ड्यालस, टेक्सस-
“जोगले हुन्छ भेट, मायाले हुन्छ सम्झना।” सायद नेपथ्यसंगको हिजोको भेट नेपाली संगीतको मायाले भएको थियो।
करिब ३५ वर्षदेखि लगातार नेपाली गीत-संगीतको प्रस्तुति र प्रवर्द्धनमा लागेको नेपथ्य ब्याण्डलाई सुन्न हजारौं नेपालीहरु अर्भिङस्थित टोयोटा म्यूजिक फ्याक्ट्रीमा उपस्थित थिए। कन्सर्टस्थलमा उर्लिएको नेपाली संगीत पारखीहरुको मानव सागरले नेपथ्यको कार्यक्रम नेपालकै कुनै सहरमा भैरहेको झझल्को दिइरहेको थियो।
संभवत नेपाली साङ्गीतिक इतिहासको सर्वप्रिय व्याण्ड नेपथ्यले करिब चार हजार पाँचसय दर्शक उपस्थित हिजोको नेपथ्य कन्सर्ट अमेरिकामा नेपथ्यले बिगत वा वर्तमानमा गरेको कन्सर्टहरु मध्ये सबभन्दा ठूलो ‘क्राउड’ भएको हो भन्दा फरक नपर्ला। नेपथ्य नयाँ-पुराना पुस्ता र युवाहरुको रोजाई अनुसार पप र ‘रक ट्युन’हरूमा लोकधुनहरू मिसाउनको लागि निकै परिचित छ। नेपथ्यका गीतहरूले प्रायः समकालीन नेपालको चित्रण गर्दछ । गाउँ, पाखा-पखेरा, खेत खलियान र शहर बजारको गीत गाउने नेपथ्यको हिजोको कन्सर्टमा उपस्थित अधिकांश युवा-युवतीहरु नजन्मदै ‘कन्सर्ट’ संस्कृति भित्र्याएको उसले ‘९० को दशकदेखि निरन्तर लोकप्रियताको शिखर चुम्दै आएको छ।
नेपथ्यले आफ्नो सांगीतिक यात्राका माध्यमबाट नेपाली गीत-संगीतको विश्वव्यापीकरण गर्न समेत निकै सघाउ पुऱ्याएको छ। नेपालीहरुको बसोबास रहेको प्राय धेरै देशमा कन्सर्ट गरिसकेको नेपथ्यले अगस्ट ३. २०१३ मा बेलायतको वेम्बली एरिनामा करिब चार हजार दर्शक उपस्थिति रहेको कन्सर्टले उनीहरुलाई थप चर्चित र लोकप्रिय बनाएको हो। प्रसिद्ध वेम्बली एरिनामामा प्रस्तुति दिने निकै प्रसिद्धि कमाएका संगीत सर्जकहरुको समेत सपना रहेको हुन्छ भनिन्छ। हो, त्यही वेम्बलीमा प्रस्तुति दिने ‘नेपथ्य’ अबिलेसम्म एउटा मात्र नेपाली संगीत टोली हो।
माओवादी द्वन्द्वले देश थिलथिलो भएको, आतङ्क र हिंसाले नेपालीहरु आक्रान्त रहेको बेला समेत नेपथ्यले मेची-महाकाली शान्ति साङ्गीतिक यात्रा गरेर नेपाली मनहरुलाई जोड्ने प्रयास गरेको थियो। नेपाल र नेपाल बाहिर नेपथ्यको प्रसंशकहरु थपिनु र उनीहरुप्रतिको सम्मान सबै उमेर समुहका संगीतप्रेमीहरुमा उत्तिकै रहनुको मुख्य कारण त्यही हो। शरीर गिंड्नेहरुको समेत वेवास्ता गरेर नेपाली मनहरुलाई जोड्न सघाएकाले पनि नेपथ्यको यात्रा साँढे तीन दशकदेखि निरन्तर जारी छ।
