मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

नेपाल सरकारद्वारा अमेरिकाका लागि अवैतनिक वाणिज्यदूतमा केसी नियुक्त

नेपाल सरकारद्वारा अमेरिकाका लागि अवैतनिक वाणिज्यदूतमा केसी नियुक्त


लामो समयदेखि अमेरिकाको म्यासाच्युसेट्स राज्यमा बसोबास गर्दै आएका प्रवासी नेपाली प्रल्हादबहादुर केसीलाई नेपाल सरकारले अवैतनिक वाणिज्यदूतको रुपमा नियुक्त गरेको छ। नेपाल सरकारले उनलाई अमेरिकाको म्यासाचुसेट्स राज्यमा कन्सुलर अधिकार क्षेत्रमा नेपाल सरकारको प्रतिनिधिका रुपमा काम गर्ने अधिकार र जिम्मेवारीसहित अवैतनिक वाणिज्यदूतका रुपमा नियुक्त गरेको हो। यस सम्बन्धमा आधिकारिक जानकारी दिदै नव नियुक्त अवैतनिक वाणिज्यदूत केसीले आफूले नेपाल सरकारबाट अमेरिकाको म्यासाच्युसेट्स राज्यका लागि अवैतनिक वाणिज्यदूतका रुपमा नियुक्ति प्राप्त गरेको र त्यसलाई अमेरिकाको संघीय सरकारले जुन १० तारिख सोमवारका दिन प्रक्रिया पुरा गरी आधिकारिक जानकारी गराएको जानकारी दिएका छन्।

नेपाल सरकारले केसीलाई झण्डै एक महिना अघि नै नियुक्ति पत्र उपलब्ध गराएर आधिकारिक जानकारी दिदै जिम्मेवारी सुम्पिसकेको छ। केसीका अनुसार उक्त नियुक्ति पत्रमा उनको नियुक्तिले संयुक्त राज्य अमेरिकाको सरकार र बृहत् समुदायबाट नेपाललाई सहयोग, समझदारी र समर्थन बढाउनमा टेवा पुग्नुका साथै नेपालको सामाजिक, आर्थिक, सांस्कृतिक र व्यावसायिक हितको संरक्षण र प्रवर्द्धनमा सहयोग पुग्ने नेपाल सरकारले विश्वास लिएको छ।

यसैगरी, नियुक्ति पत्रमा केसीको बृहत् अनुभव र गहिरो ज्ञान संयुक्त राज्य अमेरिकामा नेपालको हितलाई अगाडि बढाउन र दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई सुदृढ बनाउन सहयोग पुग्नेमा नेपाल सरकार विश्वस्त रहेको उल्लेख गरिएको छ। नेपाल र अमेरिकाबीचको सम्बन्ध निरन्तर फस्टाउँदै गएको बखत केसीको नियुक्ति भएको जनाउँदै उनको नेतृत्व र समर्पणले साझेदारीलाई अझ प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेल्नेसमेत नेपाल सरकारले अपेक्षा गरेको छ। केसीको प्रयासले म्यासाचुसेट्समा रहेका नेपाली समुदायको हित र दुवै राष्ट्रको आपसी समृद्धिमा महत्वपूर्ण योगदान पुग्ने नेपाल सरकारले आशा राखेको छ। नेपाल सरकारले नियुक्ति पत्रमार्फत केसीलाई अवैतनिक कन्सुलको रूपमा नियुक्ति भएकोमा शुभकामना व्यक्त गर्दै कार्यकालको सफलताकोसमेत कामना गरेको छ।

यस सम्बन्धमा कुराकानी गर्दै अवैतनिक वाणिज्यदूत केसीले नेपाल सरकारले आफूलाई प्रदान गरेको आधिकारिक नियुक्तिले थप जिम्मेवार बनाएको र नेपाल सरकारबाट नेपाल र नेपालीका लागि पुर्याउदै आएको योगदानको कदर भएको प्रतिक्रिया दिए। केसीले नेपाल सरकारले आफूलाई जिम्मेवारीलाई पूरा गर्न इमानदारीपूर्वक सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे।

झण्डै ५० वर्ष अघि १६ वर्षको उमेरमा नेपालबाट अध्ययनको सिलसिलामा अमेरिका भित्रिएर म्यासाच्युसेट्स राज्यमा बसोबास गर्दै आएका केसीले, नेपाल र नेपालीहरुको हितका लागि महत्वपूर्ण योगदान पुर्याउदै आइरहेका छन्। अमेरकाको म्यासाच्युसेट्स राज्यमा बसोबास गर्ने आफू पहिलो नेपाली भएको दाबी गर्ने केसीले म्यासाच्युसेट्स राज्यमा नेपाली समुदायका संघ संस्थाहरु स्थापना र दिगोपनाका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै नेपाली समुदायको उत्थानमा अमूल्य योगदान पुर्याउदै आइरहेका छन्। उनकै पहलकदमीमा हालसालै अमेरिकाको म्यासाच्युसेट्स राज्यले सवारीचालक अनुमतिपत्र प्राप्त गर्ने प्रक्रियाका क्रममा लिइने परिक्षामा नेपाली भाषालाई पनि समावेश गर्ने निर्णय गरेको छ। यससंगै अब क्लास ‘डि’ र ‘एम’ शिक्षार्थी अनुमति परीक्षा( class D and M learner’s Permit Exam)मा नेपाली भाषाले पनि दोश्रो भाषाको रुपमा मान्यता प्राप्त गरेको छ।

सन् १९९५ देखि गोभर्नस् एण्ड इमिग्रेन्ट अफ कमन वेल्थ अफ म्यासाच्युसेट्समा आबद्ध भएर काम गर्दैआइरहेका उनले हाल चियरम्यानको भूमिका निर्वाह गरिरहेका छन्। म्यासाच्युसेट्समा रहेर आफ्नो जीवनको महत्वपूर्ण समयमा सामाजिक क्षेत्रमा अमूल्य योगदान पुर्याएवापत कदर स्वरुप केसीले विभिन्न संघ संस्थाहरुबाट विभिन्न समयमा मान, सम्मान र प्रशंसाहरु प्राप्त गरेका छन्। पछिल्लो पटक यसै वर्षको गत मे महिनामा उनी एसियाली अमेरिकी र प्रशान्त टापुवासी आयोग, म्यासाचुसेट्स (Asia American and Pacific Islander Commission of Commonwealth of Massachusetts)को बहु प्रतिष्ठित लाईफटाइम अचिभमेन्ट-२०२४ ( lifetime Achievement Award-2024) बाटसमेत सम्मानित हुन सफल भएका छन्।