अमेरिका समाचार

अमेरिकामा नेपालको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरियो

अमेरिकामा नेपालको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरियो


अमेरिका, बोस्टन। नेपाल र नेपालीको गौरवपूर्ण गाथा, शान,मान र पहिचान बोकेको चन्द्र र सूर्य अङ्कित नेपालको राष्ट्रिय झण्डा अमेरिकामा झण्डोत्तोलन गरिएको छ।

नेपाली नयाँ वर्ष विक्रम संवत् २०८३ साल सुभारम्भको अवसर पारेर अमेरिकाको म्यासाच्युसेट्स राज्यको समरभिल सिटि प्राङ्गणमा नेपालको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरिएको हो। उक्त कार्यक्रम गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, अमेरिकाको म्यास्याच्युसेट्स च्याप्टर र समरभिल सिटीको संयुक्त आयोजनामा गत अप्रिल १२, २०२६ आइतवार सम्पन्न भएको हो।

Advertisement

एनआरएनए, एनसिसि, अमेरिकाको केन्द्रीय अध्यक्ष सतेन्द्र साहको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा, प्रमुख अतिथि साह र विशेष अतिथि समरभिल सिटिका मेयर ज्याक विल्सनले संयुक्त रुपमा नेपालको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेका थिए। झण्डोत्तोलन गरेसंगै सहभागीहरुले नेपालको राष्ट्रिय गान र अमेरिकाको राष्ट्रिय गान गाएर नेपाल र नेपाली जनता र अमेरिका र अमेरिकन जनताप्रति श्रद्धा भाव प्रकट गेका थिए।

कार्यक्रमका प्रमुख अतिथि साहले नेपालको राष्ट्रिय झण्डा अमेरिकामा फरफराएको क्षण नेपालीका लागि निकै खुशी र ऐतिहासिक क्षण भएको टिप्पणी गरे। उनले नेपाली नयाँ वर्ष विक्रम संवत् २०८३को शुभकामना व्यक्त गर्दै चन्द्र सूर्य अङ्कित नेपालको झण्डाले ‘जब सम्म चन्द्र सूर्य हुन्छ, तबसम्म पृथ्वी हुन्छ। र, पृथ्वी रहेसम्म नेपाल र नेपाली हुन्छ ‘ भन्ने अर्थ्याएको जिकिर गरे। प्रमुख अतिथि साहले एनआरएनएको मूल नारा ‘एक पटकको नेपाली, सधैको नेपाली’ लाई स्मरण गर्दै भने, ”जहाँ भए पनि हामी नेपाली हौं। र, हाम्रो एनआरएनएको मोटो छ- एक पटकको नेपाली, सधैको नेपाली।’

उनले उक्त मूल नारालाई साकार बनाउन एनआरएनएको आव्हानमा हुनगइरहेको ‘ नेपालीको यात्रा’ अभियानमा सहभागी हुन अनुरोधसमेत गरे। केन्द्रीय अध्यक्ष साहले प्रवासी नेपालीहरुले गर्व गर्ने कार्यक्रम आयोजना गरेकोमा समरभिल सिटि परिवारलाई र एनआरएनए, म्यासाच्युसेट्स च्याप्टर परिवारलाई विशेष धन्यवाद व्यक्त गरे।

कार्यक्रममा समरलभिल सिटिका मेयर ज्याक विल्सनले नेपाली राष्ट्रिय झण्डाको महत्व दर्शाउदै नेपाली झण्डाको प्रशंसा गरे। विश्वको सर्वोच्च शिखर सगरमाथाको प्रतिका रुपमा रहेको चन्द्र र सूर्य अङ्कित नेपाली झण्डा विश्वकै एक अलग पहिचान बोकेको दुइ त्रिकोणात्मक झण्डा भएको टिप्पणी गर्दै उनले नेपालको राष्ट्रिय झण्डा आफूलाई निकै मन पर्ने बताए। सम्बोधनका क्रममा मेयर विल्सनले नेपाली समुदाय समरभिल सिटीको एक अभिन्न अङ्ग भएको जिकिर गर्दै समरभिल सिटीलाई महत्वपूर्ण योगदान पुर्याएकोमा प्रवासी नेपाली समुदायलाई धन्यवाद व्यक्त गरे। सम्बोधनका क्रममा उनले नेपाली नयाँ वर्ष २०८३सालको शुभकामनासमेत व्यक्त गरे।

यसैगरी, समरभिल सिटी अन्तर्गतको आप्रवासी मामिला सम्बन्धी कार्यालयकी निर्देशक मारिया टेरेसा नेगलले नेपाली समुदायले समरभिल सिटिलाई पुर्याएको योगदानको खुलेर प्रशंसा गर्दै नयाँ वर्षको शुभकामना व्यक्त गरिन्।

झण्डोत्तोलन कार्यक्रम आयोजक संस्था एनआरएनए, एनसिसि, अमेरिकाको म्यासाच्युसेट्स च्याप्टरका अध्यक्ष खुम गुरुङ(राजु)ले नेपालीको एकताको प्रतिक नेपालको राष्ट्रिय झण्डा समरभिल सिटीको प्राङ्गणमा झण्डोत्तोन गर्न पाएकोमा निकै खुशी व्यक्त गरे। धन्यवाद मन्तव्य व्यक्त गर्ने क्रममा उनले प्रवासी नेपालीहरुका लागि एक गर्विलो कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने समरभिल सिटीका मेयर ज्याक विल्सन एवम् सिटी परिवार, एनआरएनए परिवार, प्रवासी नेपाली समुदायका संघ संस्थाहरु, नेपाली समुदायलगायतलाई धन्यवाद दिएका थिए। मन्तव्यको क्रममा उनले नेपाली नयाँ वर्षको शुभकामनासमेत व्यक्त गरेका थिए।

समरभिल सिटी अन्तर्गतको आप्रवासी मामिला विभागमा कार्यरत आप्रवासी सेवा संयोजक परशुराम फुयालले सञ्चालन गरेको कार्यक्रममा एनआरएनए, एनसिसि, अमेरिकाको म्यासाच्युसेट्स च्याप्टरका उपाध्यक्ष समुन्द्र के श्रेष्ठले स्वगत मन्तव्य व्यक्त गर्दै आयोजकको तर्फबाट प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथि तथा सहभागीहरुलाई स्वागत गरेका थिए। नेपाली क्लास बोस्टनका बालबालिकाहरुको सक्रिय सहभागिताले महत्व र रौनकता थपिएको कार्यक्रममा सहभागीहरुले पनि आपसमा शुभकामना आदानप्रदान गरेका थिए।

नेपाली समुदायको उल्लेखनीय बसोबास रहेको यस समरभिल सिटि कार्यालयसंग नेपाली समुदायको लामो समयदेखि संस्थागत सम्बन्ध कायम रहदै आएको छ। ग्रेटर बोस्टन नेपाली कम्युनिटि(जिबिएनसि)ले समरभिल सिटिको साथ र सहयोगमा सन् २०१२ बाट ‘नेपाल उत्सव (Nepal Festival) मनाउन सुरु गरेको थियो। सिटिसंग मिलेर विविध क्रियाकलापहरु गर्ने क्रममा सन् २०२४ देखि नियमित रुपमा नेपाली नयाँ वर्ष शुभारम्भको अवसर पारेर नेपालको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरिदै आइरहिएको छ।