्लेखित यस्ता आत्मीम भावनात्मक पवित्र प्रेमका उदाहरणहरु सत्य युग, त्रेतायुग, द्वापरयुग र कलीयुगमा अरु पनि छन्। तर, तुलनात्मक रुपमा त्यसको संख्या सत्य युगदेखि कलियुगसम्म आइपुग्दा विस्तारै विस्तारै घट्दै गइरहेको छ। कलियुगमा त त्यस्ता आदर्श प्रेमका उदाहरणहरु लगभग लगभग दुर्लभ झै भइसक्यो भन्दा पनि अतिशयोक्ति नहोला।

यस्तो अवस्था आउनुमा केवल एक नभएर अनेक कारक तत्वहरुको भूमिका छन्। जसका कारण मानिसहरुले माथि उल्लेखित सत्य, आत्मीय, आदर्श, अनुकरणीय, पूजनीय र पवित्र प्रेमका दर्शनहरुलाई पछ्याउदै व्यवहारमा उतार्न खोजे पनि, आफ्नो प्रेमलाई भने त्यस्तो बनाउन सकिरहेका छैनन्। र, यस्ता घटनाहरु केवल कथा र उदाहरणहरुका रुपमा लेख्नमा र भन्नमा मात्रै सिमित भइरहेका छन्। यस्तो परिस्थितिमा नेपालीहरुको बहुआयामी चाड हरितालिका तीजको महत्व, महिमा र भूमिका अझ बढि रहन्छ।

त्यसैले, मनाउदै गरिएको हरितालिका तीजलाई केवल मनोरञ्जनमा मात्र सिमित नगरेर यसको मूल मर्ममा नै केन्द्रिकृत भइ चाड मनाउने गर्नु अपरिहार्य छ। जसका कारण साँचो अर्थमा आत्मीय भावनात्मक पवित्र प्रेमसहितको आदर्श व्यक्ति, परिवार, समाज र संसार बन्न सक्छ। र, जगतकै भलो हुन सक्छ। असम्भव भन्ने नै के छ र । हरितालिका तीजको सबैलाई शुभकामना !