मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
कला   
बोस्टन   

अमेरिकाको बोस्टनलाई हरितालिका तीजले ढपक्कै छोप्यो है बरिलै

अमेरिकाको बोस्टनलाई हरितालिका तीजले ढपक्कै छोप्यो है बरिलै


बोस्टन, अमेरिका । हरेक वर्ष झैँ यस वर्ष पनि नेपालीहरुको महान् चाड हरितालिका तीज नजिँदै छ। नेपाली पात्रो अनुसार यस वर्षको तीज आउदो भाद्र २१ गते तदनुसार सेप्टेम्बर ६ तारिख शुक्रबार, भाद्र शुक्ल तृतियाका दिन परेको छ।

जस अनुसार तीज आउन अझै २४ दिन बाँकी नै छ। तर, यसको चर्चा, परिचर्चा, चहलपल र तयारी भने सुरू भइसकेको छ। हिन्दू धर्मावलम्बीहरुले आफ्नो आराध्य देव भगवान शिव र पार्वतीको विशेष पूजा, अर्चना र आराधन गरी मनाइने यो धार्मिक चाडलाई, नारीकेन्द्रित विशेष चाडका रुपमा चिनिने गरिन्छ। र, सोही अनुसार विविध क्रियाकलापहरु गर्ने गरिन्छ।

तीज नजिकिदै गरेकाले नेपालीहरुमा यसको उल्लास तथा उमङ्ग छाउन सुरू भइकेको छ। वर्षमा एक पटक आउने यस विशेष चाडले नेपालदेखि नेपाल बाहिरसम्म, नारीदेखि पुरुषसम्म, भुरादेखि बुढासम्मलाई तीजले प्रत्ुक्ष्य अप्रत्यक्ष रुपमा छोइसकेको छ। कति ठाउँहरुमा त विविध कार्यक्रमहरु गरेर धार्मिक, सांस्कृतिक, सामाजिक, पारिवारिक तथा सांगीतिक रुपमा हर्षोल्लासका साथ मनाउन सुरू गरिसकिएको छ।

अमेरिकाको न्यू इङ्गल्याण्ड क्षेत्रमा बसोबास गर्ने प्रवासी नेपालीहरु पनि तीज हर्षोल्लासका साथ मनाउने तयारीमा जुटिसकेका छन्। सबैतिर तीजको लहर आउदा बोस्टनबासी प्रवासी नेपालीहरु अछूतो रहन सक्ने कुरै भएन। त्यसैले, बोस्टबासी प्रवासी नेपालीहरुलाई पनि अरुलाई झैँ हरितालिका तीजले ढपक्कै छोपिसकेको छ। यही आउँदो अगस्ट १७ तारिख शनिबारदेखि बोस्टन वरपर तीज विशेष सार्वजनिक कार्यक्रमहरु हुँदैछन्। आफ्नो व्यस्त दैनिकीको पनि पर्वाह नगरी सामूहिक रुपमा तीज मनाउने तयारीमा विशेष गरी नारीहरुलाई भ्याइनभ्याइ भइरहेको छ। मनोरञ्जनका साथै धर्म, संस्कृति, परम्परा, रितिरिवाज र नेपाली पहिचानको संरक्षण तथा संवर्द्धन गर्ने मूल उद्देश्यका साथ कार्यक्रमहरुको तयारी भइरहेको आयोजकहरुले जनाएका छन्।

तयारीको क्रममा, ग्रेटर बोस्टन नेपाली समुदाय (जिबिएनसी) ले यही आउदो सेप्टेम्बर २ तारिख सोमबार साँझ क्याम्ब्रिज सिटीको 400 Cardinal Medeiros Avenue,Cambridge मा तीज विशेष कार्यक्रम ‘हरितालिका तीज(२०२४’ गर्ने भएको छ। गायिका देविका केसीका साथ विशेष सांगीतिक कार्यक्रमको आयोजना गरेर हर्षोल्लासका साथ तीज मनाउने गरी तयारी सुरु गरिएको जिबिएनसिले जनाएको छ। आयोजकका अनुसार उक्त कार्यक्रममा, स्वादिष्ट नेपाली परिकारहरुसहितको ‘दर’ खाने व्यवस्था पनि गरिने भएको छ।

नेपाली वोमन्स ग्लोबल नेटवर्क, न्यू इंग्ल्याण्ड च्याप्टर (एनडब्लुजिए)ले पनि विगतमा झै ‘तीज विशेष कार्यक्रम’को आयोजना गर्ने भएको छ। एनडब्लुजिएनका अनुसार यस पटक यही आउँदो अगस्ट २५ तारिख आइतबार साँझ 191 Highland Avenue, Somerville मा स्वादिष्ट परिकारहरुसहितको उक्त तीज विशेष कार्यक्रम हुने भएको छ।

यसैगरी, नरउड (Norwood) स्थित सृजनशील महिला समूह, न्यू इङ्गल्याण्ड (सिडब्लुजिन)ले पनि नेपालीहरुको विशेष चाड हरितालिका तीजको अवसरमा विगतमा गर्दै आएको तीज विशेष कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिने भएको छ। गायिका मल्लिका कार्कीका साथमा सांगीतिक माहोलका बिच मनाउन लागिएको उक्त कार्यक्रम, आउदो अगस्ट २३ तारिख शुक्रबार साँझ 1 Morrell St West Roxbury, MA 02132 मा गर्ने गरी तयारी भइरहेको छ।

यस पटक लायन्स क्लब इन्टरनेश्नल र हिमालयन लायन्स क्लब, न्यू इङ्गल्याण्ड च्याप्टरले पनि तीज बिशेष कार्यक्रम गर्दै छ। लायन्स क्लबले जनाए अनुसार सांगीतिक माहोलका साथ मनाउन लागिएको उक्त तीज विशेष कार्यक्रम, यही आउदो अगस्ट १७ तारिख शनिबार साँझ 576 Nichols Street, Norwood मा हुदै छ।

तीज विशेष कार्यक्रम आयोजकहरुले आफ्नो कार्यक्रमको प्रचारप्रसार गर्नुका साथै टिकट बिक्री कार्यलाई तिब्रता दिइरहेका छन्। तीज लक्षित कार्यक्रम भएकाले मनोरञ्जनात्मक नेपाली सांगीतिक कार्यक्रमसँगै दर खाने कार्यक्रम पनि हुने आयोजकहरुले जनाएका छन्। कार्यक्रममा सहभागिताका लागि आयोजक संस्थाहरु जिबिएनसि, एनडब्लुजिएन र सिडब्लुजिएनले टिकट दर ३५ डलर तोकेका छन् भने लायन्स क्लबले प्रति टिकट ३० डलर शुल्क तोकेको छ।

नेपालीहरुको महान चाड हरितालिका तीजलाई सभ्भ, भव्य र हर्षोल्लासका साथ मनाउने तयारी गरिरहेका सबै आयोजकहरुले, प्रवासी नेपालीहरुलाई आआफ्नो कार्यक्रममा सहभागी भइदिन अनुरोध गर्दै निमन्त्रणासमेत दिएका छन् ।