‘छेक्यो छेक्यो देउराली डाँडा हुस्सु र कुइरोले’ सुनेर तन्नेरी जीवन शुरु गरेको हामी जस्तो नेपथ्य फ्यानले तालको पानी, भेडाको उनजस्तो, ‘जोमसोमै बजारमा’, ‘रेशम’ जस्ता गीतले हाम्री १५ वर्षीय छोरीलाई समेत आकर्षित गर्न सकिरहेको छ। हाम्रो छोरा-छोरीपछिका नेपाली-अमेरिकनहरुमा नेपाली गीत-संगीतको प्रभाव कस्तो होला भन्न सकिन्न तर यो पुस्तासम्म चाहिं नेपथ्य सहित सुशान्त केसी, सजनराज वैद्यजस्ता युवा संगीतकर्मीहरुले निकै ठूलो प्रभाव राखेको देखिन्छ। केही साता पहिले मात्र सुसान्त केसीको कन्सर्टमा पनि उत्तिकै संगीत पारखीको भीड उर्लेको देखिनु भनेको प्रवासको नेपाली समुदायमा नेपाली गीत-संगीतको प्रभाव कस्तो छ भनेर सहजै अनुमान गर्न सकिन्छ।
नेपथ्यसंग सुरुवाती समयका सबै संगीत सर्जकहरु अहिले नभएपनि ‘लिड’ सिंगर अमृत गुरुङ सहित दिनेश रेग्मी, सुबिन शाक्य, ध्रुव लामा, निरज गुरुङ,
र शान्ति रायमाझीको ब्याण्ड टोलीले अझै पनि सांङ्गीतिक यात्रा जारी राखेको छ।
प्रवासको गजल यात्राको एउटा सुनिएको नाम बासु पुष्पा अधिकारीको भनाईमा नेपथ्य सुन्नु भनेको देश सुन्नु हो। हो, नेपथ्य सुन्दा अमृत गुरुङको कण्ठबाट गीत मात्र सुनिंदैन, सिंङ्गो नेपाल नै सुनिन्छ। गीतहरुकाबीचमा नेपालका लागि केही गर्न अपील गर्ने उनको शैलीले उनलाई सुन्न आउनेहरु नेपाल नै पुगेजस्तै महसुस गर्छ्न्। स्कूल जान नपाएकाहरुलाई स्कुल जान सहयोग गर्न होस् कि नेपाली भाषा, संस्कृति र नेपाली माटो नबिर्सन युवाहरुलाई उनले गर्ने आव्हानले नेपथ्यलाई सु्न्नु भनेको देश सुन्नु हो भनेका होलान् बासु पुष्पाजीले!
डिजे मोमो लगायतका स्थानीय आयोजकले व्यवस्थापन गरेको नेपथ्यको कन्सर्टमा ४,५०० क्षमताको टोयोटा म्यूजिक फ्याक्ट्री पुरै भरिएको थियो। चन्द्रसूर्य अंकित झण्डाको महिमा भएको नेपाली भावनालाई जुरुक्कै बोक्ने गीत- ‘रातो र चन्द्रसूर्य जङ्गी निसाना हाम्रो’ गीतबाट अर्भिङ्ग कन्सर्टको बिट मारेका अमृत गुरुङले अमेरिकी प्रवासमा हुर्किंदै गरेको नयाँ पुस्तालाई लोक र रक संगीत ब्लेण्डेड नेपथ्यको सर्वकालीक ‘हिट’हरुले दुईघण्टा लगातार झुमाए-नचाए। त्यति मात्र होइन—नयाँ पुस्तामा नेपाली संगीतको भोक जगाउने महान काम पनि गरे।
सकेसम्म बर्षमा एक पटक नेपाल आउनुस् है! चन्द्र-सूर्य झण्डालाई शीरमा राख्नुस् है! नेपाली गीत, संगीत र भाषालाई कहिल्यै नभुल्नुस् है! वाह! क्या गज्जब! नेपथ्य ज़िन्दावाद! अमृत गुरुङ जिन्दावाद! रेशमऽऽऽ रेशम्! रेशम्…..
प्रतिक्रिया